समयको गति कति निर्मम र कति सुखद दुवै हुँदोरहेछ। झलझली सम्झन्छु–साना–साना पाइला चाल्दै अक्षरसँग नाता गाँस्न श्री ज्ञानोदय माध्यमिक विद्यालय छिरेको त्यो दिन। आज त्यही मेरो 'ज्ञानको मन्दिर' ६५ औं वर्षमा प्रवेश गर्दैछ।
आगामी माघ ५ गतेको त्यो विशेष उत्सव र माघ ४ गते हुन लागेको 'पूर्व विद्यार्थी मिलन तथा अन्तरक्रिया'को खबरले मन एकाएक रोमाञ्चित भएको छ। प्रधानाध्यापक लक्ष्मी भण्डारी सरको सूचना र निमन्त्रणाले मलाई समयको प्रवाहभन्दा धेरै पछाडि, त्यही बाल्यकालको धुलाम्मे आँगनमा पुर्याइदिएको छ।
अक्षरका देवता र संस्कारको जग
मलाई पहिलो पटक अक्षर चिनाउने ती गुरुहरू स्व. तारा सर, सीता म्याम, भरत सर र शिवा म्याम। उहाँहरूले डोर्याएको मेरो सानो हातले नै आज समाजमा कलम चलाउन र बोल्न सिकेको हो। केवल कखरा मात्र होइन, जीवन जिउने नैतिकता र संस्कार सिकाउने देवी सर, नन्दराम सर र घनश्याम सरका अनुहारहरू मानसपटलमा सधैं ताजा रहन्छन्।

मेरो व्यक्तित्वको जग बसाल्न र मभित्रको नेतृत्व क्षमतालाई प्रस्फुटन गराउन सुभास सर, दधिराम सर, लिलामणी सर, गोकर्ण सर, सूर्यमूर्ति सर, धनपती सर (English), कुल बहादुर सर र गणितलाई पानी जस्तै बुझाएर पढाउने अर्का धनपती सर तथा स्व. हरि सुवेदी सरको अथाह गुन छ।
मेरो बाल्यकालका दुई प्रधानाध्यापकलाई त म कहिल्यै बिर्सन सक्दिनँ- कृष्ण प्रसाद ज्ञवाली सर (जसलाई म मामा भन्थेँ), जसको न्यानो काखमा मेरो बाल्यकालको केही समय बित्यो र स्व. दुर्गा बस्नेत सर, जो मेरो बुवा लालमणी अर्यालको अभिन्न मित्र हुनुहुन्थ्यो। उहाँको त्यो कडा अनुशासन र सुधारात्मक शैलीले नै मलाई आज यो स्थानसम्म ल्याएको हो।
खरको टहरो, अमिलो काँक्रो र बाल्यकालको ठट्टा
कक्षा १ मा पढ्दाको त्यो दृश्य अझै आँखामा नाच्छ- अहिलेको वडा कार्यालयको तलपट्टि रहेको खरले छाएको त्यो टहरो। त्यही खरको छानो मुनिको कक्षाबाट मेरो औपचारिक शिक्षा आरम्भ भएको थियो ।
सीता र शिवा म्यामहरूसँग बसेर नुन–खुर्सानी र काँक्रो खाएको त्यो स्वाद अझै जिब्रोमै छ। केटी साथीहरूले म्यामहरूसँग मिलेर अमिलो खाँदा हामी केटाहरूलाई नदिएर गिज्याउँदाको त्यो खिन्नता र बालसुलभ रिस सम्झँदा अहिले एक्लै हाँसो उठ्छ।
एकपटक वनभोज जाँदाको घटना झन् बिर्सनै सकिन्न। हामी केटाहरू 'जान्ने' भएर आफैं पकाउन थाल्यौं, तर पछि खाँदा त खाना सबै काँचो! साथी रुपा रानालगायतका केटीसाथिहरू हामीसँग कति रिसाएका थिए। त्यतिबेला घरबाटै दाउरा-सामान बोकेर वनभोज जाने त्यो चलनको छुट्टै रमाइलो र आत्मीयता थियो।
जुनियर रेडक्रस: मेरो तालिमको जग
म आज जुन प्रशिक्षक, पत्रकार र काउन्सिलरको रूपमा स्थापित छु, त्यसको जग 'जुनियर रेडक्रस सर्कल'ले नै बसालेको हो। नन्दराम सर, कुल बहादुर सर, सुभास सर र धनपती सरको मार्गदर्शनमा मैले रेडक्रसमा विभिन्न पद सम्हाल्ने मौका पाएँ। त्यतिबेला हाम्रो अभिभावक नेता गणेश अर्याल दाइ हुनुहुन्थ्यो।

