Lumbini Rise
लुम्बिनीको अन्तर्राष्ट्रियकरण :  घुम्नैपर्ने सूचीदेखि आध्यात्मिक गतिविधिसम्म


लुम्बिनी -  बुद्धजन्मस्थल लुम्बिनीमा आध्यात्मिक गतिविधि बढेसँगै अन्र्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र चासो बढ्न थालेको छ । लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरका बौद्ध धर्म गुरुको भ्रमण तथा भिक्षु लामाहरुको आध्यात्मिक गतिविधि बृद्धि हुन थालेको हो । 

धार्मिक र आध्यात्मिक गतिविधि बृद्धिसँगै बौद्धसम्प्रदायसँगै विश्वभरका शान्तिप्रेमीहरुको रुची लुम्बिनीप्रती बढ्न थालेको छ । लुम्बिनीको अन्तर्राष्ट्रियकरण भइरहेको बेला विश्व चर्चित पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२५ मा घुम्नैपर्ने उत्कृष्ट ५२ पर्यटकीय गन्तव्यमध्येमा लुम्बिनीलाई नवौ सूचीमा राखेपछि यसको थप प्रचार भएको छ ।


‘विभिन्न देशका उच्च पदस्थ व्यक्तिहरुको भ्रमण र आध्यात्मिक गतिविधिले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न लागिरहेका थियौं’ लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले भने –‘यहि बेला विश्वचर्चित पत्रिका द न्यूयोर्कटाइम्सले घुम्नैपर्ने उत्कृष्ट नवौ गन्तव्यका रुपमा लुम्बिनी राख्दा सकरात्मक सन्देश प्रवाह भएको छ ।’ उनले अमेरिका सहित विश्वभर नै बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि सूचीले रुची जगाउने विश्वास लिए । उनले आफू उपाध्यक्षको जिम्मेवारीमा आएदेखि आध्यात्मिक गतिविधिका लागि शाक्यमोन्लम पूजादेखि अतर्राष्ट्रिय स्तरका उच्च पदस्थ अधिकारीहरुको लुम्बिनी भ्रमण गराउन भूमिका खेलेको दावी गरे ।


द न्यूयोर्क टाईम्सले गत मंसिरमा उद्घाटन भएको थाउजेन्ड टेम्पल (हजार बुद्धविहार) को तस्विर राखेर लुम्बिनीलाई विश्वका उत्कृष्ट ५२ स्थानमध्ये नवौं स्थानको सूची सार्वजनिक गरेको हो । टपटेन स्थानमै राखेर स्न २०२५ घुम्नैपर्ने स्थानका रुपमा लुम्बिनीलाई समावेश गर्दा यसले अन्र्तराष्ट्रिय पर्यटकलाई भ्रमणका लालायित तुल्याउने विश्वास गरिएको छ । पत्रिकाले हजारौं वर्षअघि लुम्बिनीको सुन्दर बगैचामा मायादेवी रानीले सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गर्दै प्राचीन भग्नावशेष र समकालीन बौद्ध स्थलहरुलाई जीवन्त देख्न पाइने लेखेको छ ।


भूकम्प गएको १० बर्षपछि लुम्बिनीमा थाउजेन्ड टेम्पल सहित नयाँ नयाँ विहारहरु मन्दिर र ध्यान केन्द्रहरु निर्माण भइरहेको व्याख्या गरिएको छ । बिशेष गरी थाउजेन्ड गुम्बामा १६ फिट अग्ला तीन वटा बुद्धका मूलप्रतिका, एक हजार सुनौला बुद्धका प्रतिमा तथा सात तथागत बुद्धका मूर्तीहरु छन् । तिब्बती शैलीमा निर्माण गरिएको गुम्बा भित्ताका पेन्टिङहरु निकै आर्कषक छन् । विश्वको चर्चित पत्रिकाले थाउजेन्ड गुम्बाको तस्विर र ब्याख्या सहित उत्कृष्ट गन्तव्यका रुपमा सूची सार्वजनिक गरेसँगै लुम्बिनी पुग्ने पर्यटकहरु समेत गुम्बाको भ्रमणमा रुची देखाएका छन् । एक महिनाअघिदेखि उद्घाटन भएर पर्यटकका लागि खुल्ला गरिएको गुम्बाभित्र प्रवेश गरेकी महेन्द्रनगरकी रमिला विष्टले बुद्धका मूर्ती र बास्तुकलाले आफू छुट्टै संसारमा आएको महसुस भएको बताईन । ‘बाहिर हेर्दा त अन्य गुम्बा जस्तै होला भन्ने सोचेको थिए, गुम्बाभित्र छिर्नसाथ बुद्धका मूर्ती र हजार प्रतिमाले मनमा शान्ति र करुणाभाव जागृत गरायो’ उनले भनिन । उनले भगवान बुद्ध जन्स्थल लुम्बिनीको मायादेवी मन्दिरसँगै यहाँका गुम्बाहरुको भ्रमणले छुट्टै आनन्द प्राप्ती हुने बताईन ।


