
बुटवल– रूपन्देहीमा एउटा यस्तो परिवार छ, सिंगो परिवार नै सर्प संरक्षणमा खटिन्छन् । सर्पको संरक्षणमा किन भन्ने प्रश्न मनमा उब्जनसक्छ तर, उनीहरु भन्छन् –‘पर्यावरण, पारिस्थीतिकिय प्रणालीका लागि पनि सर्प जोगाउनुपर्छ।’ करिव २ दशकदेखि सर्प संरक्षणमा खटिने परिवार हो रुपन्देही तिलोत्तमा १ निवासी खिमलाल पाण्डे।
शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष पाण्डे सहित उनका २ छोराहरु सर्प संरक्षणको अभियानमा संलग्न छन् । खीमलाल रुपन्देहीमै सबैभन्दा पहिला सर्प संरक्षणको अभियानमा लागेका व्यक्ति हुन् । उनी झन्डै दुई दशकदेखि सर्प उद्धार र संरक्षणमा खटिएका छन् ।
बुबाले सर्पको उद्धार गरी संरक्षणमा लागेको देखेकै कारण उनका दुई छोराहरु विशाल र विश्वास पनि प्रभावित भए । अहिले खिमलाल पाण्डे भन्दा बढि सक्रिय विशाल छन् । ३१ बर्षिय बिशाल ५ बर्षयता रुपन्देहीमा सर्पको संरक्षणमा परिचित छन् । बिशेष गरी गर्मि र बर्षायाममा सर्पका कारण मानिसहरुले अकालमा ज्यान गुमाइरहेका हुन्छन् ।
घरभित्र सर्प देख्नासाथ मानिसहरु डराउँछन र सर्प मार्छन् । तर, उद्धारकर्ताकै कारण पछिल्लो समय सर्प मारिनेक्रम घटेको पनि छ । हो, सर्पको जीवन जोगाएर इकोसिस्टमलाई बलियो बनाउने कामममा बिशाल सहितको परिवार खटिएका छन् । बिशालल असार २२, २३ र २४ गते रूपन्देही तिलोत्तमा स्थित एक घरबाट २३ वटा गोमन (कोब्रा) सर्पको बच्चा (बेबी कोब्रा) को उद्धार गरेपछि थप चर्चामा आएका छन् ।
३१ वर्षीय विशालले सर्प संरक्षणबाटै परिचय बनाउन पाएकोमा खुशि व्यक्त गरे । विशाल पहिला भने सर्प संरक्षणमा समर्पित भएर लाग्ने सपना देखेका थिएनन् । त्यसैले उनी केही बर्ष जापान पनि गए । जब विशाल जापान बसेर फर्के, त्यसपछि बुबाको जिम्मेवारीलाई पूर्ण रूपमा सम्हाल्ने निधोमा पुगे। ‘पहिले बुबालाई नै खोज्थेँ, साढे ३ वर्षदेखि सर्पको उद्धारमा म र भाइ लागेका छौँ,’ उनले भने ।
विशाललाई भाइ विश्वासले पनि उत्तिकै साथ दिएका छन्। पाण्डे परिवारले असार २२, २३ र २४ गते रुपन्देहीको तिलोत्तमा–५, नयाँमिलमा एकै घरबाट २३ वटा कमन कोब्राका बच्चा (बेबी कोब्रा) को उद्धार गरेर नयाँ रेकर्ड कायम गरेका छन् ।
विशाललाई भाइ विश्वासले पनि उत्तिकै साथ दिएका छन्। पाण्डे परिवारले असार २२, २३ र २४ गते रुपन्देहीको तिलोत्तमा–५, नयाँमिलमा एकै घरबाट २३ वटा कमन कोब्राका बच्चा (बेबी कोब्रा) को उद्धार गरेर नयाँ रेकर्ड कायम गरेका छन् ।
घरधनी दिलराम अर्याललाई भान्सामा चिया पकाउँदै गर्दा कोब्राको बच्चाले डसेपछि कोब्रा भएको पत्ता लागेको थियो । अर्याललाई सर्पले टोकेपछि श्रीमती सरस्वती अर्यालले तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएर बचाए।
घरमा सर्प देखिएपछि बेलुका ७ बजेतिर सर्प उद्धारकर्ता विशाल पाण्डे पु्गेर ढोकामा रहेको कोब्राको उद्धार गरेका थिए ।
