
छापा तथा डिजिटल मिडियाहरु अहिले साउने झरीमा उम्रेका बर्खे च्याउ जस्तै यत्रतत्र खुलेका छन् । वास्तवमा भन्नुपर्दा कुनै पनि व्यक्ति वा समुदायलाई केही खबर जानकारी गराउनका लागि पहिला गाउँघरमा कटवालका रुपमा हाक हाल्ने चलन थियो । गाउँभरीका जनतालाई ठुलो श्वरले चिच्याएर सूचना र सन्देश प्रभाव हुने गर्दथ्यो ।
त्यतिबेला खबर आदानप्रदान गर्ने माध्यमका रुपमा कट्वाल प्रथा प्रचलित थियो । समयक्रममा सञ्चारमाध्यमका रुपमा पत्रपत्रिका प्रकाशि हुन थाले । विद्युतीय माध्यमका रुपमा रेडियो, टेलिभिजन र त्यसपछि अनलाइनको विकास हुँदै गयो । यसरी सञ्चारको विकासमा एकपछि अर्को फड्को मार्दै गएको पाइन्छ ।
प्रविधिको विकाससंगै मिडिया हाउसहरुको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । हिजो न्यून मात्रामा मिडियाहरु थिए । पाठकहरु समाचारमा केछ ? भन्दै बिहानको पत्रिकाको प्रतीक्षामा हुन्थे या रेडियोमा कतिबेला समाचार आउँछ ? भनेर कान ठाडा बनाउँदै सुन्नलाई तल्लीन हुन्थे । तर आज समय बिल्कुलै परिवर्तन भएको छ ।
आज विश्वभर प्रत्येक व्यक्तिको हातमा मोबाइल छ जसका कारण छिनभरमै समाचार तथा विभिन्न गतिविधिहरु थाहा पाउन सकिन्छ । यसो भनिरहँदा के विद्युतीय सञ्चारमाध्यमकै कारण पत्रपत्रिकाहरु ओझेलमा परेकै हुन् त ? या अस्तित्व नै संकटमा परेको हो त ? जस्ता प्रश्नहरु पनि उठ्ने गर्दछन् । तर छापा माध्यमको भूमिका र अस्तित्व मानवसमाज रहँदासम्म कहिल्यै कमजोर हुँदैन र यसको महत्व सदा सर्वदा रहिरहन्छ भन्ने मलाई लाग्दछ ।
विश्व २१ औं शताब्दीमा चलिरहदा पनि ५० प्रतिशत नागरिकहरु पत्रपत्रिकाहरुकै खबर पढ्छन् र रुचाउँछन् पनि । पत्रपत्रिकामा छापिएका कुरा नै आधिकारिक हुन्छन् भन्ने मान्यता छ । यो वास्तविक हो । यसलाई आमजनमानसले बुझ्नु आवश्यक छ ।
आज सञ्चारको विकास जति भयो त्यति मिडिया हाउसको विकास तथा सबलीकरण हुन सकेको छैन । संस्थागत तथा व्यवसायिक रुपमा निरन्तर रुपमा चलेका मिडियाहरु अत्यन्तै चुनौतीपूर्ण अवस्थामा सञ्चालित छन् तर आर्थिक रुपमा संकटको सामना गर्दै सूचना,समाचार र विचार सम्प्रेषणका लागि योगदान दिईरहेका छन् । राष्ट्रको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रबाट निरन्तर योगदान पुर्याईरहेका सञ्चारमाध्यमको सबलीकरणका लागि सरकारी तहबाट जुन प्रकारको सहयोग हुनुपर्ने हो,यसमा ध्यान कम पुगेको महसुस हुन्छ ।
सूचना प्रविधिको विकाससंगै आएका र कानुनी मान्यता प्राप्त नगरेका न्यू मिडिया युट्युव, टिकटक, फेसबुक आदिका माध्यमबाट प्रत्येक व्यक्तिको हातहातका मोबाइलबाट मनखुसी सम्प्रेषित हुने गलत सूचनाहरुबाट पत्रकारिता जगत माथि चुनौती थपिदिएको छ ।
अहिले नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने मिडिया भन्दा धेरै पत्रकार भए, त्यसमा पनि धेरैको गोजी पत्रकारिता हुन थालेकोले यसप्रतिको दृष्टिकोण नकारात्मक बन्दै गएको अवस्था छ ।
अझै भनौ कतिपय दर्ताबिहीन मिडियाहरुमा भ्रामक र अफवाह फैलिएको समाचार प्रकाशित भई सत्य र तथ्य समाचारको वास्तविकता ओझेलमा पर्दा भ्रम सिर्जना भई जनविस्वास घट्दै गएको अवस्था पनि छ । आज विधिसम्मतरुपमा संस्थागत तथा व्यवसायिक किसिमले चलेका सञ्चारमाध्यम अप्ठ्यारोमा पर्नुको कारण मान्यताप्राप्त नगरेका न्यू मिडियाका रुपमा आएका युटुब च्यानलले भिउज बढाउन गरिएको प्रचारले समस्या सिर्जना गरेको छ ।
