
बुटवल - अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी२० शृङ्खलामा आफ्नो पाँचौ खेलमा नेपालले आज मेलबर्न रेनेगेड्ससँग खेल्दैछ । खेल पार्मस्टनमा नेपाली समयअनुसार सवा ११ बजे शुरु हुनेछ ।
लगातार तीन खेल हारेको नेपालले हिजो चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराउँदै पहिलो जीत निकालेको छ । टप इन्ड टी२० शृङ्खलामा नेपाल यसअघिका तीनवटै खेलमा पराजित भएको थियो ।
नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।प्रतियोगितामा ११ वटा टोली छन् ।
सहभागी हरेक टोलीले लिग चरणमा छ वटा खेल खेल्नेछन् । प्रतियोगिताअन्तर्गत नेपालले पर्सि शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ । यो शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप इण्ड टी२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।