Lumbini Rise
सुजनको आपराधिक श्रृखला :  तीन आमाछोरीको बीभत्स हत्या

बुटवल -  रुपन्देहीको बुटवल तीन आमाछोरीको बीभत्स हत्याको खबरले जोकोही पनि दिमाग हल्लिन्छ । यस्तो क्रूर र बीभत्स हत्या गर्ने व्यक्ति हुन् ३५ वर्षीय सुजन कोइराला । यिनै कोइरालाले सम्बन्ध विच्छेद भइसकेकी पूर्व श्रीमती ३३ वर्षीय दीपमा बस्याल,उनकी छोरी ७ वर्षीय स्नेया र ४ वर्षीय हिमानीको बीभत्स रूपमा हत्या गरेका हुन् । घटनाबारे सुन्दा पनि जोकोहीको दिमाग खलबलिन्छ ।

अझ घटनास्थलमा देखिएको दृश्य झनै कहाली लाग्दो छ । ‘तिनै जनाको शव खाटमा थियो, छुरी चक्कु र हेम्बरले टाउकोमा हानेर हत्या गरेको देखिन्छ’ इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले भने । 

प्रहरीका अनुसार सुजनले सम्बन्ध विच्छेदपछि अर्केसँग विवाह गरेर दुई छोरी जन्माएकी दीपमा सहित नाबालिकाहरुलाई घरमै बोलाएर नियोजित तरिकाले हत्या गरेका छन्। तीन आमाछोरीको हत्याको कारण खुलिसकेको छैन ।

प्रहरीले यसबारे अनुसन्धान जारी राखेको छ । ‘घरमै बोलाएर त्यो पनि रातीको समयमा हत्या भएको छ’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले भने । उनले केही दिनमै हत्याको कारण बाहिर ल्याउने बताए । 

१३ वर्षपछि तीन आमाछोरी हत्या  

सुजनको स्थायी ठेगाना तानसेन नगरपालिका ७ नम्बरमा पर्छ । यी तिनै सुजन हुन जसले आफ्नै सहोदर माइलो दाजुको हत्या अभियोगमा ९ वर्ष जेल बसेका थिए । सहोदर दाजुको हत्या अभियोगमा जन्मकैदको सजाय भोगेका उनको कार्यशैली र आचार सुधार भएको भन्दै ७८ सालमा तत्कालिन सरकारले संविधान दिवसको सन्दर्भ पारेर आममाफी दिएको थियो ।

आममाफी पछि जेलबाट छुटेका सुजन केही समय पाल्पामा बसेँ । तर, आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोग लागेकाले गाउँलेहरु पनि डराए ।

दीपमा बस्याल तानसेन वडा न. ७ स्थित कुनसरे आधारभूत स्वास्थ्य चौकीकी अनमी हुन् । 
चक्कु, हेम्बरले टाउकोमा हानेर हत्या 
हत्या अघि होटेल गएर सँगै खाजा खाएका थिए 

सुजन जेलमै हुँदा बुवाको निधन भएको र अहिले आमा र ठुलो दाजु पाल्पामा छन् । ‘जेलबाट निस्केपछि बुटवल बस्न थालेको हो’ पाल्पा तानसेन वडा न. ७ का वडाध्यक्ष प्रदीप खनालले भने –‘यो एकदम कहालीलाग्दो आपराधिक घटना हो ।’ उनले आफूहरूसँग भेट्दा सुध्रने भनेर भन्ने गरेपनि तीन आमाछोरीको हत्याले आफूहरूलाई समेत वैचन बनाएको बताए । 

हत्या अघि राती होटेल गएर सँगै खाजा खाएका थिए 

प्रहरीका अनुसार सुजनले बिहान ४ देखि ५ बजेको बिचमा हत्या गरेको देखिएको छ । बुटवल ११ होराईजनचोक स्थित मिलिजुलीपथमा एक तलाको ट्रस्ट हालिएको घरमा उनी एक्लै बस्दै आएका थिए । सुजनले १३ वर्षअघि पाल्पा तानसेनमा  आफ्नै सहोदर माइलो दाजुलाई हत्या गरेपछि २०६९ सालमा पाल्पामा जेल चलान भए ।

