
बुटवल- अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजमा नेपालले जितको खाता खोलेको छ । नन्दन यादवको घातक बलिङको मद्दतले नेपालले पहिलो जित हात पारेको हो ।
मंगलबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गरेको छ।१ सय ८१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले १६।१ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन मात्र जोड्न सक्यो । हरिकेन्सलाई सस्तोमा समेट्न नन्दन यादवले ४ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ५ विकेट लिए ।
हरिकेन्सका लागि ब्राड्ली होपले ३६ बलमा ३१ रन बनाए । चार्ली वाकिमले २१ बलमा २८ रन बनाए भने विकेट किपर ज्याक कर्टेनले १२ बलमा २१ रन बनाउँदै नटआउट रहे ।
नेपालका लागि रोहित पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले १–१ विकेट लिए ।यसअघि, पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । टोलीका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए ।
उनले २६ बलमा ३ चौका प्रहार गरे । त्यस्तै, ओपनर आसिफ शेखले २८ बलमा २९ रन बनाए । उनले २ चौका हिर्काए । अर्का ओपनर कुशल भुर्तेलले २० बलमा ४ चौकाको मद्दतले २७ रन जोडे ।
लोकेश बमले ११ बलमा २५ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे । भीम सार्कीले १८ बलमा १८ रन जोड्दै २ चौका प्रहार गरे ।
होबार्ट हरिकेन्सका लागि निभेथम राधाकृष्णन् र राफ म्याकमिलनले २–२ विकेट लिए । मार्कस बिन, गाबे बेल र ब्राडली होपले १–१ विकेट हात पारे ।