सिरहा - सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका सङ्घीय सरकारका शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेल आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताले विरोध गरेपछि बोल्दाबोल्दै कार्यक्रमस्थलबाट बाहिरिनु परेको छ ।
औरही गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन मन्त्री पोखरेल सिरहा पुगेका थिए । तर, कार्यक्रममा स्थानीय पार्टी नेतृत्वसँग समन्वय नगरिएको र आफ्नै पार्टीका नेता–कार्यकर्तालाई अपमान गरिएको भन्दै विरोध भएपछि केहीबेर होहल्लाको अवस्था सिर्जना भएको हो ।
कार्यक्रममा सिरहाबाट प्रतिनिधित्व गर्ने दुई जना प्रतिनिधिसभा सदस्य सहभागी भए पनि स्थानीय नेता–कार्यकर्तासँग कुनै प्रकारको समन्वय गरिएको थिएन।
औरही गाउँपालिकाका नगर सभापति तथा पत्रकार सन्तोष कुमार यादवलाई समेत कार्यक्रममा आसन ग्रहणका लागि स्थान दिइएन । त्यसपछि यादव चुपचाप भिडियो खिचिरहेका बेला मन्त्री पोखरेलसँगै आएका एक व्यक्तिले सुरक्षाकर्मीको सहयोगमा उनको मोबाइल खोस्ने प्रयास गरेपछि विवाद थप चर्किएको ती नेताको दाबी छ ।