द न्यूयोर्कटाइम्सको टपनाईनमा लुम्बिनीलाई घुम्नैपर्ने सूचीमा राख्नुमा नोभेम्बरमा थाउजेन्ड टेम्पल उद्घाटन, त्यसपछि भएको मोन्लम पूजाले पनि सहयोग गरेको लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईको भनाई छ । विश्वको सम्मानित मिडियाले लुम्बिनीलाई स्थापित गर्ने गरी मुख्य गन्तव्यका रुपमा राख्दा यसले लुम्बिनी भ्रमण गर्न ठूलो प्रवद्र्धन गर्ने उनले बताए । 

इसापूर्व ५६३ मा लुम्बिनी स्थित पवित्र बगैचामा विश्व शान्तिका प्रवर्तक गौतमबुद्धको जन्म भएको थियो । यहाँ आउने तीर्थालुहरुले बुद्धजन्मस्मारक, मायादेवी मन्दिर, पुष्पकरणी पोखरी, लुम्बिनीको अकाट्य प्रमाणका रुपमा रहेको अशोक स्तम्भको अवलोकनले बुद्धकालिन पुरातात्विक अवशेषहरुबारे जानकारी लिन पाउँछन् । धार्मिक आस्थाका साथ आउने पर्यटकहरुले पूजापाठ, ध्यान गर्न पाउँछन् । निरन्तर बलिरहने शान्तिीदीप, केन्द्रीय नरहमा डुंङ्गा सयर गरेर रमाउनुका साथै विभिन्न देशका कला संस्कृती र परम्परा झल्कने पूर्व र पश्चिमी विहार/गुम्बाको भ्रमणले छुट्टै ससारमा आएको अनुभूती गराउनेछ ।

आध्यात्मिक र अन्र्तराष्ट्रिय व्यक्तित्वको भ्रमण
द न्यूयोर्कटाइम्सले सन् २०२५ को घुम्नैपर्ने सूचीमा लुम्बिनी राख्ने अवस्था आउनुमा लुम्बिनीको आध्यात्मिक र अन्र्तराष्ट्रिय व्यक्तिहरुको भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ  । 

लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा गत मंसिर २३ गतेदेखि पुस २ गतेसम्म १० दिने शाक्यमोन्लम पूजा भयो । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा ८ वर्षपछि लुम्बिनी विकास कोषको पहलमा भएको थियो । १० दिनसम्म मायादेवी मन्दिर परिसरमा करिव ७ हजार लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरुले पूजा गरे ।  ४१ औं शाक्य गोङ्मा ट्रिछेन रिन्पोछेको उपस्थितीमा गरिएको शाक्यमोन्लमले लुम्बिनीमा आध्यात्मिक गतिवधि बढायो । यसअघि मंसिर ७ गते लुम्बिनीस्थित पश्चिम विहारमा पाल थुव्तेन सेडुप लिङ गुम्बाद्धारा निर्मित हजार बुद्ध मन्दिरमा एक हप्तासम्म पूजा चलेको थियो । बौद्ध गुरु छोकी निमा रिन्पोछेको पहलमा निर्मित हजार बुद्ध मन्दिर अर्थात थाउजेन्ड गुम्बाको प्राण प्रतिष्ठान तथा विश्वशान्ति पूजामा नेपाल सहित विभिन्न देशका ५ हजार बढि लामा, भिक्षुभिक्षुणी, उपासक उपासिकाहरुको उपस्थित थियो । 

त्यतिमात्रै होईन उक्त गुम्बाको पूजामा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि सहभागिता रह्यो । यसका अतिरिक्त पछिल्ला २ बर्षमा विभिन्न अन्र्तराष्ट्रिय महत्वका व्यक्तिहरुको भ्रमणले पनि लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गराएको छ । सन् २०२३ को अक्टोबरमा संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमण गरेका थिए । गुटरेसले बुद्धजन्मस्थल लुम्बिनीबाट रुस–युक्रेन द्धन्द्धलाई लक्षित गर्दै शान्तिका लागि आह्वान समेत गरेँ । महासचिव गुटरेसको भ्रमणले विश्वमा एउटा सकरात्मक सन्देश प्रवाह भयो । 

यसका साथै सन् २०२४ मा श्रीलंकाका पूर्व राष्ट्रपतीद्धय रनिल विक्रमासिंघे र गोटावाय राजापाक्षेले लुम्बिनी भ्रमण गरेका छन । यसका साथै चिनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुईफेंङ,  चिनियाँ उपमन्त्री वाङ रुईजुन, म्यानमार सरकारका संस्कृती तथा धार्मिक मामिला मन्त्री यूटिन ओलुयिन, भुटान सरकारका गृहसचिव सोनाम वाङगेलले लुम्बिनी भ्रमण गर्दै दुई देशको सहकार्य र लुम्बिनीको विकासबारे चासो राखे ।


