Lumbini Rise
हामीसँगै: मौन सम्बन्धमा चिच्याएका आवाजहरू

चन्द्रकान्त डुम्रे 

हामी प्रायः सामाजिक यथार्थका कुराहरु राजनैतिक विमर्श, आर्थिक समीकरण वा कानुनी संरचनामा सीमित गर्दै आइरहेका छौँ। तर सामाजिक परिवर्तनको जरो कहिलेकाहीँ घरको भित्तामै रोइरहेकी एक महिला वा मौन भएर चिया पिउँदै गरेका एक पुरुषको आत्मसंघर्षमा लुकेको हुन्छ। रमेश अर्यालको   हामीसँगै श्रृंखला, यिनै मौन र अव्यक्त पीडाहरूको बोली हो।

कसैले बोलेको छैन, कसैले सुनेको छैन—तर पीडा मौनतामा चिच्याइरहेको छ। यस्तो मौनताले भरिएको सम्बन्धलाई कसरी चिन्दै गइन्छ? कसरी सुन्न सकिन्छ मौनता?  रमेश अर्यालले यिनै असहज प्रश्नहरूको खोजी गर्ने प्रयास गरेका छन्—शब्दका माध्यमबाट होइन, अनुभूतिको सामीप्यबाट।

हामीसँगै श्रृंखला केवल लेखहरूको सङ्ग्रह होइन, एक सामूहिक आत्मदर्शनको प्रतिबिम्ब हो—जहाँ सम्बन्धहरू गाढा, असहज र कहिले काँही पीडादायी छन्, तर अझै सम्भावनाले भरिएका छन्।

लेखहरु जीवनलाई नियाल्ने आन्तरिक यात्रा जस्तै लाग्छ्न —जहाँ हर लेख आफैंमा एक अन्तर्दृष्टिको झिल्को रुपमा बुझ्न सकिन्छ। कुनै दाम्पत्य जीवनको विन्दुबाट सुरु हुने यी लेखहरू, आत्मबोध, सीमानिर्धारण, मानसिक स्वास्थ्य र सम्बोधनको आवश्यकतासम्म पुग्छन्।

 विषयको आत्मीयता र विस्तार

शृंखलाको आरम्भिक लेखहरूमा “मौन पति”, “असहयोगी व्यवहार”, वा “नदेखिने पीडा” जस्ता बिषयहरू उठाइएका छन्।

पहिलो लेखको यो अंश स्मरणीय छ:

“ऊ केही भन्दैन, सुनिँदैन, न हाँस्छ, न रिसाउँछ… मौन भएर बस्छ।”

यो मौनता केवल व्यवहार होइन- यो सम्बन्धमा रहेको असहमति र असन्तोषको संकेत हो। रमेश अर्यालले यस मौनतालाई केवल भावनात्मक गुनासोका रूपमा हैन, एक किसिमको अदृश्य हिंसाका रूपमा विश्लेषण गरेका छन्।

चिन्तनशील लेखनको शैली

अर्यालको लेखनमा विशेष आकर्षण छ—सादा शब्द, तर गहिरो भावना। उनी उपदेश दिँदैनन्, न सल्लाह थोपर्छन्। बरु प्रश्न उठाउँछन्। आत्म–चिन्तनमा निम्तो दिन्छन्।

“सम्बन्धमा सिमाना निर्धारण गर्नु स्वार्थ होइन, आत्मसम्मानको सुरक्षा हो।”

“ऊ आफैसँग असहज छ, त्यसैले ऊ अरूसँग नजिक हुन सक्दैन।”

यी वाक्यहरू सामान्य देखिए पनि, पाठकको आत्मसमीक्षा सुरु गराउने सामर्थ्य राख्छन्।

  गहिराइ र सामाजिक सन्दर्भ

शृंखलाका कतिपय लेखहरू 'बाह्य दबाब र मानसिक स्वास्थ्य', 'सेल्फ–केयर', 'इमोशनल म्यानुपुलेशन', 'संवाद विहीनता', जस्ता गम्भीर विषयमा केन्द्रित छन्। नेपाली समाजमा सम्बन्धलाई केवल सामाजिक–सांस्कृतिक जिम्मेवारीको आँखाले हेर्ने चलन छ—तर अर्याल भने ती सम्बन्धको आन्तरिक सत्यता देखाउँछन्।

एक लेखमा उनी भन्छन्:

“सासूको कुरा, समाजको डर, बुवाको इज्जत… यी सबै जोडिन्छन् सम्बन्धको मेरुदण्डमा। अनि प्रेम कतै बिचमै हराउँछ।”

यसमा केवल महिलाको होइन, पुरुष पात्रको पनि भित्रि द्वन्द्व छ—जो पारिवारिक अपेक्षाहरूको भारमा थिचिएका छन्।

