Lumbini Rise
लुम्बिनीमा विपश्यना एवं ध्यानका लागि धम्म हल संचालन

लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीस्थित नवनिर्मित लुम्बिनी विपश्यना केन्द्र (धम्म जननी) को नवनिर्मित धम्म हल भवनको उद्घाटन गरिएको छ । 

नवनिर्मित अत्याधुनिक भवनमा विपश्यनारत ३२ गुरुहरूलाई भगवान् बुद्धको ध्यान र अभ्यास गर्ने विधि ७ दिने सत्तीपठान शिविर संचालन गरेर शुभारम्भ गरिएको हो । 

उक्त अवसरमा बुद्धधर्ममा आध्यात्मिक, धार्मिक र सामाजिक रूपमा ठूलो महत्त्व राख्ने महासंघ दान कार्यक्रम पनि गरिएको थियो । उक्त अवसरमा भिक्षु महासंघका पूर्वअध्यक्ष मैत्री महस्थवीर लगायतका ५१ जना भिक्षु र भिक्षु संघलाई दान गरिएको थियो । 

भिक्षुको दैनिक जीवनयापनका लागि चाहिने १८ प्रकारका सामग्री दान गरिएको हो । बुद्ध धर्ममा संघ दान अर्थात् भिक्षु संघलाई गरिने दानलाई ठूलो पुण्य र कल्याणकारी कार्य मानिने हुँदा पुण्य पारमिता प्राप्ति हुने जनविश्वास  छ ।

नयाँ धम्म हलमा २ सय ५० जनासम्म सहभागी भएर विपश्यना एवं ध्यान गर्न सक्नेछन् । यसरी आउने १ सय ४४ जनासम्मलाई आवासीय रूपमा बस्न १६ वटा ब्लकमा नयाँ कोठा बनाइएको छ । नवनिर्मित धम्म हल र आवासीय कोठा ध्यान गर्ने व्यक्तिबाट दान र सहयोग संकलन गरेर निर्माण गरिएको ध्यान केन्द्र असिस्टेन्ट टिचर शंकर शाक्यले बताए । 

पूर्वी विहार क्षेत्रमा रहेको विपश्यता केन्द्र २००१ देखि संचालनमा रहेको छ । यहाँ बर्सेनि देशविदेशबाट ध्यान एवं विपश्यना गर्न आउँछन् । महादानले मनको लोभ, कन्जुसपन र मोहलाई कम गर्ने हुँदा बुद्ध धर्ममा यसको निकै ठूलो महत्त्व रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु सिरी बजिरले बताए । संघलाई गरिएको दानले व्यक्तिगत स्वामित्वको भावनालाई त्याग्न र उदार बन्न सिकाउँछ । बौद्ध मार्गमा दानशीलता (दाना पारमिता) नै पहिलो खुट्किलो हो । यसले मनलाई शुद्ध बनाउँदै उच्च आध्यात्मिक साधना र निर्वाण प्राप्तिको बाटोमा अगाडि बढाउने भिक्षु वजिरले बताए ।  (कान्तिपुरबाट )

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update