Lumbini Rise
गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडानका लागि पहल गरेका छाैं : मुख्यमन्त्री आचार्य

 

भैरहवा- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि प्रदेश सरकारले निरन्तर पहल गरिरहेको बताएका छन । लुम्बिनी खबर सञ्चारगृह प्रालिले आइतबार भैरहवामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्ताे बताएका हुन । 

अन्तर्राष्ट्रिय विमानस्थल र हवाई उडानका कारण प्रदेशको आर्थिक तथा पर्यटन व्यवसाय नयाँ उचाइमा पुगेको उल्लेख गर्दै नियमित हवाई उडानका लागि सरकार निरन्तर सक्रिय रहेको उनको भनाइ छ । 

 `मेरो नेतृत्वमा सरकार बनेलगत्तै संघीय सरकारको ध्यानाकर्षण गराउन काठमाडौं पुग्यौं । त्यसपछि हवाई उडान सुरु भयो´ उहाँले भन्नुभयो-`अहिले फेरि उडान प्रभावित हुने अवस्थामा पुगेको देखिएको छ । यसमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।´ निजी क्षेत्रबाट थालिएको संघर्षका कार्यक्रमप्रति पनि प्रदेश सरकारको चासो रहेको मुख्यमन्त्री आचार्यले भने । 

उनले आफू पछिल्लो समय संघीय राजधानी पुगेका बेला विमानस्थल सञ्चालन र हवाई उडान नियमित गराउने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीलगायत उच्च अधिकारीहरूसँग भेटघाट भएको जानकारी दिए ।  `व्यवसायी साथीहरूको पक्षमा प्रदेश सरकार दृढतापूर्वक उभिन्छ । तपाईंहरूको साथमा प्रदेश सरकार छ । यो विमानस्थल नियमित सञ्चालन गर्न प्रदेश सरकार अविचलित भएर अघि बढ्छ´ मुख्यमन्त्री आचार्यले भने ।

यस्तै, मुख्यमन्त्री आचार्यले मिडिया क्षेत्र जिम्मेवार भएर समाज सुधारको क्षेत्रमा अघि बढ्नुपर्नेमा जोड दिए ।  सञ्चार क्षेत्रको जिम्मेवारी संवेदनशील र महत्वपूर्ण भएकाले जिम्मेवारपूर्ण रूपमा भूमिका बढाउन आवश्यक रहेको उनको भनाइ थियो । 

सञ्चार माध्यमहरूले वास्तविक विषय जनसमक्ष पुर्‍याउने महत्वपूर्ण भूमिका खेलेकोप्रति आभार प्रकट गर्दै उनले पछिल्लो समय सञ्चारको नाममा विकृति भित्रिन थालेको, भ्रमपूर्ण समाचारको खेती मौलाउन थालेको र अराजकतालाई बल पुग्ने गरी सूचनाको चलखेल भइरहेकोप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update