बुटवल – नेकपा एमालेका निलम्बित स्थायी कमिटि सदस्य डा. विन्दा पाण्डेले भुईँमान्छेलाई प्राथमिकता राखेर नेताहरु अगाडि बढनुपर्ने बताएकी छन् । उनले मुलुकमा नयाँ संविधान निर्माण भएपछि त्यसलाई कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन, नियमहरु बनाउन नसक्दा निराशाहरु देखिएको बताएकी हुन ।
लुम्बिनी भ्यूका लागि पत्रकार विनोद परियारले गरेको कुराकानीमा पाण्डेले मुलुक र जनतालाई प्राथमिकतामा राखेर काम गर्न अब ढिलाई गर्न नहुने बताएकी हुन । पाण्डेले पार्टी अध्यक्ष केपि ओलीसँगको पछिल्लो भेटमा काम फर्कन आग्रह गरेको बताएकी छन् । उनले आफूमाथि पार्टी अध्यक्षले काम फर्कन भनेकाले अब बस्ने बैठकले निलम्बन फुकुवा गर्न सक्ने संकेत गरिन । तर, निलम्बन फुकुवा नभएपनि आफू भुईँमान्छेहरुसँगको भेटमा निरन्तर लाग्ने बताईन ।
डा. पाण्डेले आफू अहिले भुईँमान्छे पुस्तक मार्फत कम्यूनिष्ट पार्टी निर्माणमा महत्वपूर्ण योगदान दिएका आश्रयदाता र भूमिगतकालका सारथीहरुसँग भेटघाटमा ब्यस्त रहेको बताईन । उनले राजाबादीहरुले समेतगणतन्त्रमा मात्रै आफ्ना कुरा राख्न सक्ने बताईन । राजतन्त्र सम्भव नभएको बताउँदै दलका शिर्ष नेताहरुले आफूमात्रै सर्वेसर्भा भन्ने प्रवृत्तिलाई जतिसक्दो चाँडो त्याग्न समेत आग्रह गरिन ।
संविधानसभा सदस्य तथा थुप्रै पुस्तकका लेखिका समेत रहेकी पाण्डेले पूर्व राष्ट्रपती, उपराष्ट्रपती, सभामुख जस्ता गैरदलिय बनेका व्यक्तिहरु फेरी राजनीतिमा आउने कुरालाई नियन्त्रण गर्नुपर्ने मत राखेकी छन् । अन्तरवार्तामा पाण्डेले कम्यूनिष्ट पार्टीका आचरण, व्यवहार, व्यक्तिवादी प्रवृति र वर्तमान समस्याको कारणबारे खुलेर बोलेकी छन् ।