फागुन २१ मा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै नेपाली राजनीतिको परम्परागत लय यतिबेला नराम्ररी खलबलिएको छ। नेपाली राजनीतिमा देखिएको यो आक्रोश कुनै अमूर्त विषय होइन, यसका प्रष्ट पराकम्पनहरू त स्थानीय तहको निर्वाचनदेखि नै देखिन थालेका थिए।
दशकौँदेखि एउटै जडसूत्रीय धारमा बगिरहेको चुनावी राजनीतिमा अहिले 'आक्रोश' को एउटा जबर्दस्त बाढी आएको छ। यो बाढीले पुराना शक्तिहरूका शक्तिशाली मानिने किल्लाहरू मात्र भत्काएको छैन, बरु स्थापित दलहरूलाई आफ्नो अस्तित्व रक्षाका लागि गम्भीर आत्मसमीक्षा गर्न बाध्य पारेको छ।
'जेन-जी' (Gen Z) विद्रोह र त्यसपछिको यो राजनीतिक घटनाक्रमले के स्पष्ट पारेको छ भने- नेपाली मतदाता अब 'भोट' मात्र हालिरहेका छैनन्, उनीहरू आफ्नो दशकौँ लामो निराशाको 'हिसाब' मागिरहेका छन्।
सार्वजनिक भएका यी निर्वाचन परिणामहरू र नागरिकको यो बढ्दो असन्तुष्टि केवल एउटा सामयिक 'लहर' मात्र होइन, यो त वर्षौँदेखि राज्य सञ्चालकहरूको अकर्मण्यता विरुद्ध गुम्सिएको जनआक्रोशको राजनीतिक विस्फोट हो। आखिर नेपाली मतदातामा यति विघ्न आक्रोश र वितृष्णा
कहाँबाट आयो?
परम्परागत शक्ति र टुट्दो भरोसा नेपालका परम्परागत राजनीतिक दलहरू लामो समयदेखि राजनीतिको मियो बने। २०४६ र २०६२/६३ का आन्दोलनकारी शक्तिहरूप्रति नागरिकको एउटा ठूलो भरोसा थियो। तर, व्यवस्था परिवर्तनको श्रेय लिने दलहरूले 'अवस्था परिवर्तन' को एजेन्डामा सोचेजस्तो नतिजा दिन सकेनन्।
जब नागरिकले एउटा सामान्य कामका लागि पनि सरकारी अड्डामा सास्ती भोग्नुपर्छ र ठूला नीतिगत भ्रष्टाचारमा राज्यकै संरक्षण देख्छ, तब उसमा 'सिस्टम' प्रति घृणा पैदा हुन्छ।
यो एउटा यस्तो मनोवैज्ञानिक द्वन्द्व (Cognitive Dissonance) को अवस्था हो, जहाँ नागरिकले आफूले चुनेका प्रतिनिधि र आफ्नो वास्तविक जीवनस्तरबीच ठूलो खाडल देख्छन्। वर्षौँसम्म एउटै अनुहार सत्ताको वरिपरि घुमिरहनु, नीतिभन्दा पनि नेताको स्वार्थ प्रधान हुनु र सत्ता प्राप्तिका लागि गरिने अप्राकृतिक गठबन्धनले आम नागरिकमा "जो आए पनि उस्तै हुन्" भन्ने धारणा बलियो बनायो।
मतदाताको आक्रोशको मुख्य कारण यही 'विकल्पहीनताको पीडा' थियो, जुन अहिलेको मतपरिणाममार्फत विस्फोट भएको छ।
विमानस्थलको लाम र मतदानको परिणाम
नेपालको आर्थिक संरचनाले युवाहरूलाई सपना देख्न सिकाएन, केवल राहदानी (Passport) बनाउन सिकायो। दैनिक हजारौँको संख्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने युवाहरूको ताँती केवल श्रमिकहरूको पलायन मात्र होइन, यो राज्यप्रतिको अविश्वासको लाम पनि हो।
जब शिक्षित युवाहरू स्वदेशमा सिन्को भाँच्ने अवसर पाउँदैनन् र आफ्ना बुबाआमाको बुढ्यौलीको लौरो बन्नुको साटो खाडीको ५० डिग्री गर्मीमा पसिना बगाउन बाध्य हुन्छन्, तब उनीहरूको मनमा राज्यप्रति एउटा गहिरो रिस उत्पन्न हुन्छ। यही रिस अहिले 'डिजिटल' माध्यमबाट गाउँगाउँ पुगेको छ।
विदेशमा रहेका करिब ४० लाख नेपालीको संवेगले यतिबेला निर्वाचनमा प्रत्यक्ष प्रभाव पारेको छ। उनीहरूले पठाएको रेमिट्यान्सले देश चलेको छ, तर उनीहरूले बाआमालाई पठाएको 'सुझाव' ले पुराना दलहरूको जग हल्लाइदिएको छ।
भ्रष्टाचारको ऐँजेरु र नागरिक विद्रोह
नेपाली मतदाताको आक्रोशको अर्को कडी व्याप्त भ्रष्टाचार र सरकारी सेवाको कछुवा गति हो। एउटा सामान्य नागरिकले नागरिकता बनाउन, पासपोर्ट लिन वा कर तिर्न जाँदा समेत भोग्नुपर्ने सास्तीले उसलाई 'सिस्टम' प्रति विद्रोही बनाउँछ।
