
बिहीबार (आज) १८ औँ गणतन्त्र दिवस । नेपाली जनताले वंशको आधारमा हुँदै आएको शासनपद्धतीको समुल अन्त्य गरेको ऐतिहासिक दिन । तत्कालिन नेकपा माओवादी र सातदलहरुद्धारा आयोजित ०६२/०६३ सालको जनआन्दोलनको बलमा नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको हो ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा दुई सय ४० वर्षदेखिको निरङ्कुश राजतन्त्रको अन्त्य गरेको थियो । यो ऐतिहासिक दिनको सम्झनालाई देशैभर गणतन्त्र दिवसका रूपमा मनाइँदै आइएको छ । तर, यो वर्ष गणतन्त्र दिवस मनाउने बेलासम्म मुलुकमा विभिन्न खालका षडयन्त्रहरू भइरहेका छन् ।
मुलुकमा राजावादीहरूले प्रतिगमनका लागि बल गरिरहेका छन् । जबकि यो कुरा असम्भव प्राय छ । आजको युग कर्मका आधारमा श्रेष्ठता हासिल गर्ने र जनताले अनुमोदन गर्ने युगमा आइपुगेको छ । तर, नेपालमा वंशको आधारमा कोही राजा हुने कोही तल्लो हुने शासनको वकालत गर्ने तप्का देखिनु आफैमा विडम्बनापूर्ण छ । राजतन्त्रको उपयोगिता वा यसले पनि नेपालको ऐतिहासिक विकास क्रममा पुर्याएको योगदानलाई सम्मान गरौँ, तर अब सेलाइसकेको तन्त्रको पक्षमा बहस हुनु नै बेकार हो ।
हो, नेपाली जनताले गणतन्त्रमा जे खालको आशा गरेका थिए, त्यो पाएका छैनन् । दलका नेताहरूको कार्यशैली, आचरण सुध्रेको छैन । आम जनताको समस्यामा केन्द्रित छैनन् । यी सबै कुरामा सुधारका लागि खबरदारी गरौँ । दलका रिसले प्रतिगमनमा जाने कुरा गर्नु भनेको फेरी अर्को कालो युगमा मुलुक जानु हो ।
हामी पनि दलहरूलाई भन्छौँ, –‘सुध्रने भए सुध्र, नत्र सकिन तयार होऊ।’ यसको अर्थ अब आफूलाई मूलधारको दल भन्नेहरूले आफूलाई रूपान्तरण नगर्ने हो भने जनताले नयाँ दल र नयाँ शक्तिलाई यही गणतन्त्रमा फुलाउनेछन् । विकल्प भनेको नयाँ हो पुरानो त्यो पनि विश्वबाटै मक्किएको शासन पद्धति होइन ।
२०७२ असोज ३ गते बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानका मौलिक हक कार्यान्वयन गर्दै संरचनामा भएका केही कमजोरी सुधार गर्दै सुशासन, रोजगारी र समृद्धिको एजेन्डा सहित मुलुक बनाउने सङ्कल्पमा जान हामी आह्वान गर्दछौँ । मुख्य रूपमा मूलधारका शक्ति (राजनीतिक दल) हरुले यी तमाम नागरिक अपेक्षालाई आत्मसाथ गर्दै अगाडि बढ्ने दिशामा लाग्न जरुरी छ । अन्यथा गणतन्त्रमाथिको खतरालाई कम आँक्न सकिँदैन । - खस्याैलीमा प्रकाशित सम्पादकीय