Lumbini Rise
लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्वको देवदह गुरुयोजना सार्वजनिक

वुटवल-  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदह गुरुयोजना सार्वजनिक गरेका छन् ।

रुपन्देहीको देवदहमा झण्डै ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजना लुम्बिनीमा शुक्रबार आयोजित अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक समारोहमा अर्थमन्त्रीले पौडेलले सार्वजनिक गरेका हुन् । 

विश्वविद्यालयलाई ०७७ सालमा देवदहमा झण्डै ९२ विगाहा जमिनको सरकारले भोगाधिकार दिएको थियो । सोही जमिन ओगट्नेगरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते बसेको अठौं सभा बैठकले स्वीकृत गरेको थियो ।

सभाबाट स्वीकृत गुरुयोजना उपप्रधानमन्त्री पौडेलले शुक्रबार सार्वजनिक गर्दै गुरुयोजनालाई पूर्णता दिन विश्वविद्यालय तदारुकतासाथ लाग्नुपर्ने बताए।

 ‘गुरुयोजना बनाएर मात्रै हुँदैन, यसको कार्यान्वयनका लागि विश्वविद्यालयको अग्रसरता निरन्तर हुनुपर्छु उनले भने (‘हामीहरु साथ र सहयोग गर्न सधैं तत्पर छौं ।’

०५१ सालमा विश्वविद्यालय स्थापना गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको क्षण स्मरण गर्दै अहिले विश्वविद्यालयको स्वरुपमा पुगेको बताए। 

बौद्ध दर्शनका साथै अन्य विषयसमेत प्राध्यापन गराउदा विश्वविद्यालय अझै प्रभावकारी रुपमा अघि बढेको उनको भनाई छ । विश्वविद्यालयलाई लुम्बिनी र गौतम बुद्धका रुपमा ब्राण्डिङ गर्न सहज हुने भएकाले त्यसको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय स्तरमा फैलाउन निर्देशन समेत दिए।

८० अर्बको गुरुयोजनाका मूर्तरुप दिँदै शैक्षिक गुणस्तरमा पनि अब्बल हुनुपर्ने उनले बताए।  
सोही अवसरमा उपप्रधानमन्त्री पौडेलले लुम्बिनी विकास कोषको गुरुयोजना पूरा हुन नसकेकोमा चिन्ता समेत व्यक्त गरे ।

‘बजेट भएर मात्रै पनि विकास नहुने रहेछ, राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजना ४० वर्ष नाघ्दा पनि सकिएन, उनले भने–‘यस्ता संस्थाहरुको नेतृत्व लौकिक मोहबाट माथि उठेको, संस्कृति, सम्पदाको महत्व बुझेको र ज्ञान भएको हुनुपर्दो रहेछ।’

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा।डा। सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्याउनका लागि विश्वविद्यालयले प्रवद्र्धनात्मक कार्यक्रम बनाइरहेको बताए ।

त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजना जस्तै परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उनले बताए। उनले देवदह गुरुयोजनाको सपना छिट्टै साकार हुने विश्वास व्यक्त गरे।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा। तिलकराम आचार्यले  देवदह गुरुयोजना कार्यान्वयनमा सरकारको  सहयोग हुने विश्वास व्यक्त गरे । विश्वविद्यालयले पूर्वाधार निर्माणसँगै प्राज्ञिक अनुसन्धानहरु सरकारका नीति योजनामा पर्नेगरी गरिरहेको बताए।

देवदहको जग्गा प्राप्तीमा भएको कठिनाई स्मरण गर्दै उहाँले गुरुयोजना कार्यान्वयन हुँदा मुलुककै नमुना विश्वविद्यालयका रुपमा स्थापित हुने बताए। लुम्बिनी, देवदह र बुटवललाई शैक्षिक केन्द्रका रुपमा विकास गर्नेगरी विश्वविद्यालयले पूर्वाधार निर्माण गरिरहेको बताए।

उक्त अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले लुम्बिनी बौद्ध विश्वविद्यालय देशकै गौरवको आयोजनाका रुपमा रहेको बताईन।

 विश्वविद्यालयले रुपन्देहीको खडैयामा १२ करोड ८३ लाखको लागतमा एक सय जना विद्यार्थी बस्ने क्षमताको अन्तर्राष्ट्रिय होस्टेल निर्माण गर्न लागेको हो ।

सो निर्माण बीस महिनाभित्र सकिने अपेक्षा रहेको छ । विश्वविद्यालयमा हाल करिव २ सय विदेशीसहित ३ हजार विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले जानकारी दिए।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update