
बुटवल - नेकपा एमाले निकटको मुक्ति समाज नेपाल रुपन्देहीले दलत समुदायका बालबालिकाहरुलाई छात्रबृतिको कार्यान्वयन गर्न ज्ञापन पत्र बुझाएको छ । समाजले शिक्षा विकास समन्वय इकाई, रुपन्देहीका प्रमुख माधव बन्जाडे र प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनाललाई ज्ञापनपत्र बुझाउँदै संविधान र शिक्षा ऐनअनुसार दलित समुदायका बालबालिकालाई छात्रवृत्ति, विशेष छुट तथा अवसर सुनिश्चित गरी कार्यान्वयन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
एसईइ २०८१ को नतिजा सार्वजनिक भएसँगै कक्षा ११ मा भर्ना प्रक्रिया तीव्र गतिमा भइरहेको अवस्थामा दलित विद्यार्थीका लागि संविधान प्रदत्त अधिकारअनुसार छात्रवृत्तिको सुनिश्चितता गर्न समाजले ध्यानआर्कषण गराएको छ। भर्खर कक्षा ११मा भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरी छात्रबृति दिन माग गर्दै ज्ञापनपत्र बुझाएको समाज जिल्ला समिति रुपन्देहीका अध्यक्ष विकास गहतराजले बताए ।
शिक्षा ऐन संशोधन, २०७३ ले संस्थागत विद्यालयहरुका कक्षा ११ र १२ मा १० प्रतिशत सिट दलित, गरिव, र विपन्न समुदायका विद्यार्थीका लागि निःशुल्क पढाइको व्यवस्था गरेको सबैविदितै भएको उल्लेख गर्दै यसतर्फ शिक्षा समन्वय कार्यालय र प्याप्सनको ध्यानआकृषण गराइएको अध्यक्ष गहतराजले बताए । ‘
'नेपालको कुल जनसंख्यको १४ प्रतिशत जनसंख्या रहेको दलित समुदायको शैक्षिक तथ्यांक हेर्दा निकै नै कमजोर देखिन्छ । अझै पनि दलित समुदायको साक्षरदर निकै कम रहेको छ। तसर्थ दलित समुदायको शैक्षिक विकासका निम्ति नेपाल सरकारले सुनिश्चित गरेका छात्रवृत्ति उक्त समुदायका विद्यार्थीहरुलाई प्रदान गरि समाजिक न्याय र रुपान्तरणमा सहजीकरण गरिदिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु’ ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्र बुझ्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।