Lumbini Rise
प्राविधिक शिक्षाले रोजगारी सुनिश्चित गर्छ, खाली बस्नुपर्दैन : मुख्यमन्त्री आचार्य

रुपन्देही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता दिने भएकाले यसतर्फ शिक्षालयहरूले थप प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका छन् ।

कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रुपन्देहीको शुक्रबार अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले प्राविधिक धारतर्फ विद्यार्थीहरूलाई आकर्षित गर्न सकिनेगरी कार्यक्रम र वातावरण तयार गर्न शिक्षालयहरूलाई आह्वान गरेका हुन्।

‘प्राविधिक विषयको अध्ययन गरेपछि बेरोजगार बस्नुपर्दैन । कसैले रोजगारी पाउँछ, कसैले आफैँ उद्यम सुरु गर्छ । त्यसैले विद्यार्थीहरूलाई सिप सिकाउने कार्यमा शिक्षालयहरू अझ सक्रिय हुन जरुरी छ,झ उनले भने–‘सिपयुक्त व्यक्ति कहिल्यै भौतारिरहनु पर्दैन । ऊ जुनसुकै स्थानमा भए पनि पेशा, व्यवसाय वा उद्यममार्फत जीवन निर्वाह गर्न सक्षम हुन्छ ।’

मुख्यमन्त्री आचार्यले शिक्षालयहरूलाई अध्यापन गराइने विषय र हासिल गरिएका उपलब्धिबारे व्यापक प्रचारप्रसार गर्न निर्देशन दिए । ‘हामीले गरेका कामबारे जनतालाई जानकारी दिन जरूरी छ । विद्यार्थीहरूलाई आकर्षित गर्न प्रचारप्रसार मुख्य माध्यम हो’ उनले भने । 

उनले प्रदेश सरकारले प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षालयहरूलाई पनि सोही अनुरूप शिक्षण प्रक्रियालाई तीव्र बनाउन आग्रह गरे । शिक्षालयका प्रमुख नवीन किशोर गैह्रेले पछिल्ला दिनमा विद्यार्थी संख्या घट्दै गएको र विद्यार्थीलाई थप आकर्षित गर्नेगरी भूमिका बढाउन थालिएको जानकारी दिए ।

शिक्षालयका विद्यार्थीहरूले प्रयोगात्मक कक्षामा दुनाटपरी बनाउने औजारदेखि पनिर च्याप्ने उपकरणसम्मको निर्माण गरेका छन् । तयार पारिएका उपकरणको बारेमा अनुगमनको क्रममा चर्चा गरिएको थियो ।

मुख्यमन्त्री आचार्यले शिक्षालयको निरीक्षण गर्दै अध्ययन–अध्यापनलाई अझ प्रभावकारी बनाउन, विद्यार्थीको मागअनुसार नयाँ विषयहरू थप गर्ने र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनतर्फ अघि बढ्नुपर्नेमा जोड दिए । 

शिक्षालयमा विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, यांत्रिक इन्जिनियरिङ, रेफ्रिजेरेसन तथा एयर कन्डिसनिङ, सूचना प्रविधि इन्जिनियरिङ लगायत बिषयमा लामो तथा अवधिको पढाइ हुँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update