Lumbini Rise
प्राविधि विस्तारबाट गहुँको उत्पादन र उत्पादकत्व बढाउने


रुपन्देही- रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका किसान अजय कुमार यादव परम्परागत तरिकाले गहुँ खेती गर्दै आउनुभएको थियो । भारतीय सिमा क्षेत्रसँग नजिक भएकाले उहाँले भारतबाट गहुँको बीउ ल्याएर प्रयोग गर्दै आउनु भएको थियो । आवश्यक प्राविधिक ज्ञानको अभावमा अपेक्षित उत्पादन लिन पनि सक्नु भएको थिएन ।

गहुँ उत्पादन राम्रो लिने सोँचका साथ यादव राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले आयोजना गरेको उन्नत गहुँ खेती प्रविधि तालिममा सहभागी हुनुभयो । तालिमका क्रममा उहाँले उन्नत जातको प्रमाणित बीउ छनोट गर्ने विधि, छर्ने तरिका, सन्तुलित मलखाद व्यवस्थापन, समयमै सिँचाइ, रोग तथा कीरा व्यवस्थापन र उत्पादन वृद्धि गर्ने आधुनिक अभ्यासबारे प्राविधिक ज्ञान हासिल गर्नुभयो । एक हप्ते तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्ने मात्र होइन, गाउँका अन्य किसान दाजुभाइलाई समेत सिकाउने प्रतिबद्धता यादवले व्यक्त गर्नुभएको छ ।

रुपन्देहीमा आयोजना गरिएको तालिममा २४ जिल्लामा २५ जना किसानको सहभागीता थियो । तालिममा किसान बाहेक १५ जना सम्बन्धित विषयका विद्यार्थीहरु पनि स्वइच्छाले तालिममा सहभागी भएका थिए । एक हप्तासम्म किसानहरुलाई सैद्धान्तिक र प्रयोगात्मक विधिबाट उन्नत गहुँ खेती प्रविधि तालिम सिकाइएको थियो । तालिममा सहभागी अधिकांश किसानलाई नयाँ विकास गरिएका गहुँका जात बारे समेत थाहा थिएन । अधिकांशलाई कुन गहुँ छरेको भन्ने पनि थाहा नभएको बताए । तालिमा उपयुक्त जात छनोट कसरी गर्ने, बीउ उपचार, समयमै रोपाइँ, लाइनमा छर्ने विधि सिकाइएको थियो । माटो परीक्षण गरेर सन्तुलित मलखाद कसरी प्रयोग गर्ने, सिँचाइ व्यवस्थापन, रोग र कीरा व्यवस्थापन, झार नियन्त्रण, कटानी र भण्डारण जस्ता कुरा किसानहरुलाई सिकाइएको छ । 

राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले खाद्य सुरक्षासँगै पोषण सुरक्षालाई प्राथमिकतामा राख्दै पछिल्लो ६ दशकमा ५४ वटा उन्नत गहुँका जात विकास गरेको छ । हाल थप चार जात सिफारिसको चरणमा रहेका छन् भने १३ वटा पुराना जात सिफारिस सूचीबाट हटाइएका छन् ।

अनुसन्धान कार्यक्रमले तराई क्षेत्रका लागि जिंक गहुँ–१, जिंक गहुँ–२ र बोर्लग–२०२० तथा पहाडी क्षेत्रका लागि खुमलशक्ति, भेरीगंगा र हिमगंगा जात विकास गरेको छ । यी जातमा जिंक र आइरनको मात्रा बढी पाइने तथा रोग, किरा र जलवायु परिवर्तनको असर सहन सक्ने क्षमता उच्च रहेको दाबी गरिएको छ ।

नयाँ जातबाट प्रतिहेक्टर साढे पाँच टनसम्म उत्पादन लिन सकिने वैज्ञानिकहरूको दाबी छ । वैज्ञानिकहरूका अनुसार उन्नत जात प्रभावकारी रूपमा किसानसम्म पुर्‍याउन सके र मलखाद तथा सिँचाइको उचित व्यवस्थापन गर्न सके देश गहुँमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्ने अवस्थासम्म पुग्न सक्छ । तालिम सम्पन्न भएसँगै सहभागी किसानहरूले आफ्ना समुदायमा सिकेका प्रविधि विस्तार गर्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update