Lumbini Rise
बुटवल उपमहानगरद्धारा सेवा प्रवाहबारे गर्याे सार्वजनिक सुनुवाइ

बुटवल - बुटवल उपमहानगरपालिकाले साेमबार सार्वजनिक सुनुवाइ गरेको छ । कार्यक्रममा नगरका प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधारका लागि उठेका सबै विषयलाई नगर कार्यपालिकामा छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

नगरप्रमुख पाण्डेले मोतिपुरमा औद्योगिक क्षेत्र र सिमलारमा कृषिजन्य सम्भावनाहरूलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरे। उनले सबै जात, भाषा, धर्म, लिङ र समुदायको हितलाई केन्द्रमा राखेर कार्य गर्दै आएको र अनुपस्थित सरोकारवालालाई मिडियामार्फत जवाफ दिने तयारी रहेको संकेत गरे।

यस्तै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले सार्वजनिक सुनुवाइले पालिकाभित्रका कमजोरी पहिचान गर्न सहयोग पुर्‍याउने बताइन । उनले समस्याको पहिचानले समाधान सजिलो बनाउने भन्दै जनप्रतिनिधि र सेवाग्राहीबीचको सम्बन्ध अझ सुदृढ भई सुशासन र विकासमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरिन ।

कार्यक्रममा इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डीएसपी इन्द्र बहादुर रानाले विभिन्न सामाजीक चुनौतीहरूबारे गम्भीरतापूर्वक प्रश्न उठाएका छन्।

यस्तै नेपाली कांग्रेसका नगर उपसभापति ज्योती भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष भेक बहादुर थापा, उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले सार्वजनिक लगानी बढाउन र ट्राफिक व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय, बुटवलले सहजिकरण गरेको सुनुवाइ कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल, वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न विषयगत समितिका संयोजक, नागरिक समाजका प्रतिनिधिहरू र पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update