बुटवल - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्रै अन्तर्राष्ट्रिय उडानको बाटो थियो । तर, २ वर्षयता भने अन्तर्राष्ट्रिय उडानमा भैरहवाले नयाँ इतिहास कायम गर्यो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले काठमाडौंको वैकल्पिक विमानस्थलका रुपमा आफूलाई दर्ज गरेको छ ।
अझै पनि भैरहवाबाट नियमित उडानमा आशंका गरिरहेकै बेला यो विमानस्थलले भने विस्तारै गती लिएको छ । पश्चिम नेपालका नागरिकहरुलाई विमानस्थले जोडेको छ ।
बुद्धजन्मस्थल लुम्बिनीलाई पनि यसले अन्तर्राष्ट्रिय स्तरमा सहजै जोड्न सफल भएको छ । विमानस्थलबाट नियमित उडान भइरहेका छन् । नियमित उडानसँगै त्रिभुवन विमानस्थलको विकल्पका रुपमा समेत यसले आफूलाई उभ्याउन सफल भएको छ । यस्तै भयो फागुन ११ गते पनि ।
चिनबाट आएको जहाज काठमाडौंमा अवरतण हुन नसकेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवरतण भएको छ । चिनको छेन्दुबाट नियमित रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा उडान हुँदै आएको एयर चाईना ४३७ जहाज फागुन ११ गते अपरान्ह ४ः१६ बजे अवतरण भएको हो । त्रिभुवन विमानस्थलमा मौसम खराब भएपछि जहान डाईभर्ट भई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमानस्थलका सूचना अधिकारी विनोद राउतले जानकारी दिए । विमानस्थल बेलुका ७ ः २२ मा काठमाडौं त्रिभुवन विमानस्थल उडेको उनले बताए ।
उनका अनुसार यसअघि पनि केही जहाजहरु काठमाडौंबाट डाईभट भएर यहाँ अवतरण हुँदै आएको छ । ‘त्रिभुवन विमानस्थलमा मौसम खराब भयो वा केही प्राविधिक समस्या आउँदा गौतमबुद्ध विमानस्थलमा विमान अवतरण गर्न सकिन्छ भन्ने उदाहरण हो’ प्रवक्ता राउतले भने ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार नभएको भए भारत वा अन्य छिमेकी मुलुकका विमानस्थलमा अवतरण गर्नुपर्ने बाध्यता रहन्थ्यो । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बनेपछि यहाँबाट नियमित उडानसँगै वैकल्पिक विमानस्थल बनेको हो ।
अहिले भैरहवाबाट नियमित रुपमा चार वटा विमानले उडान भरिरहेका छन् । फ्लाई दुबई, जजिरा र थाईएयर एसिया र नेपाल एयरलायन्सले उडान भरिहेका छन् । फ्लाई दुबईले दैनिक उडान भरिरहेको छ भने जजिरिाले हप्ताको ३ दिन र थाईएयर एसियाले सोमबार र विहिबार उडान भर्दै आएको छ । विमानस्थलका अनुसार फेब्रुअरी महिनामा मात्रै कुल ११५ उडान र अवतरण भएका छन् । मौसम र प्राविधिक रुपमा विमानस्थल अनुकुल भएकाले अहिले उडानमा कुनै पनि अवरोध छैन ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रअरीमा ११५ उडानबाट ६ हजार ७ सय ७९ यात्रुले आवातजावत गरेका छन । फ्लाई दुबईमा २ हजार ४०३, जजिरामा ३ हजार २६५, थाई एयर एसियामा एक हजार ९७ जनाले यात्रा गरेका छन । नेपाली ध्वजावाहक विमान नेपाल एयरलाइन्समा भने १ जनाले मात्रै यात्रा गरेको विमानस्थलले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
यसैगरी फेबुअरीमा मात्रै १३ वटा चार्टर उडान भएको छ । यी उडानमा २११ विदेशी यात्रु रहेका थिए । त्रिभुवन विमानस्थल सँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा ४ हजार ४० जना यात्रुले ट्रान्जिट गरेका छन् ।
अत्यावश्यक कार्यालय आउन ढिलाई
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि अहिले प्राविधिक पक्ष सबल देखिएके छ । काठमाडौंको त्रिभुवन विमानस्थल मर्मतका बेला यहि विमानस्थले त्यहाँको भार थेगेको थियो ।
यति मात्रै होईन काठमाडौं ल्याण्ड गर्न नसकेका जहाजहरु डाईभर्ट भएर यहाँ अवतरणको भरपर्दो विमानस्थल बन्न थालेको छ । लो भिजिभिलिटीमा पनि अवतरण गर्न मिल्ने गरी माघको दोस्रो साता (आरएनपी–एआर ( रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायार्ड ) प्रणाली जडान गरिएको छ । जसले गर्दा भिजिभिलिटीका कारण उडान प्रभावित हुने समस्याको पनि हल भएको छ ।
१८ सय भन्दा मिटर भन्दा कम भिजिविलिटी हुँदा विमानस्थलमा अवतरणमा समस्या नहोस् भन्नका लागि आरएनपी–एआर प्रणाली शुरु गरिएको हो । यो भूउपग्रहमा आधारित प्रणाली हो । कम प्रकाशमा उडान र अवतरणका लागी बिमानस्थलमा आईएलएस (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम) जडान भएपनि छिमेकी देश भारतले सहमती नदिदा यो प्रविधी सञ्चालनमा हुन सकेको छैन । भारतीय आकाशको प्रयोग गर्नुपर्ने तर भारत सरकारले सहमती नदिएपछि गौतमबुद्धमा आईएलएसको विकल्पमा भू–उपग्रहमा आधारित आरएनपी–एआर प्रणाली शुरु गरिएको हो ।
यो प्रविधि विमान कम्पनीहरुले जडान गरी लागू गर्नुपर्ने छ । प्राविधिक रुपमा सबल हुँदा हुँदै पनि केही अत्याअवश्यक कार्यालयहरु भने आउन नसक्दा विमानस्थलको दिगो सञ्चालनमा चुनौती देखा परको छ । श्रम स्विकृती लिन काठमाडौं जानुपर्ने, पहिलो पटक स्वास्थ्य परीक्षण गर्न पनि काठमाडौं धाउनुपर्ने, म्यानपावर कम्पनीहरुको कार्यालय, भिस्सा सेन्टरहरु स्थापना हुन सकेको छैन ।
संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री पाण्डेले यो समस्या हल गर्ने प्रतिबद्धता जनाएपनि त्यो कार्यान्वयन हुन सकेको छैन । सिद्धार्थ नगर उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले विमानस्थलका अत्यावश्यक कार्यालय ल्याउन सरकारले गरेको ढिलाईले शंका उब्जाएको बताए । आफूहरुले मन्त्रीलाई नै राखेर दवावमूलक कार्यक्रम गरेको समेत स्मरण गर्दै छिटो सञ्चालन गर्नुपर्ने उनको माग छ ।
विस २०७१ साल माघ १ गते (जनवरी, १५ २०१५) मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरिएको थियो भने २०७९ साल जेठ २ गते विमानस्थलको उद्घाटन गरिएको थियो । विमानस्थल करिब ८ सय बिघा क्षेत्रफलमा फैलिएको छ ।
३ किलोमिटरको रनवे रहेको विमानस्थलमा फोर ई क्याटोगोरीको विमानस्थलमा नवौं क्याटोगोरीका दमकलहरू छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरह उडान र अवतरण हुन सक्ने यहाँ ४ वटा न्यारोबडी र १ वटा वाईडबडी गरी ५ वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्ने व्यवस्था छ ।