Lumbini Rise
कालिकाद्धारा कक्षा ११ का  विद्यार्थीलाई अभिमुखीकरण तथा स्वागत

बुटवल - राष्ट्र कै सर्वोत्कृष्ट सामुदायिक विद्यालयको रूपमा पुरस्कृत बुटवल १० कालिका नगरमा रहेको कालिका मानव ज्ञान मावि विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको लागि अभिमुखीकरण कार्यक्रम गरेको छ।

शैक्षिक सत्र २०८२÷०८३ का लागि भर्ना भएका विद्यार्थीहरूलाई उत्प्रेरणात्मक कार्यक्रम सहित अभिमुखीकरण कार्यक्रमको सुरुवात गरिएको हो । ३ दिन सम्म चल्ने कार्यक्रममा पहिलो दिन सेक्टर १ कालिका नगर र सेक्टर २ रामनगरमा कक्षा ११ व्यवस्थापन सङ्कायमा बिहानी र दिवा समूहमा भर्ना भएका विद्यार्थीहरूको लागि कार्यक्रम गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रमुख सल्लाहकार तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले उत्प्रेरणात्मक अभिमुखीकरण प्रदान गरेका थिए।

कालिका मानव ज्ञान माविका पूर्व प्रधानाध्यापक समेत रहेका पाठकले अबको २१ औँ शताब्दीको शिक्षा पढ्ने, घोक्ने भन्दा पनि सिक्ने र सिकाउने थलोको रूपमा विकास भएको र सोही अनुसार विद्यार्थीले के सिक्ने भन्ने कुरा प्रधानता हुने बताएका थिए । उनले राष्ट्रकै सर्वोच्च सामुदायिक विद्यालय कालिका मानव ज्ञान मावि छनौट गर्ने विद्यार्थीलाई धेरै धेरै धन्यावाद दिँदै उनले सिकाई उपलब्धिको लागि कालिका एउटा ब्रान्डको रूपमा विकास भएको बताएका थिए।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कालिका मानव ज्ञान मावि सफलता चाहानेहरुको उत्कृष्ट गन्तव्यको रूपमा विकास हुँदै गएको भन्दै सफलता प्राप्तिको लागि कालिका रोज्ने विद्यार्थीहरूलाई हार्दिकतापूर्वक स्वागत रहेको बताएका थिए । उनले कालिकामा रकम अभाव, गरिबीको कारण कुनै पनि विद्यार्थी शिक्षाको न्यानो घामबाट वञ्चित हुने वातावरण कहिल्यै पनि नआउने प्रतिबद्धता समेत व्यक्त गरे।

दुई वटा सेक्टरमा आयोजना गरिएको कार्यक्रममा सेक्टर १ का व्यवस्थापन सङ्काय(बिहानी) इन्चार्ज शेरचन्द्र गिरी, दिवा इन्चार्ज सुदर्शन रेग्मी, सेक्टर २ विद्यालय इन्चार्ज कृष्ण गौतम, सहायक प्रधानाध्यापक लोकराज घिमिरे, पीताम्बर बन्जाडे, खेल प्रशिक्षक हरिष कुमार ओली, लेखा विषय विभाग प्रमुख लक्ष्मण प्रसाद गैरे , शिक्षक अभिभावक संघका अध्यक्ष केशवराज ज्ञवाली, लगायतले आ आफ्नो भनाई राखेका थिए ।

विद्यालयले आर्ट्स, फाइन आर्ट्स र कानुन का विद्यार्थीहरूको लागि साउन ४ गते, विज्ञान तथा प्राविधिक धार (कम्प्युटर ईन्जीनीयरिङ्ग)का विद्यार्थीको लागि बिहानी सत्रको साउन ५ गते बिहान ७ बजे र दिवा समूहको लागि सोही दिन १२ बजे अभिमुखीकरण कार्यक्रम राखेको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए। विद्यालयमा कक्षा ११ मा हाल १ हजार ९ सय ९६ जना विद्यार्थी भर्ना भएका छन्।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update