Lumbini Rise
ज्ञानपुञ्जमा ‘आमासँग विद्यार्थी’ कार्यक्रम सञ्चालन

बुटवल -  ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुरले ‘आमासँग विद्यार्थी’ कार्यक्रम गरेको छ ।  विद्यार्थी र अभिभावकबीच भावनात्मक, नैतिक तथा शैक्षिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले ‘आमासँग विद्यार्थी’ कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । 

साउन ६ गतेदेखि सुरु भएको कार्यक्रम सोमबार सफलतापूर्वक सम्पन्न गरिएको हो । साउन ६ गते कक्षा ८, ९ र १० तथा साउन ११ गते कक्षा ५, ६ र ७ का विद्यार्थीहरूका आमाहरूलाई विद्यालयमा आमन्त्रण गरी आफ्ना जीवनका अनुभव, संघर्ष, प्रेरणा र अपेक्षाहरू विद्यार्थीहरूसँग प्रत्यक्ष रूपमा साझा गर्ने अवसर प्रदान गरिएको प्राचार्य शंकर भण्डारीले बताए ।

उक्त अवसरमा बोल्दै प्राचार्य भण्डारीले विद्यालय, अभिभावक र विद्यार्थीबीच विश्वास तथा सहकार्यको नयाँ सेतु निर्माण गर्ने विश्वास व्यक्त गर्दै विद्यार्थीहरूले आफ्ना आमाबुवाको संघर्ष, त्याग र समर्पणलाई हृदयदेखि आत्मसात् गरी जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने धारणा राखे ।  

विद्यालयका सहप्राचार्य भीम बस्नेतद्वारा सञ्चालन गरिएको कार्यक्रममा सम्बन्धित कक्षाका कक्षा शिक्षकहरूको समेत सक्रिय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी आमाहरूले आफ्नो विद्यार्थी जीवनका कठिन संघर्ष, त्यस समयको शैक्षिक अवस्था, वर्तमान पुस्ताले पाएको अवसर तथा सुविधाहरू, साथै आफ्ना छोराछोरीप्रतिको आशा, विश्वास र जिम्मेवारीबारे अत्यन्त भावुक, प्रेरणादायी र जीवनोपयोगी अनुभवहरू प्रस्तुत गरेका थिए । 

दुई चरणमा सञ्चालन गरिएको यो कार्यक्रम सोमबार सम्पनन गरेको विद्यालयले जनाएको छ । विद्यालयले आगामी दिनहरूमा पनि विद्यार्थीको सर्वाङ्गीण विकास, पारिवारिक मूल्य र अभिभावक–विद्यालय सहकार्यलाई अझ प्रभावकारी बनाउने यस्ता सिर्जनात्मक तथा जीवनमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  २१:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update