
बुटवल - लुम्बिनी इन्टिग्रेटेड एकेडेमी र नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीको आयोजनामा विहिबार लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बुटवलमा पछिल्लो समय केही रक्त समूहको रगत अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बी.ए.एल.एल.बी. र बि.एस्सी.फरेष्ट्रीमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीहरुबाट ३१ पिन्ट रगत संकलन भयो ।
रक्तदान कार्यक्रममा शुभकामना व्यक्त गर्दै तिलोत्तमा नगरपालिका वडा नं.३ का अध्यक्ष कल्याण पौडेलले कलेजले शैक्षिक गतिविधिसँगै सामाजिक हितको कार्यक्रम गरिरहेकोमा प्रशंसा व्यक्त गर्दै स्थानीय तहबाट आवश्यक साथसहयोग हुने बताए।
कार्यक्रममा रक्तदाताहरुलाई नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीका अध्यक्ष अशेष सिलवालबाट प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा बोल्दै एकेडेमीका कोअर्डिनेटर रामचन्द्र श्रेष्ठले कलेज नयाँ इन्टेकको भर्नाको क्रममा रहेको र नयाँ भर्नासँगै रक्तदाता विद्यार्थीको सङ्ख्या बढ्दै जाने उल्लेख गरे ।
लुम्बिनी इन्टिग्रेटेड एकेडेमी लुम्बिनी प्रदेशमा बि.एस्सी.फरेष्ट्री अध्यापन गर्ने एकमात्र कलेज हो । एकेडेमीमा पूर्वाञ्चल विश्वविद्यालयको बी.ए.एल.एल.बी.पनि अध्यापन हुन्छ ।