Lumbini Rise
लुम्बिनीमा दोस्रो वार्षिक बहुभाषिक बुद्धवचन तथा ४६औँ वार्षिक ध्यान शिविर हुने

लुम्बिनी -  बुद्ध जन्स्थल लुम्बिनीमा आउँदाो कार्तिक १५ देखि २४ गतेसम्म दोस्रो  बहुभाषिक बुद्धवचन वाचन तथा ४६औँ वार्षिक ध्यान शिविर आयोजना हुने भएको छ।

बुद्ध शाक्यमुनि दिवसका रूपमा मनाइने पावन औँसीको अवसरमा बुद्धवचन वाचन तथा ४६औँ ध्यान शिविरको घाेषणा गरिएको हो । ल्हाबाब दुछेनका दिन अर्थात् कात्तिक १५ गते (नोभेम्बर १ तारिख) देखि लुम्बिनीस्थित थुब्तेन शेडुब लिङ (Thousand Buddha Temple) गुम्बामा बुद्धवचन वाचन प्रारम्भ हुने जनाइएको छ। गुम्बाका संरक्षक तथा बौद्ध गुरु छोकी निमा रिन्पोछेले कार्यक्रमकाे घाेषणा गरेका हुन् । 

कार्यक्रममा बौद्ध धर्मका विभिन्न परम्पराका भिक्षु, भिक्षुणी, उपासक तथा उपासिकाहरू एकत्रित भई भगवान् शाक्यमुनि बुद्धले प्रदान गर्नुभएका अमूल्य शिक्षाहरूको सामूहिक वाचन गर्नेछन्।

एकता र सद्भावको भावनासहित बुद्धवचनलाई पाली, संस्कृत, चिनियाँ, तिब्बती, भियतनामी र अङ्ग्रेजीलगायत विभिन्न भाषामा एकैसाथ वाचन गरिनेछ। यस पुण्यमय कार्यक्रमबाट सञ्चित पुण्य सम्पूर्ण प्राणीको सुख, विश्वशान्ति तथा संसारमा बुद्धधर्म चिरस्थायी रहोस् भन्ने कामनासहित परिणामना गरिने आयोजकले जनाएको छ।

कार्यक्रमस्थलमा प्रत्यक्ष उपस्थित हुन नसक्ने श्रद्धालुहरूका लागि अनलाइन प्रत्यक्ष प्रसारणको समेत व्यवस्था गरिनेछ। यसबाट संसारको जुनसुकै स्थानमा रहेका धर्मप्रेमीहरूले पनि कार्यक्रममा सहभागी भई पुण्य सञ्चय गर्न सक्नेछन्।

यसै अवसरमा ४६औँ वार्षिक ध्यान शिविर पनि दुई भागमा सञ्चालन हुनेछ। कात्तिक १५ देखि २१ गतेसम्म (नोभेम्बर १–७ तारिख) सञ्चालन हुने पहिलो भागमा बुद्धवचन वाचनसँगै बाैद्ध गुरु छोकी निमा रिन्पोछे तथा अन्य धर्मगुरुहरूबाट धर्मदेशना प्रदान गरिनेछ।

त्यसैगरी, कात्तिक २२ देखि २४ गतेसम्म (नोभेम्बर ८–१० तारिख) सञ्चालन हुने दोस्रो विशेष भागमा छोकी निमा रिन्पोछेबाट धर्मदेशना प्रदान गरिने कार्यक्रम रहेको छ।

कार्यक्रममा सहभागीताका लागि  नाम दर्ता खुल्ला गरिएकाे गुम्बाले जनाएकाे छ । 

आयोजकले यस आनन्दमय एवं पुण्यमय कार्यक्रममा प्रत्यक्ष वा अनलाइन माध्यमबाट सहभागी हुन सम्पूर्ण बौद्ध धर्मावलम्बी तथा इच्छुक व्यक्तिहरूलाई हार्दिक आह्वान गरेको छ

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update