Lumbini Rise
बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय  सम्मेलन : दिगो सम्पदा र विकासका लागि कार्ययोजना तयार

लुम्बिनी -  'बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले संरक्षण र दिगो विकास गर्न सिफारिश गरेकाे छ । नेपाल सरकारद्वारा युनेस्को, लुम्बिनी विकास कोष र विश्व बैंकको सहकार्यमा आयोजित यो तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन (२–४ असोज २०८३ / १८–२० सेप्टेम्बर २०२६) मा स्थानीय समुदाय, गुम्बा,  तथा विहारका प्रतिनिधिहरू, स्थानीय उद्यमीहरु, पर्यटन तथा आतिथ्य व्यवसायका प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, नीति निर्माता, स्थानीय सरोकारवालाहरु र विकास साझेदार गरी १५० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खडक राज पौडेल (गणेश) ले धार्मिक तथा आध्यात्मिक पवित्रतालाई कायम राख्दै विकासलाई अघिढाउन नेपाल सरकार प्रतिबद्ध रहेको कुरा पुनः दोहोर्याउनुभयो।

सम्मेलनका निष्कर्षहरूलाई व्यवहारिक र यथार्थपरक बनाउन सहभागीहरूले भगवान् बुद्धको जन्मस्थल तथा युनेस्को विश्व सम्पदा सूचीकृत लुम्बिनीको पवित्र उद्यान (Sacred Garden) र बृहत्तर लुम्बिनी क्षेत्रभित्र पर्ने तिलौराकोट-कपिलवस्तु लगायतका प्रमुख सम्पदा स्थलहरूको स्थलगत अवलोकन गर्नुभएको थियो। यी स्थलहरूको भ्रमणले सहभागीहरूलाई यहाँको सामाजिक-सांस्कृतिक परिवेश, हाल भइरहेका संरक्षण प्रयास, विद्यमान चुनौतीका साथै तीर्थयात्री र स्थानीय समुदायका आवश्यकताहरू प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर प्रदान गरेको थियो।

DSC_0996-1789987938.jpg


 

स्थलगत अध्ययनपश्चात सहभागीहरू विभिन्न बहुविषयक 'ज्ञान वृत्तहरू' (Knowledge Circles) मा विभाजित भई सिफारिसहरू तयार, छलफल र प्राथमिकीकरणमा जुटेका थिए। यी गहन सत्रहरूमार्फत सहभागीहरूले आफ्ना प्राथमिकता प्राप्त सिफारिसहरू व्यवस्थित रूपमा तय गरे। तत्पश्चात, सहभागीहरूले कार्य समयसीमा निर्धारण गर्नुका साथै ती सिफारिसहरूलाई कार्यान्वयनमा लैजान लुम्बिनी विकास कोष, स्थानीय नगरपालिकाहरू, स्थल प्रबन्धकहरू र सम्बद्ध मन्त्रालयहरू लगायतका तोकिएका जिम्मेवार निकायहरूलाई दायित्व सुम्पेका छन्।

यस क्षेत्रको भावी नीतिगत ढाँचा, स्थानीय व्यवस्थापन र गतिविधिहरूलाई मार्गदर्शन गर्न सम्मेलनले निम्न मुख्य प्राथमिकताहरू तयार गर्दै सम्पन्न भएको छ:

  • पवित्र उद्यानको शान्त बौद्ध वातावरण कायम राख्ने र धार्मिक, सांस्कृतिक तथा आगन्तुकका गतिविधिहरूले यहाँको पवित्र दृश्यचित्र, स्थानीय रीतिरिवाज र आस्थाको सम्मान गर्ने कुरा सुनिश्चित गर्ने।
  • लुम्बिनी विकास कोष, तोकिएका सामुदायिक संस्थाहरू, विहार/गुम्बा समुदाय र सम्बद्ध स्थानीय सरोकारवालाहरूसँगको निकट सहकार्यमा नगरपालिकाहरूमार्फत स्थानीय समुदायको सहभागिता समन्वय गर्ने।
  • सम्पदा संरक्षण, सामुदायिक विकास, वातावरणीय संरक्षण र स्थानीय जीविकोपार्जनका अवसरहरूलाई एकीकृत गर्ने पवित्र परिदृश्य-केन्द्रित (Sacred landscape-centred) विकास पहुँच अपनाउने।
  • पूर्वाधार वा विकास निर्माणका कार्यहरू स्वीकृत गर्नुअघि गुरुयोजना, भू-उपयोग योजना, संरक्षण योजना, जलवैज्ञानिक (Hydrological) अध्ययन, ढल निकास तथा वातावरणीय न्यूनीकरण योजनाहरू तयार गरी लागू गर्ने।
  • पवित्र उद्यान, मायादेवी मन्दिर, प्राचीन स्मारक र पुरातात्विक अवशेषहरूको ऐतिहासिक, धार्मिक र आध्यात्मिक मूल्य-मान्यताको सम्मान हुने गरी तिनको पुनर्स्थापना र मर्मतसम्भार गर्ने।
  • आगन्तुक तथा पर्यटकहरूलाई लुम्बिनीका रीतिरिवाजको अर्थ र महत्वबारे जानकारी तथा शिक्षा प्रदान गर्ने।
  • यस सम्मेलनका निष्कर्षहरूले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालित 'बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजना' को कार्यान्वयन लगायत यस क्षेत्रमा नेपाल सरकारको भावी कार्यक्रम र योजना निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनेछन्।
भनाइहरू
"लुम्बिनी केवल एउटा सम्पदा स्थल मात्र होइन; यो एक जीवन्त, पवित्र सांस्कृतिक परिदृश्य हो, जहाँ बुद्धका उपदेश र अभ्यासहरूले विश्वभरका तीर्थयात्री र मानिसहरूलाई निरन्तर प्रेरणा दिइरहेका छन्। विश्व बैंकसँगको साझेदारीमा सञ्चालित बृहत्तर लुम्बिनी क्षेत्र विकास पहलमार्फत हामीसँग यो साझा दृष्टि (Vision) लाई व्यवहारिक कार्यमा रूपान्तरण गर्ने एउटा महत्वपूर्ण अवसर छ। सबैभन्दा माथि, लुम्बिनीलाई यस्तो ठाउँको रूपमा निरन्तरता दिऔँ जहाँबाट विश्वले शान्ति, करुणा र हाम्रो साझा मानवताको बारेमा सिक्न सकोस।"
—खडक राज पौडेल (गणेश), मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
"सबैभन्दा महत्वपूर्ण कुरा, बौद्ध समुदाय र स्थानीय जनताका आकांक्षाहरू हाम्रा प्रयासको केन्द्रविन्दुमा रहनुपर्छ। तीर्थयात्रीहरूले प्रार्थना, ध्यान, अध्ययन र बौद्ध अभ्यासका लागि सम्मानित अवसरहरू पाउनुपर्छ, भने स्थानीय समुदायले रोजगारी, जीविकोपार्जन, उद्यमशीलता र विकासमा सार्थक सहभागितामार्फत लाभ लिनसक्नुपर्छ।"
—  तौफिक अहमद खान, प्रतिनिधि सभा सदस्य (सांसद)
"पर्यटकहरूलाई यहाँसम्म ल्याउने वातावरण नै सिर्जना नगरी हामीले बृहत्तर लुम्बिनीको अवधारणा मात्रै बनायौँ भने त्यसको कुनै अर्थ रहँदैन। यी वास्तविकतातर्फ ध्यान दिँदै व्यापक र स्पष्ट बुझाइका साथ हामी अगाडि बढ्नुपर्छ।"
—  चन्द्रकेस (सी.के.) गुप्ता, लुम्बिनी प्रदेश सभा सदस्य
"यस क्षेत्रको समग्र आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारहरू ऐक्यबद्धताका साथ अघि बढ्न प्रतिबद्धता व्यक्त गर्दछन्। कपिलवस्तु, देवदह र रामग्रामसहित बृहत्तर लुम्बिनीको सन्तुलित विकास र ऐतिहासिक वस्तुहरूको संरक्षण सुनिश्चित गर्न संघ सरकारलाई सहयोग र सहकार्य गर्न हामी स्थानीय तह पूर्ण रूपमा प्रतिबद्ध छौँ।"
— कल्पना हरिजन, कार्यवाहक नगर प्रमुख, लुम्बिनी सांस्कृतिक नगरपालिका
"लुम्बिनी विकास कोष तीर्थयात्रा सुविधा, आगन्तुक अनुभव, पहुँचयोग्यता, वातावरणीय दिगोपना, वेलनेस र स्थानीय आर्थिक अवसरहरूमा सुधार गर्दै लुम्बिनीको असाधारण सर्वव्यापी मूल्य (Outstanding Universal Value), प्रामाणिकता र अखण्डताको रक्षा गर्न सबै सरोकारवालाहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छ।"
— ज्ञानिन राई, कार्यवाहक सदस्य-सचिव, लुम्बिनी विकास कोष
"लुम्बिनी युनेस्को विश्व सम्पदा स्थल र शान्तिको एउटा यस्तो पवित्र स्थल हो जसले विश्वभरका मानिसहरूसँग संवाद गर्छ। यसको आध्यात्मिक मूल्यको रक्षा गर्दै, स्थानीय समुदायलाई सहयोग गर्दै र पर्यटनलाई ज्ञान, शान्ति र कल्याणको स्रोत बनाउँदै हामी कसरी आगन्तुकहरूलाई स्वागत गर्छौँ? यस सम्मेलनमार्फत, लुम्बिनीको पवित्र चरित्रको रक्षा गर्दै स्थानीय साना व्यवसायी र श्रमिकहरूलाई वास्तविक आर्थिक लाभ पुर्याउने व्यवहारिक विचारहरू प्रदान गर्ने हाम्रो लक्ष्य छ।"
— याको दु तोइ (Jaco du Toit), नेपालका लागि युनेस्कोका प्रतिनिधि
"लुम्बिनीको महत्त्व यहाँको ईंट र पुरातात्विक संरचनामा मात्र सीमित छैन; यसको मुख्य मर्म त एक जीवन्त पवित्र भूभागका रूपमा यसको अतुलनीय आध्यात्मिक चरित्रमा निहित छ। त्यसैले, संरक्षण र विकास सँगसँगै अगाडि बढ्नुपर्छ। बृहत् लुम्बिनी क्षेत्र विकास पहल (GLAD) मार्फत हाम्रो उद्देश्य लुम्बिनीको असाधारण सम्पदाको संरक्षण गर्दै पूर्वाधार सुधार गर्न, पर्यटक अनुभवलाई सबल बनाउन र स्थानीय समुदायका लागि अर्थपूर्ण आर्थिक अवसरहरू सिर्जना गर्न नेपाल सरकारलाई सहयोग गर्नु हो। अन्ततः, लुम्बिनीको भविष्य यसको आध्यात्मिक तथा सांस्कृतिक महत्त्वलाई भावी पुस्ताका लागि सुरक्षित राख्दै यहाँका बासिन्दाले विकासको लाभ पाउने कुरा सुनिश्चित गर्नुमा निर्भर गर्दछ।"
— इलाड शेनफेल्ड (Elad Shenfeld), वरिष्ठ विपद् जोखिम व्यवस्थापन विज्ञ, विश्व बैंक समूह

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update