त्यसो त मिडिया हाउस खोल्न भन्दा पनि खोलिसकेपछि त्यसलाई निरन्तरता दिनु ठुलो कुरा हो । यो चलाउन अत्यन्तै चुनौतीपूर्ण छ । हिजोका दिनमा कुनै पनि विज्ञापनदाता आफ्नो विज्ञापन प्रचारप्रसारका लागि सिधै मिडिया हाउसमा जाने गर्दथे । तर अहिले त्यसको ठिक विपरित मिडिया हाउसले विज्ञापनदाता खोज्नुपर्ने बेला आएको छ ।
हिजो पेपरको बिक्रीबाट मिडिया सञ्चालन हुन्थ्यो भने अहिले मिडिया सञ्चालनको आम्दानीको मुख्य स्रोत सरकारी तथा व्यवसायिक विज्ञापन हो । अझै भनौ त्यसमा पनि बजारमा मन्दी आएका कारण व्यवसायिक विज्ञापन त विगतको तुलनामा कम हुँदै गएको अवस्था छ । त्यसमा पनि बिचौलिया हावी हुँदा मुल सञ्चारमाध्यममा न्यून रकम पुग्दा यो पनि गम्भीर समस्या बनेको छ ।
मिडियाको सबलीकरणमा पत्रकारको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ । मिडिया हाउसबाट प्रकाशित हुने पत्रिका, रेडियो, टेलिभिजन, अनलाइनलगायतका सञ्चारमाध्यमहरुको आवश्यक समाचारका लागि कस्तो कन्टेन्ट बनाउने ? आम पाठक तथा विज्ञापनदाताहरुलाई कस्तो प्रकारको सूचना, समाचार र विचार पस्कने ? भन्ने हेक्का पत्रकार अथवा सम्पादकहरुले राख्नुपर्ने हुन्छ । त्यसैको आधारमा नै पाठकहरु आकर्षण हुने हो । पत्रकारले आफू मन लाग्दो समाचार लेखेर मात्रै पुग्दैन । कस्ता समाचार लेख्दा मिडियाको सबलीकरण र स्तरोन्नति हुन्छ ? भन्ने विषयमा पनि कलम चलाउनु आवश्यक छ ।
पत्रकारको काम समाचारको खेती गर्नु स्वभाविक हो । तर मिडिया टिकाउनका लागि पत्रकारिताको आचारसंहितालाई मध्यनजर राखी मिडिया सबलीकरणमा व्यवस्थापन पक्षलाई समेत कसरी सहयोग गर्ने ? भन्ने तर्फ दृष्टि पुग्नु आवश्यक छ । किनकि मिडिया बलियो हुँदा मात्र पत्रकार बलियो हुने हो, सेवा सुविधा र पेशाको सुरक्षा हुनेहो ।
मिडियाको सबलीकरण बिना पत्रकार नत जन्मन्छन्, नत उनीहरुको पेशागत सुरक्षा र प्रगतिनै हुन सक्छ ? यो कुरालाई पत्रकारहरुले पनि बुझ्नु आवश्यक छ । त्यसैले मिडिया सञ्चालनका लागि पत्रकार र व्यवस्थापक बीच समन्वयात्मक भूमिका हुनु अति आवश्यक छ । त्यसैले यसको विकास, उत्थान र सबलीकरणमा पत्रकारको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ ।
अहिले नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने मिडिया भन्दा धेरै पत्रकार भए, त्यसमा पनि धेरैको गोजी पत्रकारिता हुन थालेकोले यसप्रतिको दृष्टिकोण नकारात्मक बन्दै गएको अवस्था छ । यसमा पत्रकारहरु स्वयम्ले आफ्नो पेशागत जिम्मेवारी र कर्तव्य के हो ? बुझेर काम गर्नु आवश्यक भएको छ ।
त्यसो त कतिपय पत्रकारहरु पत्रकारिताको आचारसंहितामा रहेर सत्य र तत्यपरक समाचारबाट कत्तिपनि बिचलित नभई आफ्नो छवि अगाडि बढाएका छन् । तर खराब व्यक्तिहरुका कारण असललाई पनि एउटै डालोमा राखेर गरिने विश्लेषणले गर्दा पनि निष्ठावान् पत्रकारहरुले पनि आरोप खेप्नु परेको अवस्था छ ।
मिडिया सबलीकरणमा पत्रकारको ध्यान केन्द्रित हुनैपर्छ । किनभने व्यवस्थापनले मात्रै संस्थाको विकास र संरक्षक गर्न सकिदैन । पत्रकारको पनि जवाफदेहीता र जिम्मेवारी रहेको हुन्छ ।
आज देशभित्र मिडिया सबलीकरणका प्रश्न उठिरहेको सन्दर्भमा व्यवस्थापक पक्ष र पत्रकारहरु बीच सुमधुर सम्बन्ध स्थापित गर्दै अगाडि बढ्नु आवश्यक छ ।
(लेखक राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीका सचिव र नेपाल पत्रकार महासंघ रुपन्देही कार्यसमिति सदस्य हुनुहुन्छ । )