-1751546847.jpg)
बुटवल – सीप विकास इकाई मार्फत २४ महिने प्री–डिप्लोमा तह अन्तर्गत औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गरिरहेको प्राविधिक शिक्षालय, विद्यालय र साझेदार उद्योगहरूबीच अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । रूपन्देही उद्योग संघ र दिगो तथा सम्मानित रोजगारीका लागि इन्स्योर परियोजना दोस्रो चरणको सहकार्यमा स्थापित कार्यक्रम अन्तरर्गत अन्तरक्रिया गरिएको हो ।
रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले कार्यक्रममा स्वागत गर्नुहुँदै प्राविधिक शिक्षालय, विद्यालयले यस कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी उद्योगसँगको सहकार्य मार्फत व्यवसायिक सीप कार्यशैली र व्यवहारिक चुनौतीहरूसँग प्रत्यक्ष परिचित गराउने प्रयास गर्दै आएको बताए ।
उद्योगहरुले विद्यार्थीलाई व्यवसायिक अनुशासन गुणस्तरीय उत्पादन प्रक्रिया र कार्यस्थलमा अपनाइने सुरक्षा मापदण्डका विषयमा शिक्षित गराएका कारण विद्यार्थीलाई रोजगारी मात्र नभई स्वरोजगार तथा उद्दमशीलताको दिशामा पनि प्रेरित गरेको बताए । अहिलेसम्म ७२६जना भन्दा बढि कामदारहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको र विभिन्न क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्नको लागि सामाजिक विकास मन्त्रालय, इन्स्योर परियोजना , प्राविधिक शिक्षालय, विद्यालय र साझेदार उद्योगहरूबीच बसेर छलफल गर्नुपर्ने बताए ।
प्रमुख अतिथि कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका प्राचार्य नवीन किशोर गैरेले दिगो र प्रभावकारी कार्यान्वयनका लागि सामाजिक विकास मन्त्रालय तथा सम्बन्धित निकायहरूले यसको सम्पूर्ण उत्तरदायित्व जिम्मेवारीपूर्वक लिनु पर्ने आवश्यकता औंल्याउदै हालको प्रक्रियालाई केही हदसम्म झन्झटिलो भएकाले यसलाई सहज, सरल र व्यावहारिक ढंगले अपनाउँदै कार्यक्रमको उद्देश्यप्रति इमानदार बन्नुपर्नेमा जोड दिए ।
सिकाइ अनुभव आदानप्रदान कार्यक्रममा सहभागी शैक्षिक क्षेत्रका प्रतिनिधिहरू तथा निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूले औद्योगिक प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत हालसम्म सञ्चालित गतिविधिहरूको अनुभव साटासाट गर्दै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विषयमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरे । उनीरूले पाठ्यक्रम विकासलाई समयसापेक्ष, उद्योगको आवश्यकतालाई सम्बोधन गर्ने गरी पुनरावलोकन तथा परिमार्जन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
सो अवसरमा इन्स्योर परियोजना लुम्बिनी प्रदेश प्रबन्धक अम्बिका प्रसाद तिमेल्सिनाले इन्स्योर परियोजनाले गुणस्तरीय दक्ष र उद्योगमैत्री जनशक्ति उत्पादन गर्न मार्ग निर्देशन गर्ने स्पष्ट खाका तयार गर्न सहयोग पुर्याइरहेको बताईन ।
कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ प्रदेश कोषाध्यक्ष माया खनाल , क्यान रूपन्देहीका अध्यक्ष जीवन अधिकारी,महाराजा रिर्सोटका प्रतिनिधि माधव ढकाल ,पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहु लगायतले मन्तव्य राखेका थिए । रूपन्देही उद्योग संघका सहकोषाध्यक्ष विशाल बेलबासेले धन्यवाद सहित कार्यक्रमको समापन गरेका थिए ।
रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा रुपन्देही उद्योग संघ शिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले हालसम्म कार्यान्वयन गरिएका कार्यक्रमको प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा विभिन्न साझेदार उद्योग, प्राविधिक शिक्षालय, विद्यालयगरी २४ उद्योगबाट ३७ जनाको सहभागिता रहेको थियो ।