जेल चलान भएपछि उनको मृतक दीपमा बस्यालसँग २०७२ सालमा सम्बन्ध विच्छेद भयो । सम्बन्ध विच्छेद भएपछि दीपाले कावासोतीका शंकर ढकालसँग विवाह गरिन् । शंकरसँग विवाह भए पनि दीपमा अहिले भने तानसेन नगरपालिका वडा न. स्थित कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी हुन् । दोस्रो विवाहपछि पनि उनी तानसेनमै बस्दै आएकी थिइन । तानसेन ७ कै दीपमा र सुजनबिच प्रेम विवाह भएको थियो । १० वर्षअघि सुजन र दीपाविच सम्बन्ध विच्छेद भए पनि एक वर्षदेखि दुईजनाविच पुन सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

दीपा मङ्गलवार दुईछोरीहरु सहित बुटवल आएकी थिइन। बुटवल आएपछि सुजनसँगै भेट भएको देखिन्छ । ‘पहिल्यैदेखि बेलाबेला भेट हुने रहेछ, मङ्गलवार पनि घुमेर एउटा होटेलमा गएर सँगै खाजा खाएको देखिन्छ’ इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी रानाले भने । उनका अनुसार राती ८ देखि ९ बजेसम्म बुटवलकै कुनै एक होटेलमा खाजा खाएको र त्यसपछि सुजनको घरमा पुगेको देखिएको छ । प्रहरीका अनुसार दीपमा, दुई बच्चाहरूसहित सुजनले आफ्नो बाइकमा घुमाएका थिए । 

बिहानै काम गर्नेलाई बोलाए, उनैले प्रहरीलाई खबर गरे 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार घटना बिहानको समयमा भएको देखिएको छ । घटनास्थलमा घरेलु हतियारको प्रयोग गरी बीभत्स रूपमा हत्या गरेको देखिन्छ । चक्कु, हेम्बर र त्यतिले नभएर बच्चाहरूलाई घाँटी च्यापेर हत्या गरेको प्रमाण भेटिएको छ । 

‘घटना अत्यन्तै बीभत्स रूपमा भएको छ, प्रहरी घटनास्थल पुग्दा तीनै जनाको शव रगताम्य थियो’ प्रहरी उपरीक्षक कार्कीले भने । घटनाको खबर उनै सुजनले नै गर्न लगाएको देखिन्छ । घटना बिहान ४ बजेतिर भएको प्रहरीले जनाएको छ । 

सुजनले घरमा किचनको काम गराउँदै आएका थिए । प्रहरीका अनुसार बुधवार ६ बजेतिर काम गर्ने अर्जुन रञ्जनलाई बोलाएँ । उनी त्यहाँ साँढे ६ बजेतिर आइपुग्छन् । घरमा पुग्दा रगताम्य शवहरू देखेपछि उनले तुरुन्तै देविनगर प्रहरीलाई खबर गरेका हुन् । प्रहरी तुरुन्तै घटनास्थल पुगेर सुजनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 

स्थानीयहरूका अनुसार सुजनले हत्या गरेपछि टोल छिमेकीहरूले आक्रमण गर्ने भयले आफैले प्रहरी बोलाउन लगाएको हुनसक्ने बताएका छन् । उनले आफ्नै घरमा सटर हालेर जेल बस्दा सिकेको मुढा बनाउने लगायतका हस्तकलाका सामाग्री बिक्री पसल समेत सञ्चालन गर्दै आएका थिए । टोल छिमेकमा पनि त्यति धेरै सम्पर्क नगर्ने सुजनको घरमा कहिलेकाहीँ मात्रै मानिसहरू आउने गरेको त्यहाँका स्थानीयहरू बताउँछन् । - बुटवलबाट प्रकाशित आजकाे खस्याैली साप्ताहिकमा समाचार छ । 

khasyuli-1748482857.jpg


 

 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update