यसैगरी नेपालका लागि जापानी रादूत किकुता युताका, भारतीय राजदुत नविन श्रीवास्तव, श्रीलंकाका राजदूत सुदर्शना पाथिराना, चिनिया राजदुत चेन सोङ्म, चिनियाँ चर्चित हलिउड स्टार जेट्ली, संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्लाह हल साहम्सी, नेपालका लागि अमेरेकी राजदुत डिन थम्सनले लुम्बिनीको प्रचार प्रसारमा सहकार्य गर्ने आश्वासन दिलाएका थिए । यी वाहेक म्यानमारका प्रसिद्ध तथा सर्वोच्च बौद्ध धर्म गुरु फा–उक सयाडो भदन्त अचिन्नाले बुद्धजन्मस्थल लुम्बिनी सहित प्राचिन कपिलबस्तुको भ्रमण गरे ।

लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्नमा गत चैतमा विभिन्न १८ देशका गैरआवासिय राजदुत र महावाणिज्यदुतहरुको लुम्बिनी कन्क्लेभ गरिएको थियो । यसले बुद्धजन्मस्थलको प्रचार प्रसारमा योगदान गर्ने प्रतिबद्धता जनाएको थियो  यसैगरी १२५० जनाको श्रामणेश (अल्पकालिन भिक्षु) प्रवज्या र त्रिपिटक पाठ जस्ता धार्मिक गतिविधिले पनि लुम्बिनीलाई चलायमान बनाएको हो । लुम्बिनीमा चिन, भारत, कोरिया र थाईल्याण्डको नियमित धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरुले समेत लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गराउन सहयोग गरेका छन् । यसैगरी प्रधानमन्त्री केपि शर्मा ओली, संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डे लुम्बिनी आएर यसको विकासका बारेमा चासो चिन्ता व्यक्त गर्ने गरेका छन ।

यसैगरी प्रदेशका मुख्यमन्त्री, पर्यटनमन्त्री, विभिन्न संसदीय समितिहरुले समेत लुम्बिनीबारे चासो चिन्ता व्यक्त गर्दै भ्रमण गर्ने गरेका छन् । लुम्बिनीको गुरुयोजना कार्यान्वयन तथा पुरातात्विक अन्वेषण र संरक्षणमा सरकारको चासो बढाउन कोषले सुझाव दिने गरेको छ ।


आध्यात्मिक गतिविधि बढेसँगै लुम्बिनीका होटल व्यवसायीहरु उत्साहीत बनेका छन् । कोभिड महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रलाई आध्यात्मिक गतिविधिले नै चलायमान बनाउने लुम्बिनी होटल संघ नेपालका बरिष्ठ उपाध्यक्ष लिलामणि शर्माले बताए । उनले लुम्बिनी आउने पर्यटकरुलाई आतिथ्यता दिन आफूहरु तयार रहेको बताउँदै आध्यात्मिक गतिविधि र पछिल्लो पर्यटकीय गन्तव्यको सूचीले निकै उर्जा दिएको बताए ।‘विश्वको टपटेन गन्तव्य सूचीमा लुम्बिनी पर्नु सौभाग्य र चुनौती दुवै हो’ उनले भने –‘अब लुम्बिनी आउने पर्यटकलाई स्वागत गर्ने र यहाँ टिकाउने वातावरणका लागि हामी एकजुट भएर लाग्नुपर्छ ।’ 

पर्यटन परिषद लुम्बिनीका सदस्य समेत रहेका शर्माले नोभेम्बर र डिसेम्बरमा भएका दुई ठूला आध्यात्मिक गतिविधिले लुम्बिनीको अन्र्तराष्ट्रिय स्तरमा प्रचार गरेको बताउँदै लुम्बिनी विकास कोष र पर्यटन व्यवसायीहरुविच सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । बृहत्तर लुम्बिनीमा ध्यान, पुजा, मोन्लाम, कठिन दान, पुर्णिामा पुजा, दिप प्रज्वलन, गाउँ भ्रमण, स्थानिय बजारमा सपिङ जस्ता पर्यटकमैत्री टुरप्याकेज बनाइ लुम्बिनी आउने पर्यटकलाई आर्कषित गर्नुपर्ने पर्यटन व्यवसायी पुरुषोत्तम अर्यालको सुझाव छ ।


कोभिडपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकहरुको संख्यामा समेत बृद्धि भएको छ । सन् २०२४ मा भारतसहित ११२ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए ।
उनका अनुसार लुम्बिनीमा आन्तरीक र बाह्य पर्यटक गरी ११ लाख ७२ हजार ३०४ जना पर्यटक आएका छन् । सन् २०२३ मा ९ लाख ९८ हजार ९३८ पर्यटक भित्रिएकोमा यो वर्ष १७.३६ प्रतिशत बृद्धि भएको हो । 

सन् २०२४ मा ७ लाख ५८ हजार ९९० जना आन्तरीक पर्यटकले लुम्बिनी भ्रमण गर्दा १ लाख ११ हजार ४ सय २५ जना तेस्रो मुलुकका (पासपोर्टधारी)  पर्यटक लुम्बिनी भित्रिएको राईले बताए । जबकी भारतबाट भने यो वर्ष बृद्धि भई  ३ लाख ८ सय ८९ पर्यटकले भ्रमण गरेका छन् ।

 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update