
बुटवल– लुम्बिनी प्रदेशसभामा विपक्षी दलहरुको बहिष्कारका विच मंगलबारबाट आर्थिक वर्ष ०८२-०८३ का बजेटमाथि सैद्धातिक छलफल गरिएको छ ।सरकारले ल्याएको बिनियोजन बजेट बेथितिको पुलिन्दा भएकाले संशोधन गर्न विपक्षीहरुले माग गरेका थिए ।
मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक डाकिएको भएपनि दिउँसो ३ बजे बैठक शुरु हुनासाथ प्रतिपक्षले अवरोध गरेपछि आधा घन्टा स्थगित भएको थियो । त्यसपछि सुचारु भएको बैठकमा प्रतिपक्ष भएपछि पुन संसद आधा घन्टा स्थगित भयो । त्यसपछि पनि सहमती जुट्न नसकेपछि भने सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसदहरुको उपस्थिती विना नै बैठक चलाएका हुन् ।
विपक्षी नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी राप्रपा र राष्ट्रिय जनमोर्चाले बैठक बहिष्कार गरेका हुन् । तर, सभामुख तुलबहादुर घर्तीले भने लोसपालाई विपक्षी बेञ्चमा राखेर संसद चलाएका हुन् । सरकालाई समर्थन गरेको लोसपा एकाएक सभामुखलाई सर्मथन फिर्ता लिएको पत्र लिएर विपक्षी बेञ्चमा बसेपछि संसद बैठक सुचारु गरिएको थियो ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारुले बजेटका बेथितिका बारेमा आफूहरुले संशोधनको माग गरेकोमा त्यसको सुनुवाई नगरी प्रदेशसभा चलाइएकोमा आपत्ति जनाए । उनले सभामुखले प्रमुख प्रतिपक्षी विना बनियोजित बजेटमाथिको छलफल हुने बैठक चलाएकोमा आपत्ति जनाए । ‘छलफल नै नगरी बजेट पारित गर्ने गरी सरकार अगाडि बढेको छ, त्यसमा सभामुख सहयोगी बन्नुभयो’ उनले भने ।
प्रतिपक्षीविना बसेको बैठकमा आर्थिक वर्ष २०८२-०८३ को बजेटमाथि सैद्धान्तिक छलफल गरिएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२-०८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गरेलगत्तै छलफल भएको थियो । सैद्धातिक छलफलमा भाग लिदै सत्तारुढ नेकपा एमालेका सांसद विष्णु पन्थीले लुम्बिनी प्रदेशको आगामि आर्थिक बर्षको बजेट परिपक्क नभएको बताए ।
उनले प्रदेश सरकार स्थापना भएपछिको आठौं बजेट भएकाले परिपक्क बजेट आउनुपर्नेमा त्यस्तो नभएको बताए । उनले बजेट कार्यान्वयनबाट सुधार गर्नुपर्ने बताउँदै नवौं बजेटमा त्यो कमीकमजोरी सच्चाउनुपर्ने बताए । उनले मन्त्रीहरुले आफू निर्वाचित निर्वाचन क्षेत्रमात्रै नभई ५२ वटै निर्वाचन क्षेत्रलाई हेरेर बजेट ल्याउनुपर्ने बताए । उनले बतासे आयोजना भन्दा मुलढोकाबाटै बजेट ल्याउनुपर्नेमा जोड दिए ।
यस्तै जनमत पार्टीका चन्द्रकेश गुप्ताले विनियोजित बजेट हेर्दा निकै आश्चर्यजनक रहेको बताए । उनले सरकारले बजेट घाटामा नल्याउने भनेपनि सरकारले आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेको बताए । पूर्वमन्त्री समेत रहेका गुप्ताले बजेटले उत्पादनमुलुक उद्योगधन्दाको विकासमा भन्दा पनि मन्दिरहरुमा केन्द्रीत गर्नु राम्रो नभएको बताए । यस्तै नेपाली काँग्रेसका सांसद सुधाकर पाण्डेयले यसअघि माओवादीको नेतृत्वमा सरकार बन्दा पनि बजेट नपरेको बताउँदै संसद चलाउनेसंवादबाटै संसद चलाउनुपर्ने बताए ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सांसद कनैया बाँनियाले लुम्बिनी प्रदेशको बजेट आवश्यकता र प्राथमिकतालाई ख्याल नै नगरी बजेट बनेको बताए । उनले पछाडि पारिएको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बन्नुपर्नेमा त्यसो नभई भेदभावपूर्ण गरी बजेट बिनियोजन गरिएको बताए ।
सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री कार्कीले सांसदहरुको सुझावलाई मार्गदर्शनका रुपमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले बजेट तथा कार्यक्रमले आर्थिक, सामाजिक तथा पूर्वाधार विकास मार्फत दोस्रो आवधिक योजनाले लिएको समृद्ध लुम्बिनी खुशी नागरिकको सोंचलाई पूरा गर्ने बताए । अर्थमन्त्री कार्कीले आर्थिक वर्ष ०८२-०८३ को सेवा र कार्यका लागि प्रदेश सचित कोषबाट केही रकम बिनियोजन र खर्च सम्बन्धमा व्यवस्थामा बनेको विधेयक सभामा पेश गरेका थिए ।
पन्धौं बैठक समेत राती साँढे ८ बजे प्रदेश सचित कोषबाट केही रकम बिनियोजन र खर्च सम्बन्धमा व्यवस्थामा बनेको विधेयकमाथि सैद्धातिक छलफल गर्न भनिएपनि छलफल सासदहरुले भाग लिएनन । त्यसपिछ सभामुखले सर्वसहमतीले पारित गरी अगाडि बढाइएका हुन् । सभामुख तुलबहादुर घर्तीले मन्त्रायगत छलफल बुधबार मध्यान्ह १२ बजे बस्ने जानकारी दिए ।