Lumbini Rise
साम्प्रदायिक हिंसा नहोस् भनेर लुम्बिनीमा शान्ति प्रार्थना 

बुटवल - सुनसरीमा उत्पन्न घटनापछि मुलुकमा देखिएको अशान्ति, हिंसा अन्त्यको कामना गर्दै बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रबार विहान शान्तिपाठ गरिएको छ ।

लुम्बिनी विकास कोषको आयोजनामा सामाजिक सद्भाव, सहिष्णुता, आपसी भाइचारा र दिगो शान्तिको कामना सहित मायादेवी मन्दिरमा शान्ति पाठ तथा प्राथना गरिएको हो ।  भिक्षु भिक्षुणीहरुले पछिल्लो समय विभिन्न द्धन्द्धका कारणले मृत्यू भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा शान्ति, सद्भाव, सहिष्णुता र भातृत्वको कामना गरेका छन् । 

शान्ति पाठ तथा प्रार्थनामा थेरबादी र महायानी सम्प्रदायले परित्रान पाठ गरेर शान्तिका लागि प्राथना गरेका हुन् । नेपाल विविधतामा एकता भएको देशमा प्रत्येक जाती सम्प्रदायको योगदान रहेकाले सबै धर्म, जातीको एकताका लागि शान्ति प्रार्थना गरिएको भिक्षु सागर धम्मले बताए ।

उनले जसरी एउटा सुन्दर बगैचाका लागि थरीथरीका फूलहरुले सुन्दरता थपेको हुन्छ, त्यस्तै बिशेष नेपाल देश रहेकाले सबैका विचमा सदभाव, एकता र भातृत्व कायम गर्न पवित्रभूमीमा शान्ति प्राथना गरिएको बताए ।

भगवान बुद्धले लुम्बिनीबाटै शान्ति, अहिंसा र करुणाको सन्देश फैलाएकाले लुम्बिनीबाट देशको पछिल्लो घटनाक्रमप्रति दुःख व्यक्त गर्दै अब उप्रान्त कुनै पनि प्रकारको अशान्ति नहोस् भनेर शान्ति पाठ तथा प्रार्थना राखिएको लुम्बिनी विकास कोष निमित्त सदस्य सचिब हिमाल उप्रेतीले बताए ।

शान्ति प्रार्थना तथा शान्ति पाठमा लुम्बिनी गुरुयोजना भित्रका भिक्षु सागरधम्म, भन्ते चन्द्र भुषण, लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई लगायतको उपस्थिती रहेको थियो । 

 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update