
लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनीस्थित सबैभन्दा पुरानो राजकीय बुद्ध विहारको अगुवाइमा मायादेवी मन्दिर दर्शन गर्न पुग्ने तीर्थयात्रुहरुलाई भोजन गराउने गरिएको छ ।
२५६९ औँ बुद्ध जयन्तीको दिन वैशाख पूर्णिमादेखि सुरु गरिएको भोजन दान अभियानले एक महिना पुरा गरेको छ । एक महिनाको अवधिमा २ हजारले निःशुल्क भोजन ग्रहण गरेको राजकीय बुद्ध विहारका प्रमुख भिक्षु सागर धम्मले बताए । भिक्षु धम्मकै सोँच र योजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भोजन गराउन सुरु गरिएको हो ।
दैनिक बिहान १० बजेदेखि १२ बजेसम्म मायादेवी दर्शन गर्न पुगेका तीर्थयात्री मध्ये ५० जनासम्मले भोजन ग्रहण गर्दै आएका छन् । ‘बुद्ध भगवान् जन्माएको माता मायादेवीको सम्मान र बुद्ध जन्मस्थल आध्यात्मिक स्थल समेत भएकाले त्यही भावका साथ भोजन गराउन सुरु गरिएको हो’ भन्ते सागरधम्मले भने ।
मायादेवी बुद्ध भगवानको मात्रै नभई सबैको आमा भएकाले आमाले छोराछोरीलाई खाना खायौँ की खाएनौँ भनेर सोधेजस्तै गरी त्यही दायित्वलाई सम्झेर तीर्थयात्रीलाई निःशुल्क भोजन गराइएको उनको भनाई छ । उनले लुम्बिनी पुरातात्त्विक सँगै आध्यात्मिक केन्द्र समेत भएकाले लुम्बिनी आएका तीर्थयात्रीहरुले निःशुल्क भोजन गर्न पाउनुपर्छ भन्ने लागेर अभियान थालेको बताए ।
उनका अनुसार दैनिक भोजन (भण्डारा) सञ्चालनका लागि केही दाताहरूले सहयोग गरेका छन् । लुम्बिनीमै रहेको साण्डो युवा बौद्ध परिषदले भण्डारा सञ्चालनका लागि खाद्यान्न र तरकारीहरू उपलब्ध गराउँदै आएको छ । यसै गरी खाना पकाउने २ जनाको मासिक तलबका लागि अमेरिका भर्जिनिया स्थित बि ह्याप्पी फाउन्डेसनले सहयोग गरेको छ । फाउन्डेसनका प्रवीण खड्काको नेतृत्वमा यो कार्य भएको हो ।
लुम्बिनीको आध्यात्मिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले आफूहरूले निःशुल्क भोजन अभियान थालेको भिक्षु धम्मको भनाई छ । उनले लुम्बिनी विकास कोषले मात्रै नभई यहाँका गुम्बा विहारहरूले समेत लुम्बिनीमा आध्यात्मिक गतिविधि गर्नुपर्ने बताए ।
भन्ते धम्मले निःशुल्क भोजन दान चुनौतीपूर्ण भए पनि सबैको सहयोगले एक महिनासम्म राम्रोसँग सञ्चालन भएको बताए । एक महिना पुगेको अवसरमा सहयोग दाताहरुलाई सम्मान समेत गरिएको छ । राजकीय बुद्ध विहारमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँको उपस्थितिमा विशेष कार्यक्रम गरिएको थियो ।
उक्त अवसरमा दैनिक भोजन (भण्डारा) सञ्चालन संयोजक गीता भण्डारी, सहसंयोजक संगिता गुरुङ, चिनियाँ बुद्ध विहारका भन्ते,भान्से लगायतलाई सम्मान गरिएको थियो ।
नगरप्रमुख खाँले लुम्बिनीमा राजकीय विहारले सुरु गरेको निःशुल्क भोजन अभियान अत्यन्तै उपयोगी भएकाले यसको निरन्तरताका लागि स्थानीय सरकारका तर्फबाट आगामी आर्थिक वर्षबाट बजेट छुटाउने प्रतिबद्धता समेत जनाए ।
राजकीय बुद्ध विहारले लुम्बिनी वरपरका स्थानीयहरूलाई सहयोग गर्ने तथा बुद्ध शिक्षा प्रवर्द्धनमा समेत जोड्ने काम गर्दै आएको छ ।