
लुम्बिनी - जापानको योकोसुका शहरका मेयर कात्सुआकी कामिजीले बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा भेटघाट तथा भ्रमण गरेका छन् । १० सदस्यीय प्रतिनिधिहरु सहित भ्रमणमा आएको टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिकामा भेटघाट तथा बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेको हो।
शुक्रबार दिउँसो मेयर कात्सुआकीलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन खाँन, उपप्रमुख कल्पना हरिजन, प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले स्वागत गरेका हुन् ।
नेपाली ढाका टोपी लगाइदिएर मेयर खाँनले कात्सुआकीलाई बुद्धजन्मस्थल लुम्बिनी नगरमा स्वागत गरेका हुन् । यसैगरी मेयर कात्सुआकीले मायादेवी मन्दिरको भ्रमणसँगै बुद्धजन्म स्मारक (मार्कर स्टोन) मा पूजाआजा गरेका छन् । उनले मायादेवी मन्दिरसँगै पुष्करणी पोखरी, अशोक स्तम्भको समेत अवलोकन गरे ।
मेयर कामिजीले लुम्बिनीकै पूरानो राजकीय विहारमा पूजा तथा प्रवचनमा सरिक भए । विहारका प्रमुख भिक्षु सागर धम्म सहित भिक्षु भिक्षुणी तथा गृहस्थ आमाहरुको समूह लुम्बिनी बौद्ध महिला समुहका प्रतिनिधिहरुको सहयोग तथा सहकार्यमा पूजा तथा प्रवचन गरिएको हो ।
सो अवसरमा भिक्षु सागर धम्मले लुम्बिनीको ऐतिहासिक र पुरातात्विक महत्त्व तथा लुम्बिनी विकास गुरुयोजनाका बारेमा मेयरलाई जानकारी दिए । मेयर कामिजिले राजकीय विहारमा विश्व शान्तिका लागि छोटो प्रार्थना र ध्यान गर्नुका साथै यहाँको अध्यात्मिक वातावरणले शान्ति, करुणामैत्री र सद्भावको राम्रो अनुभूति गर्न पाएको बताए ।
भ्रमणका अवसरमा मेयर कात्सुआकीलाई लुम्बिनीका बारेमा भिक्षु सागर धम्म सहित पर्यटन व्यवसायी लिलामणि शर्माले बिफ्रिङ गरेका थिए । जापनीज टोलीको समन्वय भने बद्री सिग्देलले गरेका हुन ।