
बुटवल- देशभरका उद्यानहरुको संस्थागतविकास तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उदेश्यले नेपाल उद्यान महासंघ स्थापना गरिएको छ । सोमबार बुटवलमा कार्यक्रम गरी महासंघको औपचारीक घोषण गरिएको हो ।
‘एक टोल एक उद्यान’को भावना सहित देशभरका पार्क, बगैंचा, फूलबारी, तालतलैया र पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूलाई संरक्षण, सम्बद्र्धन र समुन्नत विकास गर्दै लैजाने लक्ष्य राखेको छ ।
जलवायु परिवर्तन, सहरीकरण र जीवनशैलीमा आएको परिवर्तनका सन्दर्भमा उद्यानहरू केवल मनोरञ्जनका साधन नभई स्वस्थ वातावरण, सौन्दर्य, पर्यटन र जैविक विविधताको संरक्षणका प्रमुख आधारशिला हुन् भन्ने सन्देश कार्यक्रमले दिएको छ।
२०७८ सालदेखि अवधारणा निर्माण हुँदै आएको महासंघले २०८० जेठ ६ र ७ गते बुटवलमा सम्पन्न प्रथम राष्ट्रिय उद्यान सम्मेलनको निर्णय अनुसार २०८२ असार २५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई औपचारिक रुपमा स्थापना भएको हो ।
नेपाल उद्यान महासंघका अध्यक्ष खेम लुइँटेलले विषय प्रवेश गराउँदै महासंघको स्थापना उद्देश्य, कार्यदिशा र भावी योजनाबारे जानकारी गराउँदै महासंघले पर्यटन प्रवद्र्धनमा काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा संविधान सभा सदस्य नेत्र पन्थीले संस्थाको स्थायित्व र उद्देश्यमा अडिग रही देशभरका उद्यानहरूलाई समेट्दै अघि बढ्न सुझाव दिँदै शुभकामना व्यक्त गरे ।
लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जलवायु परिवर्तनको सन्दर्भमा उद्यानहरूको महत्व झनै बढेको उल्लेख गर्दै तीन तहका सरकारसँग समन्वय गरी नीति, कार्यक्रम र कार्यान्वयनमा सक्रियता देखाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईं, शंकरनगर वन विहारका अध्यक्ष खिमलाल पाण्डेय, हिलपार्क परिषद् अध्यक्ष टंक पराजुली, होटल व्यवसायी संघ रुपन्देही अध्यक्ष माधव खनाल,महासंघका सल्लाहकार डी. आर. घिमिरे, बिमला श्रेष्ठ, रमेश नेपाल, पत्रकार सुदिप भण्डारी लगायतले विचार राख्दै उद्यानहरूलाई कला, संस्कृति, शिक्षा, पर्यावरण र पर्यटनसँग जोड्दै पहिचानयुक्त विकास गर्नुपर्ने सुझाव दिए ।
देशभरका उद्यानहरूबीच सञ्जाल विस्तार, नीतिगत पैरवी, विभिन्न प्रकारका उद्यानहरूको वर्गीकरण र सम्वद्र्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, सूचना प्रकाशन, अनुसन्धान तथा तालिम सञ्चालन, उद्यानहरूको कानुनी व्यवस्थापन सहयोगजस्ता विषय समेटिएको महासंघका महासचिव बेलप्रसाद शर्माले जानकारी दिए ।