Lumbini Rise
रुपन्देही ३ उपनिर्वाचन : कुलमान घिसिङ कस्को उम्मेद्वार ? 

रुपन्देही–३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुनेभएपछि दिनहुँ केही न केही चर्चा भइरहेको छ । दलहरू आन्तरिक छलफलमा जुटिरहेका छन् ।

यही बेला एक जना पात्र जसको चर्चा केही दिनयता बढ्दै गइरहेको छ । त्यो नाम हो कुलमान घिसिङ ।  नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मधेसी मोर्चाको बैठकमा उम्मेदवार बनाउन प्रस्ताव गरेपछि नाम चर्चामा आएको हो ।  

सात मधेस केन्द्रित दल सम्बद्ध सङ्घीय लोकतान्त्रिक मोर्चा पनि उपनिर्वाचन केन्द्रित छलफलमा गत हप्ता नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले घिसिङलाई रुपन्देही ३ मा साझा उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । यो प्रस्तावसँगै घिसिङको नाम चर्चामा आएको हो । सबैले रुपन्देही ३ को निर्वाचनलाई ०८४ को पूर्व तयारीका रूपमा लिएकाले चर्चित पात्रहरूको खोजी गरिरहेका छन् ।

कुलमानलाई नागरिक उन्मुक्तिले चर्चामा ल्याए पनि  घिसिङ आफै तयार छन् की छैनन् भन्ने कुरा खुलेको छैन । तर, घिसिङलाई रुपन्देही ३ मा ल्याउन नेकपा माओवादी भित्र पनि छलफल चलेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला जनार्दन शर्मा मन्त्री हुँदा घिसिङलाई विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाले माओवादीभित्र घिसिङको नामा चर्चामा रहेको हो । उज्यालो नेपालको नायकका रूपमा घिसिङलाई उठाउने बारेमा माओवादीले तयारी गरेको छ ।

यद्यपि घिसिङ उम्मेदवार बन्छन् त भन्ने प्रश्न आफैमा अनुत्तरित छ ।  कुलमान निकटहरू भन्छन्–‘यो हल्ला मात्रै हो’ ।  घिसिङको चर्चाले सामाजिक सञ्जालमा भने सकारात्मक प्रचार भइरहेको देखिन्छ । यद्यपि घिसिङ आफै विदेश भ्रमणमा रहेकाले पनि यसबारे उनी आफैले मुख नखोल्दासम्म केही भन्न सकिँदैन ।

मध्यपूर्व देशहरू बहराइन, कतार, ओमन, दुबई लगायतका देशहरू घुमिरहेका छन्। असार १७ गते नेपालबाट उडेका कुलमान बहराइन, दुबई, ओमन र कतारसमेत पुग्नेछन्।  पछिल्लो पटक २०८१ चैत्र ११ गते सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमानले राजनीतिमा आउने छनक दिइरहेका छन् ।

रुपन्देही ३ को चुनावका लागि बालेन समूहबाट समेत उम्मेदवार उठाउने तयारी भइरहेको छ । रास्वपा र राप्रपामा उम्मेदवारको ताती लागेको छ । एमालेमा उम्मेदवार बिच नै मारामार छ ।

काँग्रेसमा बालकृष्ण खाँणलाई उम्मेदवार बनाउने गरी तयारी भइरहेको छ । नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी सहितका दलहरू साझा उम्मेदवार बनाउने छलफलमा छन् । जनमुक्ति पार्टीले पनि चुनावका लागि तयारी गरेको देखिन्छ । 

 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update