
राजनीतिमा कुनै आर्थिक श्रोत नभएका नेताहरू सत्तामा पुगेपछि अपारदर्शी जीवनशैली,आडम्बर र चमक दमक देख्दा प्रश्न उठिरहेको छ । तपाईँको श्रोत के छ ?
म आत्म निर्भर छु । मारिया मन्टेश्वरी स्कुल छ । पहिला केही कलेजमा पढाउने गर्थे । अहिले अध्ययन अनुसन्धानमा समय खर्चेको छु । हाम्रो व्यक्तिगत जीवनशैलीलाई मितव्ययी बनाएका छौँ । जनताका अगाडि कुनै आडम्बर र चमक दमक देखाउनु छैन । सेवा लिँदैनौँ । सेवा दिन्छौँ ।
रास्वपा सबै दलका अलग अलग स्कुलिङबाट आएकाहरूको फौजहरूको सङ्गठन हो । यसलाई कसरी व्यवस्थित गर्नुहुन्छ ?
यसभन्दा पहिला तपाईँले नै यो प्रश्न उठाउनु भएको थियो । त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । हामीले अहिले अन्तर घुलन, मैत्री भाव र हार्दिकता उमारेर पारिवारिक वातावरण निर्माणको लागि स्कुलिङ थालिसकेका छौँ । व्यक्तिगत घाटा नाफा भन्दा देश बनाउने समाज फेर्ने हुटहुटी भएकोले निस्वार्थ कार्यकर्तामा हार्दिकता पलाउने बेर हुँदैन ।
अहिलेसम्म हामी प्रणालीभन्दा पार्ट बलियो बनाउन तिर लाग्यौँ । तपाईँहरूले पनि पार्ट बलियो बनाउन तिर लाग्ने त होला? प्रणाली कमजोर छ । कमजोर प्रणाली भत्कियो भने लोकतन्त्र रहन्न । हजुर हामी सबै भत्किन्छौँ ? यसमा के योजना छ ?
प्रणाली बलियो बन्नुपर्छ । पार्ट भनेका पार्टीहरू हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो भएमा पार्टहरू स्वतः बलिया हुन्छन् । कमजोर हुनाले –र७ हजार राजावादी सडकमा देखिदा प्रणाली नै हल्लियो । हो, पार्टीहरूको आयतन जनमतबाट निर्धारण हुन्छ । अहिले हाम्रो आयतन चौथो छ । ८४ मा आयतन विस्तार गरेर पहिलो हुने हो ।
हामीले पार्ट बलियो बनाउँछौँ । त्योभन्दा प्रणालीको सबलीकरणको लागि विगतमा लामो लडाइँ लडेर स्थापित गरेका नेता र दलहरूसँग सहकार्य गर्छौँ । सबैसँग मिलेर संविधानमा संशोधन गरेर स्थानीय, प्रदेश सङ्घलाई चुस्त मितव्ययी र सुशासनमूलक बनाउँछौँ । हामी अब सिस्टममा जान्छौँ ।
हजुरहरूका कार्यकर्ताले ज्यादै आलोचना गर्छन् । आलोचनाबाट समाजमा विद्वेष जन्मन्छ । पूर्वाग्रह र प्रतिशोध जन्मन्छ । समाज खण्डित हुन्छ । यसलाई कसरी हेर्नु भएको छ?
विगतमा पार्टीहरू बिच शत्रुतापूर्ण सम्बन्ध राखियो । अब बदल्छौँ । हामीले शत्रु पार्टी हैन, बन्धु पार्टी भन्छौँ । स्वस्थ प्रतिस्पर्धा गर्छौँ ।
निर्वाचन आयोगलाई स्वायत्त शक्तिशाली बनाउँछौँ । सरकारले चुनाव गराउन निर्देशन दिने हैन । निर्वाचन आयोगले अवधि हेरेर आफै निर्वाचन गराउँछ ।
रवि लामिछानेको हस्ताक्षर अभियान र अर्थ सङ्कलन कहाँ पुग्यो ?
