Lumbini Rise
प्रथम ज्ञानपुन्ज अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता :  विद्यालयविच रोमाञ्चक भिडन्त

बुटवल -  बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत  तेस्रो दिन बुधबारसम्म १५ खेल सम्पन्न भएका छन् ।

तेस्रो दिन बुधबार सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्गलिस सेकेण्डरी स्कुल बुटवल ११ नहरपुरको आयोजनामा बुधबार विहान भएको पहिलो खेलमा नवप्रभात ईगलिस बोर्डिङ स्कुल दोस्रो चरणमा प्रवेश गरेको छ ।

नवप्रभातले बुटवल पब्लिक स्कुललाई ५–१ गोलले पराजित गर्दै विजयी भएको हो ।  यस्तै बुधबार भएको दोस्रो खेलमा ईडन इंगलिस र्बोडिङ स्कुलले पामिर ईन्टरनेश्नल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।  

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको तेस्रो खेलमा नवप्रभातको जितमा दीपसन परियारले ह्याट्रिक गरे । यसैगरि प्रिन्स पुनले दुई गोल थपे । बुटवल पब्लिकका सामिप्या पुनमगरले सान्त्वना गोल गरे । दीपसन खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि दोस्रो खेलमा ईडनको जितमा एकमात्र गोल समृद्ध थापाले गरे । उनी खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यस्तै दिउँसो भएको खेलमा स्कलर्स होम इङ्लिस बोर्डिङ स्कुल विजयी भएको छ । प्रभात इङ्लिस बोर्डिङ स्कुलमाथि विपक्षी टोलीबाट भएको निर्णायक आत्मघाती गोलका कारण १–० गोलअन्तरले स्कलर्स होमले अगाडिको यात्रा सुरक्षित गरेको हो  ।

पराजित टोलीका खेलाडी भए तापनि उत्कृष्ट व्यक्तिगत प्रदर्शनका लागि प्रभात इङ्लिस बोर्डिङ स्कुलका लभसन रहाडी प्लेयर अफ द म्याच घोषित भए । यसैगरी अर्को खेलमा सिद्धार्थ मोडर्न स्कुलले मदरल्यान्ड इङ्लिस बोर्डिङ स्कुललाई १–० गोलअन्तरले जित हासिल गरेको छ । निर्णायक गोलकर्ता समेत रहेका सुशान्त रिजाल प्लेयर अफ द म्याच घोषित भए ।

यसैगरी नवरत्न माध्यमिक विद्यालयले सैनिक आवासीय महाविद्यालयलाई हराउँदै अगाडिको यात्रा तय गरेको छ। निर्धारित समयसम्म दुवै टोली गोलरहित बराबरीमा रहेपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो । टाइब्रेकरमा नवरत्नले ३–२ को गोलअन्तरले विजय हासिल गरेको हो ।  दिवान पुन प्लेयर अफ द म्याच घोषित भए । 

सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिन सिद्धार्थ, नवीन औद्योगिक कदर बहादुर माध्यमिक विद्यालय टिम ’बी’, होराइजन जीबीएस,  श्री नयागाउँ माध्यमिक विद्यालय अघिल्लो चरणमा प्रवेश गरेका हुन् ।  

बुटवल देविनगर स्थित एन्फा रंगशालामा प्रत्येक दिन विहान ८ र दिउँसो तीन बजेदेखि खेल भइरहेको छ ।  प्रतियोगितामा विजेता हुने समूहले नगद ५१ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

विद्यालय तहबाटै खेलाडी उत्पादनमा योगदान गर्ने उदेश्यले प्रतियोगिता गरिएको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए ।
 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update