
लुम्बिनी : लुम्बिनी प्रदेशको मात्रै होईन, बुद्धजन्मस्थल लुम्बिनी नेपालकै अमूल्य निधि हो । विश्वभरका बौद्धमार्गीहरुका लागि जीवनमा एकपटक आउनैपर्ने तीर्थस्थल हो भने शान्तिप्रेमीहरुको पनि रोजाईँको स्थल हो लुम्बिनी ।
बुद्धिजम्को उत्पत्ती, शान्तिको मुहान र बुद्ध शिक्षालाई व्यवहारिक रुपमा ग्रहण गर्ने पवित्र स्थलका रुपमा लुम्बिनीलाई लिईन्छ । तर, अद्धितिय रुपमा महत्व बोकेको पुरातात्विक, धार्मिक र ऐतिहासिक रुपमा महत्वपूर्ण लुम्बिनीमा पर्यटकहरुको घुईँचो लाग्नै सकेको छैन ।
कोभिड २०१९ ले सुस्ताएको पर्यटकहरुको संख्यामा विस्तारै उकालो त लागेको छ । तर, लुम्बिनीमा अझै पनि पर्यटकमैत्री वातावरण बन्न सकेको छैन । संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालय अन्तर्गतको लुम्बिनी विकास कोष पनि आफै रुमलिएको जस्तो देखिन्छ ।
मुलुक संघीय संरचनामा छ । कोषको ऐनले संघीय संरचनालाई चिनेको छैन । जसका कारण स्थानीय जनप्रतिनिधि कोषका गतिविधिसँग जोडिएका छैनन् । कोषको ११ सय ५५ विगाहा क्षेत्रफल भित्र र वाहिरी वातावरण भिन्न छ । ‘पर्खालभित्रको लुम्बिनी र पर्खाल बाहिरको लुम्बिनी’ भन्ने स्थानीयहरुको आरोपलाई खण्डित गर्ने गरी काम हुन सकेको छैन् ।
लुम्बिनीका स्थानीयहरु विद्रोही र कोष सरकारपक्ष जस्तो भएर बर्षोदेखि मनमुटाव चलिरहेको छ । विश्सम्पदा सूचीमा सुचीकृत लुम्बिनीको धार्मिक महिमा मात्रै होईन पुरातात्विक रुपमा समेत यसको ऐतिहासिकता लोभलाग्दो नै छ । तर, यस्तो अमूल्य सम्पत्तिलाई भने हामीले वेवास्ता गरिरहेका छौं । कहिले राजनीतिक स्वार्थमा त कहिले धार्मिक स्वार्थमा ।
विगत डेढ बर्षयता लुम्बिनीमा धार्मिक गतिविधि बढिरहेको छ । यसले धार्मिक पर्यटक बृद्धि गरेको देखिन्छ । सन् २०२४ मा भारत सहित ११२ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेको तथ्यांक छ । लुम्बिनीमा आन्तरीक र बाह्य पर्यटक गरी २०२४ मा ११ लाख ७२ हजार ३०४ जना पर्यटकले लुम्बिनी भ्रमण गरे । सन् २०२३ मा ९ लाख ९८ हजार ९३८ पर्यटक भित्रिएकोमा २०२४ मा १७.३६ प्रतिशत बृद्धि भएको हो । सन् २०२४ मा ७ लाख ५८ हजार ९९० जना आन्तरीक पर्यटकले लुम्बिनी भ्रमण गर्दा १ लाख ११ हजार ४ सय २५ जना तेस्रो मुलुकका (पासपोर्टधारी) पर्यटक लुम्बिनी भित्रिए । यसमध्ये भारतबाट यो वर्ष बृद्धि भई ३ लाख ८ सय ८९ पर्यटकले भ्रमण गरे ।
सन् २०२३ मा भारतसहित तेस्रो मुलुकका ३ लाख ४२ हजार ७२० विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषको सूचना शाखाको तथ्यांकमा छ । यो वर्ष नेपाली, भारतीय र विदेशी समेत गरी ९ लाख ९८ हजार ९३८ जनाले भ्रमण गरेका थिए । जबकी सन् २०२२ मा ९ लाख ३ हजार ८८३ जनाले लुम्बिनी भ्रमण गरेका थिए । यस हिसाबले क्रमश पर्यटकको संख्या बृद्धि भइरहेको तथ्यांकले देखाएको छ । यति हुँदा हुँदै पनि यो पर्यटक संख्या उत्साहजनक भने होईन ।
लयमा फर्कदै, धार्मिक कार्यक्रम बढ्दै
लुम्बिनीको अन्तर्राष्ट्रियकरण भइरहेको बेला विश्व चर्चित पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२५ मा घुम्नैपर्ने उत्कृष्ट ५२ पर्यटकीय गन्तव्यमध्येमा लुम्बिनीलाई नवौ सूचीमा राख्यो ।
