Lumbini Rise
नेपाली राजनीतिको नैतिक पतनले निम्त्याएको सामाजिक प्रभाव र समाधानका उपाय

नेपालको राजनीति विगत लामो समयदेखि गम्भीर नैतिक संकटको चंगुलमा फस्दै आएको छ। संविधान, कानुन र लोकतान्त्रिक मूल्य,मान्यता र आदर्शहरुको संरक्षण गर्ने दायित्व बोकेका राजनीतिक नेतृत्वबाटै बारम्बार अनुशासनहीनता, अवसरवाद, भ्रष्टाचार र गैरजिम्मेवार व्यवहार देखिनु चिन्ताको विषय बनेको छ।

यसले केवल राजनीतिक प्रणालीलाई मात्र कमजोर बनाएको छैन, युवापुस्ता र समग्र समाजमा पनि नकारात्मक प्रभाव गहिरिँदै गएको छ।

राजनीति मूलतः सार्वजनिक सेवा र राष्ट्रनिर्माणको माध्यम हो तर पछिल्ला वर्षहरूमा सत्ता स्वार्थ,  पदलोलुपता,दादागिरी,नाताबाद,कृपाबाद,भ्रष्टाचार,गुटबन्दी र व्यक्तिगत फाइदाका लागि मूल्य र सिद्धान्त तिलाञ्जली दिएको दृश्य बारम्बार देखिदै आएको छ।

संसददेखि सडकसम्म अपमानजनक भाषा, हिंसात्मक अभिव्यक्ति, कानुनको अवहेलना र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले राजनीतिक संस्कार कमजोर बनेको छ। यस्तो अवस्थाले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको छ।


यसको प्रत्यक्ष असर युवापुस्तामा परेको छ। देशको भविष्य बोकेको युवाले जब नेताहरूलाई झुटा आश्वासन, दोहोरो चरित्र र दण्डहीनतामा रमाइरहेको देख्छन्, तब उनीहरूको आदर्श र विश्वास खस्किन्छ। मेहनत, इमानदारी र योग्यताको सट्टा पहुँच, चाकडी र शक्ति नै सफलताको आधार हो भन्ने गलत सन्देश फैलिन्छ।

फलस्वरूप, युवामा राजनीति प्रति निराशा, विदेश पलायनको चाहना, वा हिंसात्मक र अतिवादी सोच विकसित हुने खतरा बढ्छ।समाजमा पनि यसको प्रभाव गम्भीर छ। जब नेतृत्व नै नियम तोड्छ, तब आम नागरिकले पनि नियम पालना गर्नुपर्छ भन्ने भावना कमजोर हुन्छ। कानुनप्रति सम्मान घट्छ, सामाजिक सद्भाव खल्बलिन्छ र संस्थागत विश्वास ध्वस्त हुन्छ। भ्रष्टाचारलाई सामान्य ठान्ने, गलतलाई सही ठहर गर्ने र शक्तिशालीलाई उन्मुक्ति दिने संस्कृतिले सामाजिक न्याय र समानतामाथि गहिरो चोट पुर्‍याउँछ।

यस अवस्थाबाट बाहिर निस्कन राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नैपर्छ। नैतिकता, अनुशासन र उत्तरदायित्वलाई व्यवहारमै उतार्न जरुरी छ। राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता र आचारसंहिताको कडाइका साथ पालना गरिनुपर्छ। साथै, नागरिक समाज, सञ्चारमाध्यम र शिक्षालयहरूले सचेतना बढाउँदै युवालाई मूल्यनिष्ठ नेतृत्वको महत्व बुझाउन भूमिका खेल्नुपर्छ।

नेपाली राजनीतिमा नैतिक पुनर्जागरण बिना समृद्ध लोकतन्त्र सम्भव छैन। आजको आवश्यकता सत्ता होइन, संस्कार हो; भाषण होइन, आचरण हो। यदि नेतृत्वले बाटो देखाउन सकेन भने समाज अन्धकारतर्फ धकेलिनेछ। त्यसैले, समयमै सुधार र प्रतिबद्धता आवश्यक छ। युवाको भविष्य र राष्ट्रको स्थायित्वका लागि संस्कारयुक्त राजनीति आजको आवश्यकता मात्र होइन राजनीति गर्ने नेता र दलहरुको दिगो अस्तित्व र लोकप्रियताको मूल आधार पनि हो । आज नेपाली जनताहरुमा अझ

विशेष युवाहरुमा आएको अभुतपूर्व

राजनीतिक चेतना र तमाम व्यथिती बिरुद्दको विद्रोहलाई अवमूल्यन गर्नु र अनेक क्षणिक लोभ लालच देखाइ जनमत पाउँछु भनि छारो हाल्नु राजनीतिक दलहरुको लागि फगत दिवास्वप्न हुनेकुरा निर्विवाद छ ।

आम निर्वाचनको पूर्व सन्ध्यामा राजनीतिक दलहरुले एक अर्कोमा हिलो छ्याप्ने,मानमर्दन गर्ने,सत्तोसराप गर्ने , बेईमानी र हिंसात्मक रुप प्रदर्शन गर्ने गरेर होइन सभ्य र शालीन ढंगले सत्य र इमान्दारिताको पक्षमा अडिग भई आ आफ्ना चुनावी प्रचाप्रसारलाई अनुशासित ढंगले घरदैलोमा पुर्याउनु आवश्यक छ अन्यथा आसन्न निर्वाचनमा ठग,फटाहा,अहंकारी र जंगली प्रवृत्तिका नेता र दललाई राजनीतिक चेत खुलेका २१ औ शताब्दीमा अहिलेका नेपाली जनताले लोप्पा ख्वाउने निश्चित छ ।

- लेखक बस्याल प्राध्यापक हुनुहुन्छ । 

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update