
बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा दलित समुदायको पेशा प्रबद्र्धनका लागि उद्यमीहरुलाई सामग्री हस्तान्तरण गरिएको छ । तिलोत्तमा नगरपालिकाभित्रका दलित समुदायका पेशासंग सम्बन्धि उद्यम व्यवसाय सञ्चालन गर्ने लघु उद्यमीहरुको लागि व्यवसायमा थप टेवा पुर्याउने उद्देश्यले १२ थान सामग्री उद्यमीहरुलाई हस्तान्तरण गरिएको हो ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले संयुक्तरुपमा सिलाई मेसिन, ईन्टरलक मेसिन, गरगहना सफाइ मेसिन, आरनको औजार, जुकी मेसिन, पञ्चे बाजा सेट, मोटर पाइप, पिको मेसिनलगायतका विभिन्न सामग्रीहरु लघु उद्यमीहरुलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले पालिकाले दलित समुदायको हकहित र अधिकारका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए।
उनले दलित समुदायको पेशामा थप प्रबद्र्धन भई उनीहरुको आर्थिक विकास होस् भन्ने हेतुले पालिकाले विभिन्न सामग्रीहरु अनुदानस्वरुप उपलब्ध गराएको बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक सुरेन्द्र श्रीले बोल्दै तिलोत्तमा नगरपालिकाले दलितमैत्री नीति निर्माणसंगै सबै क्षेत्रमा सकारात्मक सन्देशहरु फैलाएको बताए ।
त्यस्तैगरी नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक रबि सेन्चुरीले बोल्दै तिलोत्तमा नगरपालिकाले आफ्ना नीति तथा कार्यक्रममा दलितको अधिकार र क्षमता विकास कार्यक्रमलाई तिब्रता दिदै दलित ज्ञान उत्सव, सामाजिक अन्तरघुलनलगायतका विभिन्न कार्यक्रम गर्दै विभेद विरुद्धको अभियानमा हातेमालो गरिरहेको बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य राधा शाही, तिलोत्तमा नगरपालिका वडा नं। ८ का वडा अध्यक्ष तथा भौतिक विकास समिति संयोजक कृष्ण प्रसाद पौडेल, उद्यमीलगायतको सहभागिता रहेको थियो । तिलोत्तमा नगरपालिकाका उद्यम विकास सहजकर्ता शान्ता विश्वकमाले कार्यक्रमको सञ्चालन गरेकी थिईन्