
बुटवल – बुटवल कालिका क्याम्पसले स्थापनाको छोटो समयमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गर्न सफल भएको छ ।
१२ बर्षअघि २०७० सालमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेको क्याम्पसले छोटो अवधिमै क्यूएए प्राप्त गरेर नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । क्याम्पसले यहि खुशीयालीमा बुधबार क्याम्पसमा खुशीयाली सभा गरेको छ ।
क्याम्पस प्रमुख घनश्याम पाठकले विद्यार्थी, शिक्षक, अभिभावकको भुमिकाकै कारण उपलब्धि हासिल गर्न सफल भएको बताए । उनका अनुसार विश्वविद्यालय अनुदान आयोगले र्धारण गरेका आठ वटा मापदण्डहरु पार गरेर स्थापनाको छोटो अवधिमा क्यूएए प्राप्त गर्न सफल भएको हो ।
गुणस्तरका कारण अन्तराष्ट्रिय मान्यता पाउने, छात्रवृत्ति बढ्ने, शिक्षक कर्मचारीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्नेछ । क्युएए प्राप्त भएसंगै प्रदेश सरकारबाट अनुदान समेत पाउने भएको छ ।खुशीयाली समारोहमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले पश्चिम क्षेत्रको शैक्षिक नगरी बुटवलमा दक्ष जनशक्ति उत्पादनमा कालिका क्याम्पस अग्रणी रहेको बताए । बुटवल नगर ऐतिहासिक, सामारिक, ब्यापारिक, खेलकुदसंगै शैक्षिक हबका रुपमा विकास हुन सक्ने गरि उपलब्धि हासिल गरेको उनले बताए ।
यस्तै क्याम्पसका निवर्तमान अध्यक्ष अर्जुनमान सैजुले विशाल लक्ष्य प्राप्ति भएको भन्दै यसलाई जोगाउने अभिभारा सबैमा आएको बताए । उनले कलेजको उपलब्धिमा सरकार, स्थानिय बासिन्दाबाट राम्रो सहयोग मिलेको बताए । विद्यार्थीहरुमा दलिय राजनिति नहुदा नै सफलता चुमेको उनको दाबी छ ।
कार्यक्रममा कलेजका उपाध्यक्ष नित्यानन्द ज्ञवालीले कुनै बेला विद्यार्थीहरुको आवश्यकताको कारण जन्मेको कलेज अहिले शिखर चुम्न सफल भएको बताए । यस्तै क्याम्पसका अध्यक्ष होम बहादुर गलामीले नेपालको ईतिहासमा नै छोटो समयमा क्युएए प्राप्त गर्ने कलेजका रुपमा चिनिने गौरव प्राप्त भएको बताए । यसमा केवल कलेजमात्र नभई सरोकारवाला सबैको उत्तिकै भुमिका र योगदान रहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, पब्लिक क्याम्पस संघका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण खनाल, लुम्बिनी प्रदेश सरकारका शिक्षाविद् दल बहादुर गुरुङ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्याल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लाल हरि पाण्डेय, सहायक प्राचार्य महेश पाण्डेले कालिकाको उपलब्धिलाई हेरेर यस क्षेत्रका अन्य क्याम्पस पनि आफनो शैक्षिक गुणस्तर वृद्धिमा जोड दिनुपर्ने सुझाव दिए ।
३४ जना विद्यार्थीबाट स्थापना भएको क्याम्पसमा हाल ४ हजार बढि विद्यार्थीहरु अध्ययरत छन् । जहा बिबिस, बिसिए, बिएएसडब्लु, बिएड, एमए आरडि, एम.ए अग्रेजी विषय अध्ययापन हुदै आएको छ भने निकट भविष्यमा एमबिएस पढाउने तयारीमा छ ।
कलेजले विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरेका आठ वटा मापदण्डहरु निति तथा प्रक्रिया, पाठ्यक्रम, शिक्षण, अध्ययन तथा मुल्याकन, अनुसन्धान, परामर्श तथा अतिरिक्त कार्यक्रम, पूर्वाधार तथा सिकाई श्रोत, विद्यार्थी सहायता तथा मार्गदर्शन, सुचना प्रणाली, सार्वजनिक सुचनामा अब्बल कार्यसम्पादन गर्दै स्वमुल्याकन र सुधारका दिर्घकालिन अभ्यासमार्फत संस्थागत सुदृढिकरण पुरा गरेको हो ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा साउन १६ गते औपचारिक रूपमा मान्यता प्राप्त गरेको हो ।