यो हस्ताक्षर अभियान हामीले सोच्न नसकेको परिणाम दिने गरी निकै प्रभावकारी भएको छ । यो राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा तीव्र रूपमा बढ्दै छ । केही दिन अघिसम्म २४ लाखले हस्ताक्षर गरे । ४६ लाख अर्थ सङ्कलन भयो । खर्च साठी लाख बराबर भयो । एक जना हस्ताक्षरकर्ता बराबर दुई रुपैयाँको भार पनि पनि परेको छैन । यो दबाब हैन । स्वतः स्फूर्त हो । यसबाट सरकारलाई नैतिक दबाब भएको छ ।
रवि लामिछाने कानुनी रूपमा अभियुक्त हुन् । एक जना अभियुक्तको पक्षमा न्यायालयलाई प्रभाव पार्ने गरी यसरी हस्ताक्षर चलाउनु मनासिब होला र ?
समान केशमा असमान व्यवहार भएको छ । सत्ता नजिकका नेताहरू थोरै धरौटी राखेर खुल्ला विचरण गरिरहेका छन् । यो प्रतिशोध हो । घोर अन्याय हो । आम जनताहरूले यही कुरा थाहा पाउनको लागि हस्ताक्षर सुरु गरेका हौँ । यसबाट हाम्रो जनमत ह्वात्तै बढेको छ । हामी पहिलो दल बन्दैछौं भन्ने प्रमाण हो ।
यसभन्दा पहिला ६४ सालमा माओवादीलाई जनताले पहिलो दल बनाएका हुन् । पछि तेस्रो भयो । तपाईँहरू पनि त त्यही होला ?
हामी उहाँहरूले लडेर ल्याएको लोकतन्त्रलाई सुदृढ र स्वच्छ बनाउँदै समृद्ध मुलुक बनाउन आएका छौँ । भीषण लडाइँमा घात( प्रतिघात, जय पराजय, सत्ता कब्जाको दुःस्वप्न,तदनुसारको रणनीति, विजय उन्माद र पराजयको पीडाले देखिएको असन्तुलित मनोविज्ञान हामीमा छैन ।
हामी सहज सम्हाल्छौँ । हामीसँग सत्ता सञ्चालनको लागि चाहिने विज्ञहरूको कमी छैन । हजारौँ विविध विषयका विज्ञ छन् । विज्ञहरू झोले हैन, स्वतन्त्र छन् । अर्को कुरा लोकतन्त्र हजार वर्ष रहन्छ । ५ वर्ष अति सानो अवधि हो । लोकतन्त्रमा अहिले हारे फेरि जित्न सकिन्छ । अबका दिनमा युवाहरू सत्तामा पुगेर न्यायिक सिस्टमको पक्षमा धेरै काम गर्छौँ । हाम्रो सभापति रवि लामिछाने यो विषयमा विज्ञ हुनुहुन्छ ।
हजुरहरूको पार्टी पहाडी खस आर्यका युवाको वर्चस्व छ । मधेस,थारु, जनजाति, महिला, अपाङ्गताको समावेशीकरणमा ध्यान छैन की कसो ?
हामी सङ्गठन निर्माणकै क्रममा छौँ । अहिले हामीसँग ५८ जनाको केन्द्रीय कार्य समिति छ । केन्द्रीय समिति १२१ जनाको हुन्छ । सबै वर्ग र समुदायको स्वामित्व बोध हुने गरी समावेश गर्दैछौं । यो त सबै अटाउने देखिने र जोडिने गरी राष्ट्रिय पार्टी बनिसक्यो ।
कम्युनिष्टहरुको पार्टीहरू भर्टिकल छन् । ज्यादै धेरै तह छन् । यहाँहरूको कति तह हुन्छ ?
हाम्रो भर्टिकल हैन, फ्ल्याट सिस्टम हो । केन्द्रमा छोटो सचिवालय र केन्द्रीय कमिटी हुन्छ । यसले नेताको मनोविज्ञानलाई शीतल र समतलीय राख्छ । अहङ्कारको अन्त्य हुन्छ । सेवा भाव जाग्छ ।
हामीले ३५ वर्ष नीति पन्छाएर नेता पुज्यौँ । तपाईँहरूको पनि त्यही नै होला ?
