Lumbini Rise
रुपन्देहीमा बुटवलसहित तिलोत्तमा र सैनामैनामा कोरा २०२५ हुँदै

बुटवल – पर्यावरण र स्वास्थ्य जोडिएको साईकल अभियानका रुपमा गरिँदै आएको पर्यटन प्रवर्द्धन हुने कोरा साईक्लिङ कार्यक्रमको तिब्र तयारी भैरहेको छ । विश्वभर नै पर्वको रुपमा लिईने कोरा यसपटक रुपन्देहीमा ३ पालिकाहरुमा हुँदैछ । बुटवलसहित तिलोत्तमा र सैनामैनामा समेत कोरा २०२५ हुने भएको हो । 

मणिमुकुन्द बुटवल कोरा २०२५ को पाँचौ संस्करणको तयारी बारे विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि तयारी पूरा भएको आयोजक बुटवल युनाईटेड क्लबले जनाएको छ । पत्रकार सम्मेलनमा बुटवल युनाईटेड साईक्लिङ क्लबका सल्लाहकार टुक बहादुर क्षेत्रीले साइकल स्वास्थ्य र पर्यटन दुबै पक्षसँग जोडिएको बताए । ‘रमाइलोसँगै शिक्षा, स्वास्थ्य, पुनर्निर्माणमा सहयोग पुर्याउने सामाजिक उद्देश्य समेत रहेको छ ।’– उनले भने । 

नेपाल साईक्लिङ संघका केन्द्रिय उपाध्यक्ष स्वस्तिक श्रेष्ठले खेलकुद र पर्यटन प्रवर्द्धनमा साईक्लिङको महत्व रहेको बताए । तिब्बती शब्द ‘कोरा’ को शाब्दिक अर्थ पवित्र यात्राको क्रममा घुम्ने, परिक्रमा गर्ने बुझाउने भन्दै उनले पवित्र उद्देश्यका साथ विश्वभर नै साइक्लिङ गरिँदै आएको बताए ।

यसवर्ष एक सय बढी साइक्लिष्ट सहभागी हुने बुटवल कोराको तयारी अन्तिम चरणमा पुगेको क्लबका सचिव राजु तिवारीले बताए । करीब डेढ लाख खर्च हुने कार्यक्रमलाई मणिमुकुन्द कलेजबाट मुख्य सहित विभिन्न दाताहरुबाट सहयोग मिलेको उनले बताए ।

यता तिलोत्तमा नगरपालिकामा पनि पहिलोपटक कोराको तयारी अन्तिम चरणमा पुगेको विहिबार तिलोत्तमामा पत्रकार सम्मेलन गरि आयोजक तिलोत्तमा राईडर्सले जनाएको छ । तिलोत्तमा राईडर्सको आयोजनामा प्रथम तिलोत्तमा कोरा २०२५ हुन लागेको हो ।

तिलोत्तमा राईडर्सका अध्यक्ष अर्जुन गुरुङले तिलोत्तमा क्षेत्रका पर्यटकीय गतिविधिलाई समेटेर करीब ५० किलोमिटर दुरीको कार्यक्रम गर्न लागेको बताए । पहिलो पटक आयोजना हुने कार्यक्रममा ११० जना राईडरहरु दर्ता भएको उनले बताए । 

यसैगरि मंसिरमा समेत खेल प्रतियोगिता गर्ने तयारीमा रहेको उनले बताए । सैनामैना क्षेत्रको पर्यटकीय क्षेत्रहरुलाई प्रचार गर्ने गरि कोरा गर्न लागेको साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले बताए ।

सातौ संस्करणको कोरा यसपटक पनि ६० किलोमिटर हुने उनले बताए । निःशुल्क दर्ता हुने कार्यक्रममा करीब २८० जना साईक्लिष्ट दर्ता भएको उनले बताए । कोरामार्फत सैनामैनाको धार्मिक, साँस्कृतिक पर्यटन प्रवर्द्धनका कार्य समेत हुने उनले बताए । कोराको मुल मर्म अनुसार कार्यक्रम गरि सामाजिक क्षेत्रमा योगदान गर्दै आएको उनले बताए । 

कोरा कार्यक्रम केवल साईकल ईभेन्टमात्र नभई यो साईकिलेहरुका लागि ठूलो पर्व भएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए । रुपन्देहीसहित पाल्पा र बाँकेमा समेत कोरा आयोजना हुँदैछ ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update