Lumbini Rise

 

बुटवल – कुनै बेला नेकपा मसालको विद्यार्थी राजनीतिका चर्चित पात्र बिमल पोखरेलले अब आफू नयाँ अभियानमा सामेल भएको खुलासा गरेका छन् । नेकपा मसालका बारेमा पछिल्लो समय सामाजिक सञ्जालमा कटाक्ष गर्दै आएका पोखरेलले नेपालका कम्यूनिष्ट पार्टीहरुबाट मुलुकलले निकास नपाउने बताउँदै अब प्राकृतिक स्वतन्त्रता सहितको अभियान थाल्ने घोषणा गरेका हुन ।

बुटवल स्थित पत्रकार विनोद परियारसँग लुम्बिनी भ्यूउमा अन्तरवार्ता दिदै उनले मसाल प्रवक्ताले आफूलाई कारवाही गरेको भनेर अभिव्यक्ति दिएसँगै मसालमा नरहेको बताए । ‘मोहनविक्रम सिंहको मुर्दा अनुशासन मान्न सकिएन’ उनले भने –‘अब जनजिविका र स्वतन्त्रताको वकलात गर्ने गरी अभियानको थालनी गर्नेछौं ।’ उनले आफू विभिन्न जिल्लामा पुगेर अभियानबारे छलफल गरिरहेको बताए । नेपालका कम्यूनिष्टहरुलाई नक्कलीको संज्ञा दिदै पोखरेलले अब कम्यूनिष्टले मुलुक बनाउन नसक्ने ठोकुवा गरे । उनले कम्यूनिष्टहरुले दासहरुमात्रै उत्पादन गरेको समेत आरोप लगाए ।

‘कम्यूनिष्ट पार्टीहरुमा भन्दा पूजीबादी पार्टी काँग्रेसमा स्वतन्त्रता छ’ उनले भने –‘स्वतन्त्रतावाहेक अन्य कुनै पनि कुरामा अब काँग्रेस, कम्यूनिष्ट कसैबाट पार लाग्दैन ।’ अखिल छैठौंका दुई कार्यकाल अध्यक्ष समेत भइसकेका पोखरेलले नेकपा मसाल भेन्टिलेटरमा गएकाले त्यो पार्टीबाट मुलुक बन्ने सम्भावनै नरहेको बताए ।

उनले आफू मुर्दा अनुशासनको सधैं विपक्षमा रहेकाले अब त्यहाँ रहन नसक्ने बताए । उनले नेकपा मसालमात्रै नभई अब जनताले सामाजिक सत्ता स्थापना गर्ने बेला आएको बताए । ‘कुनैबेला राजा महाराजा बलिया थिए, जनताले नेतालाई स्थापित गरिदिए, अब नेता पनि बलियो, शक्तिशाली हुने दिन सकिदैछ, अब जनता बलियो हुने सामाजिक सत्ता स्थापना गर्नुपर्छ’ उनले भने ।

उनले दलहरुलाई गाली गरेपनि आफू राजाको पक्षमा नरहेको प्रष्टाए । धेरै समय नेकपा मसाल, नेपालका कम्यूनिष्ट पार्टीहरुमाथि टिप्पणी गरेका पोखरेलले अब छिट्टै अभियानका साथ देशब्यापी रुपमा हिड्ने बताए । तर, उनले अभियानको नाम र यसको संगठनपद्धतीबारे धेरै खुलाएनन । उनले अभियानसँगै कुनै पार्टीमा प्रवेश हुनसक्ने समेत संकेत गरे भने २०८४ को निर्वाचनमा भाग लिने बताए । 

 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update