कक्षा १० मा पढ्दा क्षेत्र नम्बर १ को प्रतिनिधित्व गर्दै जिल्ला तहसम्म पुग्ने अवसर मिल्यो। हिमालय उच्च मावि धुर्कोटमा भएको गोष्ठीमा पोलारिसका मेरा प्रिय साथीहरू हिमाल, वसन्त र हरिले मलाई निर्विरोध गराउन खेल्नुभएको भूमिका मेरो जीवनको एउटा ठूलो राजनीतिक र सामाजिक सिकाई थियो।
त्यो बेला टिफिन टाइममा म अफिसको एउटा कुनामा बसेर रेडक्रसको काम गर्थें। सरहरूलाई चिया र नास्ता दिँदा हाम्रा आदरणीय 'साहिला दाइ'ले मलाई कहिल्यै छुटाउनुहुन्नथ्यो। अफिसको त्यो सानो दराजमा मैले सेतो कागजमा रेडक्रसको लोगो बनाएर टाँसेको थिएँत्यो मेरो कर्मप्रतिको लगावको पहिलो चिनो थियो। साहिला दाइको स्नेह र त्यो सानो दराजको सम्झनाले मलाई आज पनि भावुक बनाउँछ। त्यो दराज आज छ कि नाई कुन्नी?
संघर्ष, डर र सफलताका कथाहरू
मेरो पढाइ राम्रै थियो, रुपा प्रथम र म दोस्रो हुन्थ्यौं। तर पछि सुरेन्द्र, सावित्रा र विनोदहरू आएपछि उनीहरूले स्थान कब्जा गरे, म भने रेडक्रसको काम र अन्य अतिरिक्त क्रियाकलापमा बढी लागें। त्यतिबेला दुर्गा सर म सँग निकै रिसाउनुभएको थियो— "एसएलसी बिग्रन्छ, घुरुघुरु पढ" भन्दै धुर्कोटको गोष्ठीमा जान रोक्नुभएको थियो। तर मेरो दृढ संकल्पको अगाडि उहाँको केही लागेन।
धनपती सरले मलाई हौसला मात्र दिनुभएन, आफैं सँगै जान तयार हुनुभयो।त्यो समय द्वन्द्वको उत्कर्ष थियो। धुर्कोटमा माओवादीले आक्रमण गरेको केही दिन मात्र भएको थियो।
रेसुङ्गाको उकालोमा माओवादी लडाकुसँग जम्काभेट हुँदा मुटुको धड्कन बढेको थियो, तर धनपती सरले स्कुलको चिठी देखाएर परिस्थिति सम्हाल्नुभयो। डा. हिमाल भण्डारी (एसएलसी गुल्मी टपर) र मैले विचित्र गुफाभित्र सँगालेका ती क्षणहरू अर्को कुनै खण्डमा विस्तृत रूपमा लेखौँला, तर ती पलहरू मेरा लागि सदैव अवस्मरणिय रहनेछन्।
पुरस्कारको पछ्यौरा र सपनाको उदय
माघ ५ गतेको आगमनले मलाई सधैं रोमाञ्चित बनाउँछ। त्यो वर्ष म कहिल्यै बिर्सन्न, जब मैले हाजिरी जवाफ, वक्तृत्वकला, अनुशासन र सरसफाइ लगायतका विधामा पाएका धेरै पुरस्कारहरू ममीले आफ्नो पछ्यौरामा पोको पारेर खुसी हुँदै घर लैजानुभएको थियो।
सत्यवती मावि हसरामा जिल्ला स्तरीय वक्तृत्वकलामा प्रथम, दिगाममा कवितामा तृतीय र कथामा द्वितीय हुँदा मलाई महसुस भयो— गुरुहरूले मेरो जग कति बलियो बनाइदिनुभएको रहेछ। धुर्कोट वस्तुका कृष्ण भण्डारी सर र हसर जोहाङका विष्णु सरको प्रशिक्षण शैलीले मलाई 'प्रशिक्षक' बन्ने प्रेरणा दियो। २०५८ सालमा आफ्नै स्कुलले आयोजना गरेको तालिमबाट म प्रशिक्षकको रूपमा जन्मिएको थिएँ।

आज म पत्रकार र प्रशिक्षक हुनुको पछाडि यही माटो र तिनै गुरुहरुको देन छ। राजदरबार हत्याकाण्डको समयमा रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण सुन्दा मैले प्रण गरेको थिएँ— "एक दिन म पनि यसै गरी बोलेर छोड्नेछु।" आज त्यो सपना साकार भएको छ।
आजको नमुना ज्ञानोदय: एक कृतज्ञता
हिजोको त्यो खरको टहरो आज 'नमुना' विद्यालय बनेको छ। अहिले छात्रावास सहितको गुणस्तरीय शिक्षा र सम्पूर्ण आधुनिक सुविधाहरू उपलब्ध छन्। विद्यालयलाई यो उचाइमा देख्न पाउनु हामी सबै पूर्व विद्यार्थीका लागि गौरवको विषय हो।
यो ऐतिहासिक अवसरमा म विद्यालयका आदरणीय संस्थापकज्यूहरू प्रति नतमस्तक छु। साथै, विभिन्न कालखण्डमा विद्यालय व्यवस्थापन समितिमा रहेर आफ्नो अमूल्य समय खर्चिने पदाधिकारीहरू र पूर्व प्रधानाध्यापकज्यूहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
उहाँहरूको त्याग र दूरदर्शिताले नै आज ज्ञानोदयले यो उचाइ चुम्न सफल भएको हो। वर्तमान समयमा विद्यालयलाई अझ परिष्कृत बनाउन अहोरात्र खट्नुहुने प्रधानाध्यापक लक्ष्मी भण्डारी सर, व्यवस्थापन समिति अध्यक्ष रमेश भण्डारी, सम्पूर्ण पदाधिकारी, गुरुवर्ग र कर्मचारी परिवारमा यो भव्य कार्यक्रम आयोजना गरेकोमा सफलताको शुभकामना व्यक्त गर्दछु।
अन्त्यमा..
हुग्दी खोलामा पौडी खेलेको, घाट नजिकैको ढुङ्गाबाट हाम फालेको, चिसै कपडा निचिरेर लगाएको, र हाम्रो ब्याचका 'हिरो' दिग्विजयलाई सम्झँदै म यो लेख टुङ्ग्याउँछु। म त झोला प्याक गर्दैछु, मजुवा जाने तयारीमा छु । बाल्यकालका यादहरू भेट्न र गुरुहरूलाई नमन गर्न। साथीहरू, तपाईंहरू पनि आउनुहोस् है ! ६५ औं वार्षिकोत्सवमा फेरि एकपटक बालक बनेर बाँचौँ।
– लेखक अर्याल सञ्चारकर्मी तथा भाषणकला प्रशिक्षक हुन् ।