ठूला-ठूला भ्रष्टाचारका काण्डहरूमा राजनीतिक नेतृत्वको संरक्षण देखिनु र न्याय मर्नुले आम मानिसमा "यो देश हाम्रा लागि होइन, पहुँचवालाका लागि मात्र हो" भन्ने मनोविज्ञान विकास गरायो। सुशासनको यो भोको समाजले अहिले मतपत्रमार्फत आफ्नो भोक मेटाउने प्रयास गरेको छ।
डिजिटल एगोरा र पपुलिज्मको जोखिम
अहिले राजनीति चिया पसलबाट सरेर टिकटक र फेसबुक जस्ता 'डिजिटल एगोरा' (सार्वजनिक बहस स्थल) मा पुगेको छ। यसले सूचनाको लोकतान्त्रिकीकरण त गर्यो, तर सँगै 'पपुलिज्म' (लोकरिझ्याइँ) को जोखिम पनि निम्त्याएको छ।
पपुलिज्मले जटिल समस्याहरूको धेरै 'सजिलो र सतही' समाधान प्रस्तुत गर्छ, जसले नागरिकको आक्रोशलाई तत्काल शान्त त पार्छ तर दीर्घकालीन नीतिगत नतिजा दिँदैन।
सामाजिक सञ्जालमा तर्कभन्दा बढी 'संवेग' ले काम गर्ने हुनाले प्रयोगकर्ताहरू तथ्यभन्दा पनि उत्तेजक हेडलाइन र 'क्लिप' हरूको पछि दौडिरहेका देखिन्छन्।
यसले नागरिकलाई प्रश्न गर्न त सिकाएको छ, तर कतै हामी 'तर्क' छोडेर केवल 'उत्तेजना' मा त बहकिरहेका छैनौँ? यो आजको गम्भीर प्रश्न हो।
पुस्तान्तरणको सङ्कट र 'ब्रान्ड लोयल्टी' को अन्त्य
हिजोका मतदाताहरू पार्टीप्रति 'अन्धभक्त' वा 'ब्रान्ड लोयल' थिए। "हाम्रो बाजेले पनि यही पार्टीलाई भोट दिएका थिए" भन्ने भाष्य बलियो थियो। तर नयाँ पुस्ता (Gen Z र Millennials) परिणाममुखी छ।
उनीहरूलाई सिद्धान्तको लेपनभन्दा पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता चाहिएको छ।
पुरानो पुस्ताका नेताहरूले नयाँ पुस्ताको भाषा र भावना बुझ्न नसक्दा 'पुस्तान्तरणको खाडल' (Generation Gap) बढ्दै गयो। मतदाताले अब 'इतिहासको ब्याज' खुवाउने नेतालाई भन्दा 'भविष्यको खाका' कोर्ने उम्मेदवारलाई रोज्न थालेका छन्।
यो परिवर्तन 'नेगेटिभ पार्टिसनसिप' बाट पनि प्रेरित छ, जहाँ मतदाताले पुरानालाई 'दण्ड' दिन नयाँलाई रोजिरहेका छन्। समाजशास्त्री अमर खत्री भन्छन्- "नेताभन्दा कार्यकर्ता बाठा, र कार्यकर्ताभन्दा जनता बाठा भएको प्रमाण यस निर्वाचनको परिणामले पेस गरिरहेको छ।"
रास्वपाको उदय: आक्रोशको राजनीतिक अवतरण
नेपाली मतदाताको यही सञ्चित आक्रोशले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दुई-तिहाइ नजिक पुऱ्याएको छ। रास्वपाको उदयले नेपाली राजनीतिमा 'पर्फमेन्स' (कार्यसम्पादन) को दबाब सिर्जना गरिदिएको छ।
पुराना दलहरूले 'इतिहास र त्याग' को ब्याज खाइरहँदा नयाँ शक्तिले 'प्रविधि, पारदर्शिता र डेलिभरी' को नयाँ भाष्य निर्माण गरेका छन्। तर, यी नयाँ शक्तिहरूका लागि पनि यो जनआक्रोश 'दुईधारे तरबार’’' जस्तै हो। यदि उनीहरूले पनि छिटो र ठोस नतिजा दिन सकेनन् भने, आज उनीहरूलाई शिखरमा पुऱ्याउने यही आक्रोशले भोलि उनीहरूलाई पनि उस्तै निर्ममता पूर्वक विस्थापित गरिदिनेछ।
लोकतन्त्रका लागि नयाँ मोड
नेपाली मतदाताको यो आक्रोश लोकतन्त्रका लागि एउटा गम्भीर चेतावनी (Wake-up Call) सँगै अवसर पनि हो। नागरिक अब 'भोट' दिएर पाँच वर्षसम्म मौन बस्न सक्दैनन्; उनीहरू सचेत र रूपान्तरित भइसकेका छन्।
यो आक्रोशलाई यदि पुराना दलहरूले 'सुधारको ऊर्जा' र नयाँ दलहरूले 'रचनात्मक निर्माण' मा बदल्न सके भने नेपालको लोकतन्त्र थप सुदृढ हुनेछ।
अन्यथा, सतही लोकरिझ्याइँ र गहिरो निराशाको यो सम्मिश्रणले मुलुकलाई कुन दिशामा लैजान्छ, त्यो अहिल्यै भन्न कठिन छ। तर एउटा कुरा निश्चित छ- नेपाली राजनीति अब पहिलेकै पुरानो ढर्रामा फर्कन सम्भव छैन। - अर्याल भाषणकला प्रशिक्षक तथा सञ्चारकर्मी हुन् ।


