-1750473635.jpg)
भैरहवा- रुपन्देहीको भैरहवामा आज(शनिबार) देखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ हुन लागेको हो । आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष समेत रहेका क्लबका अध्यक्ष हरिबहादुर थापाले जिल्लाको क्रिकेट खेललाई थप उचाईमा पुर्याउने उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको बताए । ‘क्लबले विगतदेखि क्रिकेट प्रतियोगिता गराएर खेलाडी उत्पादनमा टेवा पुर्याइरहेको छ’, उनले भने, ‘यो प्रतियोगिताले रुपन्देहीको क्रिकेट विकास र खेलाडी उत्पादनमा एउटा ईंटा थप्ने काम गर्ने हाम्रो विश्वास छ ।’
प्रतियोगितामा रुपन्देहीका क्लब र एकेडेमीहरु गरी १४ वटा टीम सहभागी हुनेछन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिबार, आइतबार र सोमबार गरी तीन दिन प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिताको विजयी टिमले ८० नगद र उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष थापाले बताए ।
यस्तै, सेमिफाइनल पुग्ने दुईवटा टिमलाई नगद १०–१० हजार प्रदान गरिने अध्यक्ष थापाले बताए । ‘टिम र खेलाडीको प्रोत्साहनका लागि यसपटक हामीले सेमिफाइनल पुग्ने दुई टिमलाई पनि पुरस्कार राखेका छौं’, उनले भने । आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार दुई सय रुपैयाँ प्रदान गरिने छ ।
यस्तै, उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय तथा दर्शकदिर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजक रहेको भैरहवाको एशियन बुद्ध होटलका महाप्रबन्धक ओमप्रकाश पाण्डेले होटलको चौथो वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत प्रायोजन गरिएको जनाए ।
‘होटलले सधैं विभिन्न कार्य गरी सामाजिक उत्तरदायित्व बहन गरिरहेको छ’, उनले भने, ‘मुलुकलाई विश्वमा चिनाइरहेको क्रिकेटलाई प्रवद्र्धन गर्न पाउँदा थप खुशी भएका छौं ।’ उनले होटलले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रतियोगिता आईसीसीको टी–१० फम्र्याटमा संचालन गरिनेछ । यस्तै, एउटा टिमले कम्तिमा रुपन्देही जिल्ला बाहिरका तीनजना खेलाडीलाई समावेश गर्न पाउनेछन् । बाहिरी खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जुनसुकै क्षेत्रका भए पनि मान्यता दिइने खेल संयोजक विष्णु कटारियाले जानकारी दिए । प्रतियोगिताको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।