Lumbini Rise
कान्ति मावि बुटवलको अध्यक्षमा जीवन ओझा चयन

बुटवल – कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय समाजसेवी जीवन प्रसाद ओझा चयन भएका छन्। नव निर्वाचित सदस्य रामकृष्ण शर्माको अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले ओझालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

यसअघि बसेको पहिलो चरणको बैठकले जीवन प्रसाद ओझा र संगिता अधिकारीलाई व्यवस्थापन समितिमा मनोनित गरेको थियो। दोस्रो चरणको बैठकमा ओझालाई अध्यक्ष बनाउन प्रस्ताव पारित भएको हो।

ओझा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन्। उनी विभिन्न सामाजिक संघसंस्था तथा सामुदायिक विद्यालयहरूमा समेत सक्रिय योगदान पुर्याउँदै आएका एक प्रतिष्ठित व्यक्तित्व मानिन्छन्। अध्यक्षमा निर्विरोध चयन भएपछि ओझाले विद्यालयलाई देशकै उत्कृष्ट माध्यमिक विद्यालयका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

गत वर्षदेखि अध्यक्ष चयन प्रक्रियामा प्रमुख दल कांग्रेस र एमालेबीचको खिचातानीका कारण सहमति जुट्न सकेको थिएन। सहमतिको प्रयास विफल भएपछि असार २१ गते विद्यालय व्यवस्थापन समितिका चार सदस्य चयनका लागि निर्वाचन भएको थियो।

यसैबीच व्यवस्थापन समितिमा आउने शिक्षक प्रतिनिधि छनौटको प्रक्रियामा रहेको र दुई तीन दिनभित्र अभिभावक समितिलाई पनि पुर्णता दिने तयारी भएको व्यवस्थापन समिति सदस्य रामकृष्ण शर्माले बताए ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update