Lumbini Rise
लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी अध्ययन–आदानप्रदानका लागि चिनमा

 

लुम्बिनी -  लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना चिनियाँ भाषा र भोट बौद्ध अध्ययन कार्यक्रममा अध्ययनरत विद्यार्थी  चीनको हाईनान प्रान्तस्थित सान्या सहरको नानहाई बौद्ध एकेडेमिमा एक वर्षे अध्ययन तथा आदानप्रदान कार्यक्रमका लागि प्रस्थान गरेका छन् । ३१ जना मध्ये भोट बौद्ध अध्ययनका ९ जना लामा र १ जना आनी हुनुहुन्छ विद्यार्थी भने २१ जना गृहस्थ विद्यार्थी छन् ।

चीन जाने विद्यार्थीहरूको चिनियाँ भाषामा राम्रो आधार रहेको छ । २१ जना गृहस्थ विद्यार्थीले चिनियाँ भाषा दक्षता परीक्षा (HSK) को तेस्रो तह उत्तीर्ण गरेका छन् । १० लामा र आनीहरूले दोस्रो तह उत्तीर्ण गर्नुभएको छ । अध्ययन–आदानप्रदान अवधिमा उहाँहरूले चिनियाँ भाषा, चिनियाँ बौद्ध संस्कृति तथा सम्बन्धित विषयहरू अध्ययन गर्नुहुनेछ । यसबाट चीनको संस्कृति बुझ्ने र अन्तरसांस्कृतिक संवाद क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

यो लुम्बिनी बौद्ध विश्वविद्यालयबाट नानहाई बौद्ध एकेडेमिमा अध्ययन तथा आदानप्रदानका लागि पठाइएको चौथो बर्ष हो । विगत तीन वर्षमा विश्वविद्यालयबाट नानहाई बौद्ध एकेडेमिमा अध्ययन तथा आदानप्रदानका लागि गएका विद्यार्थीको संख्या १०० नाघिसकेको छ । यस कार्यक्रमअन्तर्गत विद्यार्थीलाई शिक्षण शुल्क लाग्ने छैन भने नानहाई बौद्ध एकेडेमिले उहाँहरूको आवास र भोजनको व्यवस्था व्यवस्था पनि निशुल्क गर्नेछ ।

लुम्बिनी क्षेत्रमा चिनियाँ भाषामा दक्ष जनशक्ति अपेक्षाकृत कम छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले नानहाई बौद्ध एकेडेमि तथा चीनका अन्य विश्वविद्यालय एवं शैक्षिक संस्थासँगको सहकार्यलाई थप सुदृढ गर्दै चिनियाँ भाषा शिक्षा र चीन अध्ययनलाई निरन्तर प्रवर्द्धन गरिरहेको छ । यसमार्फत चिनियाँ भाषा तथा अन्तरसांस्कृतिक संवादमा दक्ष जनशक्ति तयार गरी नेपाल–चीनबीचको जनस्तरीय तथा सांस्कृतिक आदानप्रदानमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update