‘सुरुमा एउटा सर्पको उद्धार गरे पनि गल्ली र भान्सासम्म पुग्दा तीनवटा सर्प सल्बल्लाएको देखेँ,’ विशालले भने, ‘त्यसपछि भाइ विश्वासलाई बो लाएर उद्धार गरेको हुँ।’ उनका अनुसार भान्छा कोठाको फुटेको भागमा बसेर कोब्राले फुल पारेकाले त्यही बच्चा जन्मेको हो।
विशालको समूहले पहिलो दिन ५ वटा र दोस्रो दिन १२ र तेस्रो दिन ६ वटा गरी २३ वटा सर्प फेला पारेर उद्धार गरी जंगलमा लगेर छाडेको हो । यहाँ माउ सर्प भने भेटिएन । ‘कोब्राको माउ नै आहारा खोज्दै घरमा आएको देखियो, यहीँ फुल पारेकाले यति संख्यामा कोब्रा भेटिनु सामान्य नै हो,’ विशालले भने, ‘तर एकैचोटि एउटै घरमा भेटिएको यो दुर्लभ संयोग हो।’ विशालका बुवा खिमलालले पनि १३ वर्षअघि सोही घरबाट ११ वटा कोब्राका बच्चाको उद्धार गरेका थिए। घरधनी दिलराम अर्यालको स्वास्थ्य अवस्था अहिले अहिले सामान्य छ ।
एउटै घरबाट यति ठूलो संख्यामा विषालु सर्पका बच्चा भेटिनुलाई दुर्लभ मानिएको छ । ‘सम्भवत नेपालमै यति संख्यामा घरमा सर्प भेटिएको पहिलो घटना हो,’ एक दशकदेखि सर्पउद्धारमा संलग्न खीमलालले भने। उनले सर्प प्रकृतिको संरक्षक र वातावरण सन्तुलनका लागि समेत आवश्यक भएकाले यसको संरक्षणमा आफ्नो परिवार नै लागेको सुनाए। पछिल्लो समय उनले दुई छोराहरूलाई सर्प उद्धारको जिम्मा दिएका छन्।
‘मान्छे बचाउने र सर्प पनि बचाउने अभियानमा छौं, आफ्नो ज्यानको सुरक्षा समेत जोडिन्छ,’ उनले भने, ‘पछिल्लो समय छोराहरुलाई सर्प उद्धारमा खटिन्छन्।’ उनले पुस्तान्तरण गरेको समेत बताए ।
त्यसो त विशालले २३ वटा कोब्रा लगत्तै पनि बुटवल–११, देवसिद्धचोकस्थित शान्ति घिमिरेको घरमा पनि एकै दिन ८ वटा गोमन सर्पको उद्धार गरे । यति मात्रै होइन देवदह नगरपालिका–८, टटेरामा प्रेम खत्रीको घरमा मंगलबार ९ वटा गोमन सर्प भेटिए । तिनको पनि उद्धार गरी जंगलमा छाडेको विशालले बताए। उनका अनुसार असार महिनामा मात्रै विशालले २ सय सर्पको उद्धार गरी संरक्षण गरेका छन् ।
बिहानमा जापानिज भाषा कक्षा समेत पढाउने विशाल वर्षायाम सुरु भएदेखि कात्तिक मंसिरसम्म सर्प उद्धारमै खटिन्छन् । ‘सर्प पनि हामीजस्तै प्राणी हो, यसको संरक्षण हामीले नै गनुृपर्छ’ विशाल भन्छन्। उनले सर्पको उद्धार र मान्छेलाई बचाउन सकेकोमा निकै गर्भ लाग्ने बताए। ‘सर्प उद्धार जोखिमको काम हो, तर मान्छेहरू डराइरहेको बेला उद्धार गरेर सर्पलाई जंगलमा छोड्दा छुट्टै आनन्द आउँछ,’ उनले भने।
त्यसो त पछिल्लो समय तराईका जिल्लाहरुमा सर्पको बिगबिगी नै छ। सर्पदंशका कारण मानिसहरुले अकालमै ज्यान गुमाउनुपरिरहेको छ। तर सर्पका बारेमा मानिसहरुमा शिक्षाको कमीका कारण पनि मृत्यु हुने गरेको सर्पसंरक्षणकर्मी कमल देवकोटा बताउँछन् ।
उनले सर्पको विषय स्थानीय सरकारको प्राथमिकतामा पर्न नसकेको बताए । ‘यो स्थानीय सरकारको प्राथमिकतामा पर्नुपर्ने विषय हो, स्वास्थ्य, वातावरण र प्राणी संरक्षणको बिषय पनि हो,’ उनले भने, ‘सर्प संरक्षणबारे मानिसहरुमा सचेतना जरुरी छ।’ उनले सर्पले आफू असुरक्षित भएको ठानेपछि मात्रै मान्छेलाई डस्ने बताए ।
सर्पको संरक्षण किन गर्ने ?
