
बुटवल – मानवअधिकार तथा शान्ति समाजको २९औँ स्थापना दिवसको अवसरमा रुपन्देही शाखाद्वारा शिक्षक विद्यार्थी बिच वैज्ञानिक शिक्षा संवाद र दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार पहिलो कार्यक्रम बुटवल देवीनगर स्थित गार्गी एकेडेमीमा शिक्षक र विद्यार्थीसँग वैज्ञानिक शिक्षा संवाद र दोस्रो कार्यक्रम तिलोत्तमा याेगिकुटी स्थित शान्ति कुञ्जमा दीप प्रज्वलन गरेको हो ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनालले शान्ति समाजको स्थापना पूर्ण लोकतन्त्र स्थापना र नागरिक स्वतन्त्रता लागि भएको बताए । उनले वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको लागि शान्ति समाजले सरोकारवालालाई निरन्तर घचघच्याइरहेको बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले प्रेस स्वतन्त्रता र नेपालको लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न शान्ति समाजको अतुलनीय योगदान रहेको उल्लेख्य गर्दै मानवअधिकार रक्षाको लागि पत्रकार महासंघ सदैव शान्ति समाजको साथमा रहेको बताए ।
गार्गी एकेडेमीका प्राचार्य भुवन अधिकारीले शान्ति समाजले आफ्नो शैक्षिक प्रतिष्ठान छनौट गरी वैज्ञानिक शिक्षा र गुणस्तरीय सेवाको बारेमा शिक्षक विद्यार्थी बिच संवाद आयोजना गरेकोमा सराहना गरेका थिए । मानव अधिकार तथा शान्ति समाज रुपन्देही सभापति अर्जुन ज्ञवालीले वैज्ञानिक शिक्षासँगै जगतमुखी जीवनमुखी सेवामुखी अभियानलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
उनले मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसाको लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । उनले नागरिक सर्वोच्चताको लागि आफूहरू निरन्तर क्रियाशील रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष विनोद परियार, नेपाल प्रेस युनियनका अध्यक्ष कवीन्द्र नेपाल, प्रेस चौतारीका अध्यक्ष भगवती पाण्डे, सञ्चारीका समूह रुपन्देही अध्यक्ष मिना ढकाल, समाजसेवी जीवन अधिकारी लगायत विभिन्न सामाजिक अभियन्ता, अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो
कार्यक्रम रुपन्देही सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत र सचिव लिलाधर लुइँटेलको सञ्चालनमा सप्रन्न भएको थियो ।