द न्यूयोर्क टाईम्सले गत मंसिरमा उद्घाटन भएको थाउजेन्ड टेम्पल (हजार बुद्धविहार) को तस्विर राखेर लुम्बिनीलाई विश्वका उत्कृष्ट ५२ स्थानमध्ये नवौं स्थानको सूची सार्वजनिक गरेको हो । टपटेन स्थानमै राखेर स्न २०२५ घुम्नैपर्ने स्थानका रुपमा लुम्बिनीलाई समावेश गर्दा यसले अन्र्तराष्ट्रिय पर्यटकलाई भ्रमणका लालायित तुल्याउने विश्वास गरिएको छ ।
पत्रिकाले हजारौं वर्षअघि लुम्बिनीको सुन्दर बगैचामा मायादेवी रानीले सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गर्दै प्राचीन भग्नावशेष र समकालीन बौद्ध स्थलहरुलाई जीवन्त देख्न पाइने लेखेको छ ।
द न्यूयोर्कटाइम्सको टपनाईनमा लुम्बिनीलाई घुम्नैपर्ने सूचीमा राख्नुमा नोभेम्बरमा थाउजेन्ड टेम्पल उद्घाटन, त्यसपछि भएको मोन्लम पूजा, त्रिपिटक पाठ समारोह, ५ सय जनाको प्रवज्या जस्ता कार्यक्रमले लुम्बिनीमा धार्मिक तीर्थयात्री आर्कषित भएका छन् ।
यसका साथै मायादेवी मन्दिर परिसरमा गत मंसिर २३ गतेदेखि पुस २ गतेसम्म १० दिने शाक्यमोन्लम पूजा भयो । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा ८ वर्षपछि लुम्बिनी विकास कोषको पहलमा भएको थियो । १० दिनसम्म मायादेवी मन्दिर परिसरमा करिव ७ हजार लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरुले पूजा गरे । ४१ औं शाक्य गोङ्मा ट्रिछेन रिन्पोछेको उपस्थितीमा गरिएको शाक्यमोन्लमले लुम्बिनीमा आध्यात्मिक गतिवधि बढायो । यसअघि मंसिर ७ गते लुम्बिनीस्थित पश्चिम विहारमा पाल थुव्तेन सेडुप लिङ गुम्बाद्धारा निर्मित हजार बुद्ध मन्दिरमा एक हप्तासम्म पूजा चलेको थियो ।
सन् २०२३ को अक्टोबरमा संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमण गरेका थिए । गुटरेसले बुद्धजन्मस्थल लुम्बिनीबाट रुस–युक्रेन द्धन्द्धलाई लक्षित गर्दै शान्तिका लागि आह्वान समेत गरेँ । महासचिव गुटरेसको भ्रमणले विश्वमा एउटा सकरात्मक सन्देश प्रवाह भयो । यसका साथै सन् २०२४ मा श्रीलंकाका पूर्व राष्ट्रपतीद्धय रनिल विक्रमासिंघे र गोटावाय राजापाक्षेले लुम्बिनी भ्रमण गरेका छन ।
यसका साथै चिनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुईफेंङ, चिनियाँ उपमन्त्री वाङ रुईजुन, म्यानमार सरकारका संस्कृती तथा धार्मिक मामिला मन्त्री यूटिन ओलुयिन, भुटान सरकारका गृहसचिव सोनाम वाङगेलले लुम्बिनी भ्रमण गर्दै दुई देशको सहकार्य र लुम्बिनीको विकासबारे चासो राखे ।
यसैगरी नेपालका लागि जापानी रादूत किकुता युताका, भारतीय राजदुत नविन श्रीवास्तव, श्रीलंकाका राजदूत सुदर्शना पाथिराना, चिनिया राजदुत चेन सोङ्म, चिनियाँ चर्चित हलिउड स्टार जेट्ली, संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्लाह हल साहम्सी, नेपालका लागि अमेरेकी राजदुत डिन थम्सनले लुम्बिनीको प्रचार प्रसारमा सहकार्य गर्ने आश्वासन दिलाएका थिए । यी वाहेक म्यानमारका प्रसिद्ध तथा सर्वोच्च बौद्ध धर्म गुरु फा–उक सयाडो भदन्त अचिन्नाले बुद्धजन्मस्थल लुम्बिनी सहित प्राचिन कपिलबस्तुको भ्रमण गरे । लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्नमा गत चैतमा विभिन्न १८ देशका गैरआवासिय राजदुत र महावाणिज्यदुतहरुको लुम्बिनी कन्क्लेभ गरिएको थियो ।