आगो र सर्प उस्तै हुन्। कतिपय मानिसहरु सर्प भन्ने बित्तिकै डराउने वा घृणा गर्ने गरेको पाइन्छ । आगोलाई राम्रोसँग प्रयोग गर्न जानेन भने त्यो विध्वंसकारी हुन्छ ।
सर्पलाई हानि नोक्सानी पुर्याएन भने तिनीहरूले केही गर्दैनन् । खतरा महसुस नगरेसम्म सर्पले आक्रमण गर्दैनन् । सर्पका १५ प्रतिशत भन्दा कम प्रजाति विषालु छन्। विषालु सर्पमध्ये पनि अतिविषालु र कम विषालु प्रजातिका सर्प छन्।
संसारभरि पाँच हजारभन्दा बढी प्रजातिका सर्पहरू छन्। नेपालमा अहिलेसम्म ८० प्रजातिका सर्पहरू फेला परेका छन्। तर पर्याप्त अध्ययन भए नेपालमा पाइने सर्पका प्रजाति लगभग डेढ सय पुग्न सक्ने आकलन पनि छ । सर्पले पर्यावरणचक्रलाई सन्तुलित बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन्। अनि मान्छेको ज्यान जोगाउने महत्वपूर्ण औषधिहरू पनि सर्पको विषबाट बन्छन्। सर्पका कारण प्रकृतिलाई फाइदा छ, त्यो भनेको मानिसलाई पनि फाइदा हो ।
अहिलेसम्म कुनै पनि शाकाहारी सर्प छैनन्। यिनीहरूले अरू जीवजन्तुलाई जिउँदै मारेर खाने गर्छन् । प्रकृतिमा चाहिनेभन्दा बढी हुने कतिपय जीवजन्तुको सङ्ख्या घटाउन सर्पले भूमिका खेल्छन् । वैज्ञानिकहरूले ५० प्रतिशतसम्म अन्न मुसाका कारण नष्ट हुने आकलन गरेका छन्।
एक वर्षमा एक जोडी मुसाबाट १५ सय मुसा जन्मिन्छन्। मुसाको नियन्त्रणमा सर्पले धेरै ठूलो भूमिका खेलेको हुन्छ। धेरै सर्पको मुख्य आहारा मुसा हो। दुलोबाहिर रहेका मुसालाई मानिसले मार्न सक्लान् तर सर्पले दुलोभित्र पसेर खोजी खोजी मुसाहरू मार्छ ।
सानोमा भ्यागुतादेखि लिएर ठूलोमा बँदेल र चित्तलसम्मलाई अजिङ्गर सर्पले खाने गर्छन्। सर्पले नखाने जीव नै छैन। सर्पले सर्प नै खाने पनि हुन्छ । राजगोमन भन्ने सर्पको मुख्य आहारा नै सर्प हो । सर्प आफूपनि अरू जीवजन्तुको आहारा बन्छ । थुप्रै चराहरूले सर्प खान्छन्। चील, लाटोकोसेरो, मयूर, जङ्गली बिरालो र कस्तुरी मृगहरूले सर्प खान्छन्। मरेको सर्प गिद्ध र स्यालले पनि खान्छ ।
हाम्रो आधुनिक उपचारपद्धतिमा पनि विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेका र थोरैमात्रै नकारात्मक प्रभाव पार्ने अचूक औषधिहरू सर्पबाट बन्छन्। सर्पदंशकै उपचारमा प्रयोग हुने एन्टी–स्नेक भेनम पनि सर्पको विषबाट बनाइन्छ । क्यान्सर भएका बिरामीको दुखाइ कम गर्ने औषधि सर्पको विषबाट बन्छ ।
पहिला मोर्फिन भन्ने अफिमबाट बनेको औषधि क्यान्सर र ट्यूमरबाट हुने दुखाइ कम गर्न प्रयोग गरिन्थ्यो। त्यो दम भएको बिरामीलाई दिनुहुँदैन। - खस्याैली साप्ताहिकबाट
पत्रिका हेर्नुहाेस्