
बुटवल - नेपालले एसिसी मेन्स यु(१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
नेपालले जितका लागि पाएको ९१ रनको लक्ष्य ११ ओभर ४ बल खेल्दै पूरा गरेको हो । नेपालका लागि ओपनर परिमार्जन यादवले नटआउन अर्धसतीय पारी खेले उनले ३५ बलमा ५९ रन जोडे ।
यसैगरी सिवान्स बजगाईंले २२ बलमा २३ रन जोड्दै नटआउट रहे । ओपनर जैशी २ रनमा आउट भएका थिए । मलेसियाका लागि नागिनिश्वरम सान्थाकुमारमले १ विकेट लिएका हुन् ।
यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले किफायती बलिङ गर्दै मलेसियालाई ९० रनमा रोकेको थियो ।मलेसियाले ४३।१ ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो।
मलेसियाका मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाए । कप्तान डिज पार्तो ३२ बलमा १० रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका अभय यादवले ४, शुभम खनालले ३ तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १ विकेट लिए ।
नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो।
गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । अब नेपालले उपाधीका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल हङकङ र सिंगापुरबीच जारी छ । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।