बुटवल - बुटवलमा चार जना युवाहरुकाे करिब २ करोड रुपैयाँ लगानीमा एटिन्न डी मुभी थिएटर र मिरर मेज (भुलभुलैया)सञ्चालन गरिने भएकाे छ । बुटवल आउने पर्यटक तथा यहाँका स्थानीयहरुलाइ मुभी थिएटर मार्फत नयाँ सेवा दिन लगानी गरिएकाे उनीहरुले बताएका छन् ।
नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट प्रालिले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्स रहेको पुरानो स्थानमा मनोरञ्जन केन्द्र सञ्चालनमा ल्याउन लागेको हो।
बुटवलका प्रकाश भुसाल, दीपक ढकाल, सिद्धार्थविक्रम थापा र सुदीप काफ्ले गरी चार जनाले नयाँ व्यवसायमा लगानी गरेका हुन् । सञ्चालक दीपक ढकालका अनुसार केन्द्र आगामी कात्तिक १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ।
बुटवलमा मनोरञ्जनका नयाँ गतिविधि थप गर्दै स्थानीयसँगै बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले परियोजना अघि बढाइएको ढकालले बताए। उनका अनुसार केन्द्रमा 18D मुभी थिएटर र मिरर मेज मुख्य आकर्षणका रूपमा रहनेछन्।
18D मुभी थिएटरमा चलचित्र हेर्दा पर्दामा देखिने दृश्यसँगै विभिन्न प्रभावको समेत अनुभव लिन सकिनेछ। त्यस्तै, मिरर मेज अर्थात् भुलभुलैयामा ऐनै–ऐनाले बनेको संरचनाभित्र प्रवेश गरी फरक तथा रमाइलो अनुभव लिन सकिने ढकालले बताए।
बुटवलमा घुम्न तथा मनोरञ्जन गर्न आउने आन्तरिक पर्यटकका लागि समेत नयाँ गन्तव्य थपिने अपेक्षा गरिएको अर्का सञ्चालक प्रकाश भुसालले बताए। यस प्रकारको मनोरञ्जन केन्द्रले स्थानीय क्षेत्रमा आर्थिक गतिविधि बढाउनुका साथै बुटवल आउने पर्यटकका लागि थप आकर्षण सिर्जना गर्ने भुसालले बताए।
बुटवलमा पछिल्लो समय मनोरञ्जन तथा पर्यटनसँग सम्बन्धित नयाँ व्यवसाय थपिँदै गएका बेला सञ्चालनमा आउन लागेको 18D मुभी थिएटर र मिरर मेजले स्थानीय मनोरञ्जन क्षेत्रलाई थप विविध बनाउने अपेक्षा गरिएको छ। टिकटदर ३५० तय गरिएको छ ।

