Lumbini Rise
अपराजित रहँदै यू–१६ इस्टजोन कपको उपाधि नेपाललाई

बुटवल-मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले यो प्रतियोगिताको उपाधि आफ्नो हात पारेको हो ।

सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि जोय थापाले सर्वाधिक २४ रन बनाए ।

शिवांश बजगाईंले २०, शुभम खनालले १८, प्रशिद्ध जैशीले १७, परिमार्जन यादवले १३ र अभय यादवले १० रन जोडे ।

सिंगापुरमा कपिश भेङ्कटरमणले ४ विकेट लिँदा यवान पाण्डेले २ र वेदांश गुप्ताले १ विकेट लिए । त्यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको सिंगापुर ४० दशमलव ५ ओभरमा अलआउट हुँदै ११३ रनमा समेटिएको थियो ।

सिंगापुरका लागि ओपनर रोहन अस्टीन अरुणले सर्वाधिक २३ रन बनाए ।

८४ बल खेलेका उनले २ चौका प्रहार गरे । यस्तै कप्तान रिहान नाइकले १५ रन बनाउँदा वेदान्श गुप्ताले १२ र आकाश तेजाले १० रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सिंगापुरलाई सस्तैमा समेट्नका लागि नेपालका अभय यादव र शुशिलबहादुर रावलले ३र३ विकेट लिए । शुभम खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए ।

बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल यात्रा तय गरेको थियो भने हङहङलाई हराउँदै सिंगापुरले नेपालसँग उपाधि भीडन्त पक्का गरेको थियो ।

नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो । त्यसअघि एसीसीले यू(१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update