कोही त भने जहाजमा हरर
कोही त भने पसिना तरर
हाम्रो नेपालमा
कलाकार रामेश र मंजुलले गाएको यो गीत तत्तकालिन शासक र जनताको अवस्थाको प्रतिबिम्ब थियो । पुस १४ गते सोमबार राती पूर्वपश्चिम राजमार्गमा यात्रा गरेका धेरै यात्रुहरुले यहि गित स्मरण गरेँ । ती यात्रुहरुले यो गित यस अर्थमा स्मरण गरेका हुन् की हुने खानेहरु हवाईजहाजको यात्रा गरेर दाउन्नेको कष्ट झेल्नुपरेको छैन्, तर जो बसकै यात्रा गर्नुपरिरहेको छ, तीनीहरुका लागि रामेशले गाएको गित जस्तै बनेको छ ।
अघिल्लो दिन राती बुटवलबाट काठमाडौं हिँडेर विहान १० बजेसम्म पुगेर काम गर्ने योजनाका साथ हिडेका ५० बर्षिय सुरेश थापा रातभर दाउन्नेमै फसे । विहानपख मुस्किलले सडक खुलेपछि दिउँसो ३ बजेतिर काठमाडौं पुगे ।
विडम्बना उनको काम भएन । फेरी उनी साँढे ३ बजेतिर बसपार्कबाटै बुटवलका लागि फर्किए । ‘दाउन्नेको जामले काठमाडौं आएर कामविना नै फर्कनुपर्यो, आज फेरी दाउन्नेमै बास भयो’ थापाले मंगलबार मध्यरातमा दाउन्नेको उकालोमा यो पक्तिकारसँग गुनासो पोखेँ । यसरी गुनासो पोख्नेमा थापा मात्रै थिएनन ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडक खण्ड अन्तर्गत दाउन्नेको निर्माणधिन सडकका कारण सास्ती नपाउने यात्रु सायदै होलान । सोमबार राती साँढे ९ बजेदेखि जाममा परेर मुस्किलले दाउन्नेको मन्दिरसम्म आइपुगेका बुटवलका जगलाल नेपाली उपाय नै नभएपछि २ घन्टा पैदल हिडेर बर्दघाट झरेँ । ‘गाडी पर्खदा साँझ पर्ने भयो, बरु पैदल हिडेर बर्दघाट पुग्न सकिएला भनेर हिडेर आए’ उनले भने –‘सडक निर्माण नहुँदा दाउन्नेमा इतिहासमै नपाएको दुःख पाइयो ।’ उनले शितलहरका कारण पैदल हिडेर आउन समेत निकै मुस्किल परेको सुनाए ।
त्यसो त मंगलबार विहान शितलहरले दाउन्नेमा सवारी साधनहरु जाममा फसेपछि यात्रुहरु पैदल हिड्न बाध्य भएका हुन् । गोरखाबाट नवलपरासी कुकुरमारा हिडेका खरचेन तामाङ १४ घन्टा जाममा परेपछि हिडेर बर्दघाट तर्फ लाग्दै थिए । उनी गोरखाबाट आफन्तीकोमा जान हिडेपनि साह्रै दुःख पाएको सुनाए ।
उमेर ६५ नाघिसकेका तामाङ हातमा चप्पल लिएर निकै मुस्किलले पैदल हिड्दै थिए । सोमबार साँझ ६ बजेबाट जाममा परेका उनी मंगलबार हिडेरै गन्तव्यतर्फ लागे । ‘के गर्नु गाडी चलेन, बाध्यताले हिड्नुपरेको छ’ उनले सुनाए ।
त्यसो त पश्चिमबाट पूर्व जाने यात्रुहरु पनि बाध्यताले पैदल हिडेर गन्तव्यतर्फ लागे । मंगलबार दुम्किबास घर भएका होमबहादुर सार्की पैदल हिडेर दाउन्नेको उकालोमा भेटिए । ‘हिजो विहानै बुटवलबाट हिडेको, २ घन्टामा पुग्ने बाटोमा रातभरी पनि खुलेन, त्यसैले पैदल हिडियो’ उनले भने ।
दाउन्नेको १४ किमि सडकले हजारौं यात्रु्लाई दुख दिएको छ । पुसको चिसो त्यसमाथि शितलहरले सडकमा सवारी चलाउन नसक्ने भएपछि चालक र यात्रुलाई सास्ती छ । चालकहरु यो बाटोमा हिड्नै नपरेहुन्थ्यो भन्छन् । दाउन्नेको पूर्व र पश्चिम खण्ड दुवैतर्फ शितलहरले गाडी चलाउनै नसक्ने अवस्था सृजना भएको छ ।
पुसमा शितलहर, बर्षायाममा बर्षातले पहिरो र सडक भासिने समस्याले गर्दा पूर्वपश्चिम राजमार्ग यात्रुका लागि काल जस्तै बनेको छ । हजारौं यात्रुले शितलहरका कारण दाउन्नेमा भएको जामले पाउनुसम्मको सास्ती पाएका छन् ।