अस्तित्वको संवाद

रमेश अर्यालका शब्दहरू केवल मन छुने मात्र होइनन्, मन छाम्ने पनि हुन्।  हामीसँगै श्रृंखला केवल लेखहरूको सङ्ग्रह होइन, एक सामूहिक आत्मदर्शनको प्रतिबिम्ब हो—शृंखलाले भावनात्मक दर्शन प्रस्तुत गर्छ।    जीवनको आशय, सम्बन्धको औचित्य, मौनता र संवादको द्वन्द्व—यी सबै प्रश्नहरू उनका लेखमा अटाएका छन्।

यो एक प्रकारको समकालीन अस्तित्ववादी लेखन हो, जुन नेपाली सामाजिक संरचना भित्र बसेर पनि गहिरो अन्तरमनसम्म पुग्न खोज्छ।

भाषा, संरचना र शैली

अर्यालले लेखमा कुनै ठूला भाषाशैली प्रदर्शन गर्दैनन्; बरु सुनिने, अनुभूत हुने भाषा प्रयोग गरेका छन । 

भाषा सरल छ, तर सजिलो होइन। कहिले काँही गद्यभित्र कविता लुकेको हुन्छ।

जस्तो कि एउटा पंक्ति:
"जीवनका थुप्रै असहमति–हामी एक्लै पार नगर्ने सहमतिमा सहमत हुन्छौँ।"

— यहाँ शब्दहरू केवल वर्ण होइनन्, तिनीहरू सहमतिको चुम्बकीय ऊर्जा हुन्।

सुधारका सम्भावना: 

समिक्षकको हैसियतमा, सुधारका आयामहरू पनि स्पष्ट गर्नु आवश्यक छ:

१. सामाजिक सन्दर्भको गहिराइ:

लेखहरू प्रायः शहरी, शिक्षित पाठकवर्गलाई लक्षित जस्तो लाग्छ। ग्रामीण वा सांस्कृतिक रुपमा फरक सन्दर्भ समेटिएको भए—जस्तै अन्तरजातीय विवाह, गरिबीले तोडिएका सम्बन्ध, घरेलु हिंसा जस्ता जटिल पाटाहरूले लेखलाई अझ गहिरो बनाउँथ्यो।

२. पात्रको निरन्तरता:

प्रत्येक लेखमा पृथक पात्रको कथा देखिन्छ। ती पात्रहरूमाझ थोरै निरन्तरता देखिएको भए—उदाहरणका लागि एकै जोडीको सम्बन्धमा आउने उतारचढावको यात्रा—त्यो सन्देश अझ जीवन्त हुन सक्थ्यो।

३.व्यावसायिक सुझावमा थोरै गहिराइ:

कहिले काँही सुझावहरू धेरै नै सामान्य छन्—‘संवाद गर्नुहोस्’, ‘आत्महेरचाह गर्नुहोस्’—जुन व्यवहारमा ल्याउन गाह्रो हुन्छ। यदि केही लेखमा अभ्यासमूलक (जस्तो ‘तीन दिनको शान्त अभ्यास’, ‘दुई व्यक्ति मध्येको निष्क्रियता परीक्षण’) प्रयोग गरिएको भए, पाठक अझ सशक्त हुन सक्थे।

४. पाठक सहभागिता:

लेखहरू अझ प्रभावकारी बन्न, जर्नलिङ सवालहरू, आत्मपरीक्षणका बुँदा, वा सानो चेकलिस्ट भए—पाठक केवल पाठक नभई सह–लेखक बन्न सक्थे।

५. भाषिक सन्तुलन:

कहिलेकाँही केही वाक्य दोहोरिएका छन ती ठाउँमा सम्पादनले लेख अझ धारिलो बन्ने सम्भावना छ।

मौनताको आवाज खोज्ने लेखन

“हामीसँगै” भन्ने शीर्षक आफैंमा धेरै बोल्छ—हामी मात्र होइन, हामी सँगसँगै हिँड्नु छ। रमेश अर्यालले यो शृंखलामा जुन भावात्मक यात्रा प्रस्तुत गरेका छन्, त्यो कुनै प्रचारात्मक विचार होइन—जीवन भोगाइको सामूहिक स्पन्दन हो।

“कहिले काँही टाढा हुनु पनि आत्मीयताको आरम्भ हुनसक्छ।”

“सम्बन्धलाई बाँध्ने डोरी संवाद हो, तर त्यसमा सास दिने आत्मबोध हो।”

यी उनका विचार मात्र होइनन्—हाम्रा सम्बन्धहरूका अपूरा संवादहरू हुन्। अर्याल एक लेखक मात्र होइनन्, मौन सम्बन्धका भित्री भूगोल नाप्ने साथी–लेखक हुन्।

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update