यसैगरी प्रधानमन्त्री केपि शर्मा ओली, संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डे लुम्बिनी आएर यसको विकासका बारेमा चासो चिन्ता व्यक्त गर्ने गरेका छन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री, पर्यटनमन्त्री, विभिन्न संसदीय समितिहरुले समेत लुम्बिनीबारे चासो चिन्ता व्यक्त गर्दै भ्रमण गर्ने गरेका छन्।
आध्यात्मिक गतिविधि बढ्दा लुम्बिनीका होटल व्यवसायीहरु उत्साही हुन्छन् । तर, धार्मिक गतिविधिमा पछिल्ला दिनमा होटल व्यवसायी संघ लुम्बिनीले गर्ने आन्दोलनले पनि प्रभाव पारिरहेको छ । गुरुयोजना क्षेत्रका ४२ वटा प्लटमा बनाइएका गुम्बा विहारहरुमा तीर्थयात्री राखिएको भन्दै होटल व्यवसायीहरु बेला बेलामा आन्दोलीत हुँदै आएका छन् । यस्तै स्थानीयहरुले पनि विभिन्न कारण देखाउँदै अवरोध गर्ने गरेका छन् । यी क्रियाकलापका कारण लुम्बिनीमा पर्यटकमैत्री वातावरण बनेको छैन । पर्यटकहरु सिधै लुम्बिनी प्रवेश गर्ने र भैरहवा बुटवल गएर बास बस्ने अवस्था देखा परेको छ । यसतर्फ स्थानीयहरु सचेत हुन आवश्यक छ ।
गुरुयोजनाको काम अधुरै
प्रा. केन्जो टांगेद्वारा तयार पारिएको लुम्बिनी गुरुयोजना नेपाल सरकार तथा संयुक्त राष्ट्र संघबाट सन् १९७८ (विस २०३५) मा पारित भएर लागू भइरहेको छ । गुरुयोजना क्षेत्रले ३ वर्गमाइल क्षेत्रफल ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक १ वर्ग माइलका ३ क्षेत्रहरूमा विभाजित गरी पैदल बाटो र केन्द्रीय नहरले जोडिएको छ । ती क्षेत्रहरु (क) पवित्र उद्यान (ख) विहार क्षेत्र (ग) नयाँ लुम्बिनी ग्राम हुन् । तर, गुरुयोजनाको काम भने अझै अधुरै छ । टांगेले १७ वर्षमा सक्नेगरी ६ वर्ष लगाएर बनाएको ‘मास्टर प्लान’ ४७ वर्षमा मुस्किलले ८७ प्रतिशत मात्रै पूरा भएको छ । सरकारले आर्थिक वर्ष २०७०/०७१ मा यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सारेको थियो ।
वि.सं. २०४२ (सन् १९८५)मा लुम्बिनी विकास कोष ऐनद्वारा लुम्बिनी विकास कोष गठन भएपछि मात्र गुरूयोजनाको प्रक्रिया अघि बढेको थियो । कोषका अनुसार लुम्बिनीमा अहिलेसम्म ९ अर्ब रूपैयाँ खर्च भइसकेको छ भने गुरूयोजना पूर्ण गर्न अझै ४ अर्ब बजेट आवश्यक पर्ने देखिन्छ ।
गुरुयोजनाको शुरुवातमा ५५ मिलिनियन अमेरिकी डलर आवश्यक पर्ने भनिएको थियो । पछिल्लो बर्ष सरकारले गुरुयोजनाको काम पूर्ण रुपमा सम्पन्न गर्ने योजना बनाएपनि बजेट अभावका कारण सम्पन्न गर्न नसकेको कोषका अधिकारीहरुको तर्क हुन्छ । यस अवधिमा लुम्बिनी विकास कोषमा १६ जना उपाध्यक्ष फेरिएपनि गुरुयोजना उस्तै छ । गुरुयोजनाको अधिकांश काम पूरा भएको भनिएपनि संरचना मापदण्ड विपरित बनेको भन्दै आलोचना पनि भइरहेको छ ।
एकातर्फ गुरुयोजनाको काम पूरा नहुँदा कोषको बदनाम भइरहेको छ भने अर्कोतर्फ लुम्बिनी धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलका रुपमा चिनाउन सबैविच हातेमालोको जरुरी छ ।