सडकमा सवारी साधनको चाप बढी भएको र सीमित गतिका कारण जाम लागेको हो । पालैपालो गरेर दुवैतर्फी सडक सञ्चालन गर्ने गरिएको छ । तर, त्यस क्षेत्रको बतासेडाँडा, सुख्खा खोला र बाँसखोलामा सडक खराब भएकोले गाडी पास हुन समय लागेको छ । दाउन्ने क्षेत्रमा सडक निर्माणाधीन अवस्थामा छ ।
यसैबेला शीत परेपछि चिप्लो हुँदा ठूला गाडीहरू पास हुन समस्या भएको प्रहरीले जनाएको छ । सडक विभागका आयोजना निर्देशक चुडाराज ढकालले शीतलहरको अवस्था कायम रहेको र गाडीहरूको संख्या पनि निरन्तर थपिदा आवागमन सहज हुन नसकेको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार दाउन्नेदेखि दुम्कीबासको जङ्गलसम्मको जाममा बिहानसम्म झन्डै १,५०० वटा सवारीसाधन फसेका थिए ।
नारायणगढ बुटवल सडक योजना (पश्चिम खण्ड) का प्रमुख पशुपती ज्ञवालीले एक विज्ञप्ती जारी गरी शितलहरका कारण दाउन्ने खण्डमा सवारी साधन नियमित हुन नसकेकाले वैकल्पिक सडक प्रयोग गर्न सुझाव दिएका छन् । पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारीसाधनका लागि नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै वा गैँडाकोटको कालीगण्डकी चोकबाट बुलिङटार–रामपुर–पीपलडाँडा हुँदै बुटवल जाने रुट वैकल्पिक हुनसक्छ ।
सडक निर्माणधिन भइरहेको अवस्थामा विगत ३ दिन देखि परेको भारी शितलहरका कारण दाउन्ने खण्डको सडक सतह अत्यन्त चिप्लो भई साना तथा ठूला सवारी साधनहरू चिप्लिने, अड्किने तथा विग्रने कारणहरुले गर्दा सवारी आवागमनमा गम्भीर अवरोध उत्पन्न भई यात्रा गर्न कठिन भएको व्यहोरा जानकारी गराइन्छ ।
उक्त सडक खण्डमा आवश्यक मर्मत–सम्भार भइरहेकोले अति आवश्यक सवारी साधन बाहेक अन्य सवारी साधनहरूले वैकल्पिक सडक प्रयोग गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ’ सूचनामा भनिएको छ ।
आयोजनाले सवारी सञ्चालन गर्दा आफ्नो लेनमा रहि ट्राफिक नियमको पूर्ण पालना गर्न समेत अनुरोध गरेको छ । निर्माण सुस्त र समयमा पूरा नहुँदा दाउन्ने खण्डको असर पूर्वपश्चिम राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुले पाएका छन् । सडकको धेरैजसो काम सम्पन्न भएपनि दैनिक हजारौं यात्रुहरुले ओहोर दोहोर गर्ने सडकको निर्माणमा सरकार गम्भिर नहुँदा यात्रुहरुले सास्ती पाएका हुन् ।
वर्तमान अन्तरीम सरकारले समेत यो सडकको काम तिव्र बनाउन सकेको छैन । यसअघि रास्वपाका सभापती रवि लामिछानेले पैदल यात्रा गरेर दवाव दिएका थिए । तर, दाउन्ने खण्डको दुःख भने उस्तै छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामको सम्झौता २०७५ साल चैत ८ गते भएको थियो । ११३ किलोमिटर लामो यो सडकखण्ड विस्तारको काम चाँडै सक्न भन्दै दुई खण्डमा विभाजन गरेर अलग–अलग ठेक्का लगाइएको थियो । दुवै खण्डको ठेक्का चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ ले पाएको छ ।

पूर्वी खण्ड भनिने गैंडाकोट–दाउन्ने ६४.४२ किलोमिटर र पश्चिम खण्ड भनिने दाउन्ने–बुटबल ४८.५८ किलोमिटर सडक १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजारमा ठेक्का सम्झौता भएको थियो । चाइना स्टेट कन्स्ट्रक्सनले गैंडाकोट–दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का लिएको हो । सरकारले यो सडकखण्डको ठेक्काको म्याद चौथो पटकसम्म थप गरेको छ ।
- खस्याैली साप्ताहिककाे पुस १६ गतेकाे अंकमा याे समाचार प्रकाशित छ ।