भर्टिकल पार्टीमा शक्ति केन्द्रमा हुन्छ । केन्द्रलाई खुसी पारेर सत्तामा पुग्ने मनोविज्ञान बन्छ । अहिले कङ्ग्रेस, एमाले माओवादीमा त्यही समस्या छ । त्यसैले त्यहाँ सधैँ पूजा आराधना चल्छ । नेता लोभी बन्दै जाँदा पार्टीमा विपन्न पन्छँदै र धनाढ्यको वर्चस्व बढ्दै छ ।
उच्चासन, फूल माला, गाडी घोडा, ठुलो घर, सुट बुटलाई इज्जतको सवाल बनाइन्छ । आडम्बर चमक दमकलाई शान मानिन्छ । स्थानीय कार्यकर्ता निरीह छन् । अधिकार छैन । चुनावमा उठ्छु भनेर चाहना राख्न सम्म पाउन्नन् । लेबी तिर्ने, समय समयमा चन्दा बटुल्ने काम बाहेक केही छैन । हामीमा शक्ति निक्षेप करण छ । माथि पूजा हैन तल रिझाउनुपर्छ । मन जित्नु पर्छ । नेता कार्यकर्ता भन्ने नै छैन । अधीनता छैन । स्वाधीन छौँ । सबैले सृजनशीलताको उपयोग गर्न सक्छौँ । अरूको निन्दा भन्दा आफ्नो विज्ञापन बढी गर्छौँ ।
सङ्घीय लोकतान्त्रिक प्रणाली बलियो बनाउने के योजना छ ?
दलहरूको प्रतिस्पर्धा एक प्रकारको खेल हो । यो खेल रेफ्री बिनाको खेल भएको छ । कमसेकम तपाईँहरूजस्ता लोकतान्त्रिक मूल्य मान्यता स्थापना गर्न भिड्दै रहेका नागरिक समाजका अगुवाहरू पार्टमा आस्था राखे पनि खेलमा विकृति देख्दा चुप लागेर हैन, बोल्नुपर्छ ।
सहजीकरण गर्नुपर्छ । तपाईँहरूको तटस्थ पहलकदमीबाट प्रणाली बलियो हुन्छ । यसबाट दलहरूलाई दिशा निर्दोष हुन्छ । हामी तपाईँहरूको विचार आस्थाको कदर गर्दै प्रणालीगत सुदृढीकरण, सिस्टम निर्माण र स्थापना गरी लोकतन्त्रलाई बलियो बनाउँछौँ ।
अन्त्यमा सङ्घीयता, धर्म निरपेक्षताको विषयमा यहाँहरूको के मत छ ?
सङ्घ र प्रदेशमा कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री बनाउनु पर्छ । जननिर्वाचितहरुले कानुन बनाउने योग्यहरूले राज्य सञ्चालन गर्ने हो । राज्य कुनै वर्ग, जाति, धर्म, क्षेत्रको पक्षमा रहन्न । रास्वपा हिन्दुका नाममा, खस आर्यका नाममा मधेसको नाममा, थारुको नाममा, जनजातिका नाममा सर्वहाराका नाममा भोट मागेर सत्तामा जाने गर्दैन ।
राज्यका दृष्टिमा सबै धर्म, वर्ग र समुदायहरू बराबर हुन् । हाम्रो सशक्त उपस्थितिले सबै वर्ग र समुदायको पहुँच र प्रतिनिधित्व बलियो बनाउँछ । संविधान अपरिवर्तनीय हैन । यो लचक संविधान हो । यसलाई व्यापक परिमार्जन गर्नुपर्छ ।
यसलाई निरन्तर संशोधन गर्दै उत्पादन अवरोध हटाउँदै असन्तोष शमन गर्दै अघि बढ्छ । एक पटक बिग्रेर भ्रष्टहरूको अखडा भएको सत्तालाई हाम्रो हातमा दिएर स्वच्छ, सुशासनले युक्त स्वर्णिम नेपाल बनाउने अवसर प्रदान गर्न विनयपूर्वक अनुरोध छ ।