
बुटवल- निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले आफू मातहतका विद्यालयमा गणित विषय अध्यापन गराउने शिक्षक-महिला शिक्षकहरुका लागि एक दिने गणित विषयक कार्यशाला गरेको छ ।
नेशनल प्याब्सनले रुपन्देहीका संस्थागत विद्यालयहरूको कक्षा ६ देखि कक्षा १० सम्म अध्यापन गराउने गणित विषयक शिक्षकहरूलाई एक दिने कार्यशाला गरेको हो । कार्यशालाको उद्घाटन गर्दै नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव कृष्णप्रसाद पौडेलले सूचना र प्रविधिको विकाससँगै शिक्षकहरू पनि अपडेट हुनु पर्ने उल्लेख गर्दै एआईको दुनियाँमा आफूलाई अपग्रेड नगर्ने शिक्षकले विद्यार्थीलाई सही शिक्षा दिन नसक्ने बताए ।
नेशनल प्याब्सन रुपन्देहीका कार्यबहाक अध्यक्ष राजेन्द्र पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव हरिलाल अर्यालले शिक्षाको विकासमा सरकारी र गैरसरकारी निकायले आआफ्नो स्थानबाट गुणस्तरीय र समयानुकूल शिक्षाका लागि जोड दिए ।
वेदान्त पब्लिकेशनको सहकार्यमा भएको गणित विषयक अध्यापन शैली कार्यशाला गोष्ठीमा रुपन्देहीका विभिन्न विद्यालयका चार दर्जन बढी गणित विषय अध्यापन गराउने शिक्षकहरूको सहभागिता रहेको नेशनल प्याब्सनका सचिव विनोद थापा मगरले जानकारी दिए ।
नेशनल प्याब्सनले यसअघि नेपाली विषयक शिक्षकहरुका लागि तालिम दिइएको र नेशनल प्याब्सनले नियमित रूपमा अन्य विषयगत शिक्षकहरुका लागि पनि तालिम दिँदै जाने सचिव थापाले बताए ।
नेशनल प्याब्सनका सदस्य सौगात भट्टराईको स्वागत तथा वरिष्ठ लेखक तथा प्रशिक्षक हुकुम प्रसाद दाहालले गणित विषय अध्यापन शैलीका विषयमा सहजीकरण गर्नु भएको कार्यक्रममा सुनगाभा पब्लिक स्कुलका शिक्षक लक्ष्मण खनाल, न्यु लुम्बिनी बोर्डिङ स्कुलका शिक्षक लक्ष्मी रेश्मी मगर रानाले आ–आफ्ना भनाई राखेका थिए ।