
रुपन्देही– लुम्बिनी विकास कोषका कर्मचारीहरुले आफ्ना माग पूरा भएपछि आन्दोलन फिर्ता गरेका छन् । लुम्बिनी विकास कोष कर्मचारी युनियनले कोष कार्यालयका विभिन्न शाखामा लगाएको ताला २७ दिनपछि सोमबार खोलेर कामकाज सुरु गरेका हुन् ।
काठमाडौंस्थित पर्यटन मन्त्रालयमा भएको वार्ता सकारात्मक परिणाम दिनेतर्फ अग्रसर भएकाले कार्यालयमा लगाएको तालाबन्दी खोलेर कामकाज सुरु गरेको कर्मचारी युनियनका उपाध्यक्ष सलाउद्दीन मुसलमानले बताए ।
सोमबार ताला खुलेपनि मंगलबारबाट नियमित काम सुरु भएको छ। तालाबन्दी खोलिएपछि लामो समयदेखि रोकिएको कोषको नियमित काम सुरु भएको कोषका सदस्य–सचिव सानुराजा शाक्यले बताए ।
कर्मचारी युनियनले साउन ८ गतेबाट विरोध कार्यक्रम सुरु गरेर साउन १३ गतेदेखि लुम्बिनी विकास कोष प्रधान कार्यालयमा तालाबन्दी गरेर कामकाज ठप्प पारेका थिए । संस्कृति मन्त्रालयद्वारा सहसचिव सुरेशसुरश श्रेष्ठको संयोजकत्वमा गठित ३ सदस्यीय समिति र कर्मचारी युनियनको टोलीबीच साउन ३० मा सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा भएको वार्तामा सहमतिको खाका तयार भएको थियो ।
कर्मचारी युनियनले संचित बिदा, कोष भत्ता र महँगी भत्ता पाउनु पर्ने तथा सेवा करारमा रहेका कर्मचारीको दरबन्दी ९ओएन्डएम० स्विकृत गराई स्थायी गरिनु पर्ने मागको सन्दर्भ अर्थ मन्त्रालयसँग सम्बन्धित हुँदा कोषको बोर्ड बैठकले निर्णय गरेर शुक्रबार अर्थ मन्त्रालयमा पठाइएको छ ।
त्यस्तै ०७९ कर्मचारी विनियमावली संशोधन गरेर उमेरहद लागू नहुने गरी सीमित प्रतियोगितात्मक परीक्षाबाट हाल सेवा करारमा रहेका सबै कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने मागका सन्दर्भमा उपाध्यक्ष ल्याहारक्याल लामाको संयोजकत्वमा कानुनी सल्लाहकार सहितको ५ सदस्सीय विनियमावली संशोधन उपसमिति बनाई काम थालिएको छ ।